
काठमाडौं — नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि)को सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दाङबाट बुटवल फर्कँदै गर्दा पूर्वबाट पश्चिम आउँदै गरेको ना७ख ९०६नम्बरको बसले बन्जाडे सवार लु२६प५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
घाइते उनको बुटवलस्थित लुम्बिनी सिटीमा उपचारका क्रममा बुधबार बिहान ६ बजे मृत्यु भएको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए। ५५ वर्षीय बन्जाडेको निधनमा पार्टीले शोक सभा गरेर अन्त्येष्टि गर्ने संयोजक जिसीले बताए। अर्घाखाँची धारापानीमा जन्मिएका बन्जाडेका श्रीमती, एक छोरा र एक छोरी छन् ।
