
बझाङ — कात्तिक १ गते बझाङको थलारा गाउँपालिका–४ डिक्लामा आएको पहिरोमा परेर बेपत्तामध्ये हालसम्म ४ जनाको शव फेला परेको छ। उनीहरुको शव नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले फेला पारेको थियो।तर १९ जना अझै बेपत्ता रहेको अवस्थामा खोजी कार्यमा लागेको टोली बुधबार फर्किएको छ।
जानकारी नदिएर खोजीकार्य बन्द गरिएको पीडित परिवारले गुनासो गरेका छन्। बेपत्ताको शव भेटे अन्तिम संस्कार गर्नसक्ने अवस्था रहेकोमा उद्धार टोली नै फर्किएको परिवारका १८ जना सदस्य गुमाएका कलक सार्कीले बताए।
पर्याप्त जनशक्ति, उपकरण र प्रविधिको अभावमा खोजीकार्य सफल हुन नसकेको बताइएको छ। प्रविधि अभाव र धेरै दिन बितेकाले खोजी कार्य स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रूपक खडकाले बताए। यस्तै बेपत्ता भएकाहरू भेटिने सम्भावना नरहेको र अब प्रक्रिया पुर्याएर सबैलाई मृत घोषणा गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए।
