
बाजुरा-– बाजुराकाे गौमुल गाउँपालिका वडा नम्बर–३ माझपालिमा बालविवाह न्यूनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा बालविवाह न्यूनीकरण गर्न उक्त कार्यक्रम गरेको हो ।
बालविवाहका कारण बालबालिकाको भविष्यमा पर्ने नकारात्मक प्रभावबारे जानकारी गराई बालविवाह घटाउन सहयोग पुगोस् भन्ने उद्देश्यका साथ अभिभावक र सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गोष्ठीको आयोजना गरेको वडा अध्यक्ष गोरख बहादुर बोहराले बताएका छन् ।
कार्यक्रममा बालविवाहका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा पर्ने नकारात्मक असरबारे जानकारी गराइनुका साथै, बालविवाह रोकथामका लागि कानुनी व्यवस्था, समुदायको भूमिका तथा सचेतनाका उपायबारे समेत सहजीकरण गरिएको थियो।
गोष्ठीमा बोल्ने वक्ताहरूले बालविवाह जस्तो सामाजिक कुरीति अन्त्यका लागि स्थानीय तह, अभिभावक, विद्यालय र समुदायबिच समन्वय आवश्यक रहेको बताएका थिए। उनीहरूले समाजमा अझै पनि विद्यमान परम्परागत सोचका कारण बालविवाह भइरहेकाले त्यसको अन्त्यका लागि सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गरे।
कार्यक्रममा सहभागीहरूले बालविवाह न्यूनीकरणका लागि घरदैलो स्तरदेखि नै सचेतना फैलाउनुपर्नेमा जोड दिएका थिए। स्थानीय सरकारले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ। वडा कार्यालयका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ।
वडा अध्यक्ष गोरख बहादुर बोहराको अध्यक्षतामा सञ्चालनमा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सीता थापा रहेकी थिइन् । कार्यक्रममा समुदायका अगुवा, स्थानीय अभिभावक, स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । वडा कार्यालयमा सञ्चालन भएकाे कार्यक्रमको सञ्चालन वडा सचिव मनीषा रोकायाले गरेको थिइन् ।


