
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनल शनिबार हुँदैछ। फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। यो खेल शनिबार दिउँसो ३:३० बजे कीर्तिपुरमा सुरु हुँदैछ।
बिहीबार दोस्रो क्वालिफायरमा लुम्बिनीले विरानगर किंग्सलाई ४० रनले हराउँदै फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो। यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई नै ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल पुगिसकेको छ।
रोचक के छ भने दुई क्वालिफायरबाट हार भोगेको विराटनगरले दुवै खेलमा सय रन कटाउन सकेन। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ७८ रनमा समेटिएको विराटनगर दोस्रो क्वालिफायरमा लुम्बिनीसँग ९४ रनमा समेटिएको हो। बलिङ युनिटले महत्त्वपूर्ण जिम्मेवारी पूरा गरे पनि फाइनल पुग्नबाट विराटनगर रोकिनुमा ब्याटिङ लाइनको कमजोरी प्रमुख कारण बनेको छ। प्रतियोगिताको तेस्रो बन्दै विराटनगरले यस सिजनको यात्रा सकेको हो।
पहिलो सिजनको उपविजेता सुदूरपश्चिम यो पटक उपाधि उचाल्दै सिजनको अन्त्य गर्न चाहन्छ । पहिलो सिजन लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक ट्रफी भित्र्याउने दाउमा छ । लिग चरणमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७ विकेटको जित हात पारेको थियो ।
एपिएलको विजेताले एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो रु १५ लाख प्राप्त गर्नेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियोे ।
रोहित र दीपेन्द्रको भिडन्त
समूह चरणमा एउटा मात्र हारको सामना गरेको सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा छ। लिग चरणका सुरुवाती खेलमा कमजोर प्रदर्शन गरेर अन्तिममा जित्नै पर्ने दबाबपूर्ण ६ खेलमा सबै जित निकाल्दै फाइनल पुगेको लुम्बिनीका कप्तान रोहितकुमार पौडेल हुन्।
रोहित राष्ट्रिय टिमका कप्तान हुन् भने दीपेन्द्र उपकप्तान हुन्। नेपालको क्रिकेट लिगको फाइनलमा कप्तान र उपकप्तानको भिडन्तलाई धेरै चासोका रुमा हेरिएको छ। अब कप्तानको कि उपकप्तानको जित हुने हो त्यसका लागि शनिबार साँझसम्म प्रतिक्षा गर्नुपर्ने छ।
