बाजुरा– बाजुराको बुढीगंगा नगरपालिकामा एक महिने माटोका सामग्री निर्माण तालिम सम्पन्न भएको छ । बुढीगंगा नगरपालिका, सीप विकास तथा प्रशिक्षण केन्द्रको आयोजना तथा जि.आई.जेड । रिप–ग्रीन परियाेजनाको सहकार्यमा तालिम सञ्चालन भएको तालिम सम्पन्न भएको हो ।
विगतमा बुढीगंगा नगरपालिका ८ मा बस्ने कुमाल जाति माटाका भाडा बनाउने गर्थे । तर दुई दशक यता यो पेसा नै लोप हुन लागेपछि नगरपालिकाले पेसा प्रवद्र्धन गर्न २० जना स्थानीयलाई तालिम दिएको जनाएको छ । तालिममा सहभागीहरुले माटोका कचौरा, घैटो, दियो, लोटा, तछला आदि सामग्री निर्माण गरेका छन् ।
नगरपालिकाले लोप हुदैँ गएको परम्परागत सीपको प्रवद्र्धन गर्न गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको नगर प्रमुख राम बहादुर बानियाँले बताएका छन् । एक महिनामा तालिममा सहभागीहरुले माटोबाट विभिन्न किसिमका वस्तुहरु निर्माण गरेको उनले बताए । नगर प्रमुख बानियाँले यस पेसालाई व्यवसायीक बनाउँदै तालिममा सहभागीहरुले निर्माण गरेका माटोका वस्तुहरुको बजारीकरणमा पालिकाले सहयोग गर्ने बताए ।
त्यस्तै नगर उपप्रमुख माया कुवँर खड्काले पालिकामा माटोका भाँडाकुडा बनाउने पेसा संकटमा पर्न थालेपछि पालिकाले यसको संरक्षण गर्न बाहिरबाट दक्ष प्रशिक्षक ल्याएर तालिम सञ्चालन गरेको बताइन् ।
त्यस्तै जि.आई.जेडका इनर्जी ईक्सपर्ट नृप बहादुर कुमालले नगरपालिकाको सहयोगमा आयोजना भएको तालिममा सहभागीले माटोबाट कसरी सामग्री बनाउने भन्ने बारेमा महत्वपूर्ण सीप सिकेको बताए । उनले यस्ता तालिमहरुले स्थानीय सीपको प्रवद्र्धनका साथैं रोजगारी समेत सिर्जना हुने बताए ।
माटोका भाडा परम्परागत देखि नै गरिदै आएको पेसाबाट जीविकोपार्जन नहुने भएपछि यो पेसा विस्तारै लोप हुदैँ गएको स्थानीयहरुले बताएका छन् । माटोका भाँडाहरुको धार्मीक कामकाजसँगै दैनिक जीवनमा समेत प्रयोग हुने गरेको छ ।