बाजुरा– बाजुराको बाम्का बजारका आगलागी पीडितका लागि हालसम्म ७५ लाख बढी रकम संकलन भएको छ । २०८२ जेठ २३ गते दिउँसो भएको भीषण आगलगीबाट पीडितका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट ७५ लाख १६ हजार ९ सय ८५ रुपैयाँ संकलन भएको हो ।
राहत संकलन तथा व्यवस्थापन समितिका अनुसार हालसम्म पनि पीडितहरुलाई आर्थिक सँगै राहत सामग्री समेत सहयोग भइरहेको छ ।
बुढीगंगा नगरपालिका ६ का वडा अध्यक्ष हेमराज जैशीले बुढीगंगाले स्थापना गरेको राहत कोषमा हालसम्म ६ लाख २० हजार ६ सय ९८ रुपैयाँ जम्मा भएको बताए । त्यस्तै उनले केही रकम पीडितलाई हस्तान्तरण भइसकेको र केही विभिन्न कार्यालयहरुले आर्थिक सहयोगको घोषणा गरेको बताए ।
उक्त आगलागीबाट पीडितका लागि यसअघि सुदूरपश्चिम प्रदेश सरकारले केही राहत सामग्री सहित ४० लाख आर्थिक सहयोग गर्ने घोषण गरेको थियो । त्यस्तै पीडितलाई स्थानीय सरकार, विभिन्न व्यक्ति तथा गैरसरकारी संघ संस्थाबाट समेत आर्थिक सहयोग भएको छ ।
बाजुराका ९ वटा स्थानीय तहमध्ये बडीमालिका र गौमुल बाहेक सबै पालिकाले आर्थिक सहयोग गरेका छन् ।
त्रिवेणी नगरपालिकाले आगलागी पीडितलाई १० लाख सहयोगको घोषणा गरेको छ भने बुढीगंगाले ५ लाख रुपैयाँ खातामा जम्मा गरी सकेको जनाएको छ ।
त्यस्तै बुढीनन्दा नगरपालिकाले एक लाख, खप्तड छेडेदहले एक लाख, हिमालीले एक लाख १० हजार, जगन्नाथले एक लाख, स्वामीकार्तिकले एक लाख ११ हजार सहयोगको घोषणा गरिएको छ ।
त्यस्तै बाम्का बजारका व्यवसायीको पहलमा ९ लाख ३ हजार २ सय ८०, बाजुरा उद्योग वाणिज्य संघको पहलमा ३ लाख ५४ हजार १ सय ५०, मातृभूमि लघुवित्त वित्तिय संस्थाबाट ८५ हजार सहयोग भएको छ ।
त्यसैगरी, जनकल्याण बहुउदेश्यीय सहकारीबाट ६० हजार ५ सय ५५, एसियन बिस्कुट कन्फेक्सनरी प्रा.लिबाट ३२ हजार ५ सय लगायत विभिन्न व्यक्तिबाट आर्थिक सहयोग भएको छ ।
पर्यटन विभागका महानिर्देशक डाक्टर नारायण प्रसाद रेग्मीको नेतृत्वमा २४ जना कर्मचारीहरुले आगलागी पीडितलाई ४५ हजार २ सय १० रुपैयाँ सहयोग गरेका छन् । पर्यटन विभागका महानिर्देशक डा. रेग्मीको गृहजिल्ला समेत बाजुरा हो ।
जिल्ला प्रशासन कार्यालय बाजुरा लागयत विभिन्न गैरसरकारी संस्थाबाट राहत सामग्री सहयोग भएको जनाएको छ ।
बाम्का बजारका आगलागी पीडितहरुका लागि अहिले पनि विभिन्न निकाय तथा व्यक्तिबाट राहत संकलन भइरहेको छ । आगलागीबाट ध्वस्त भएको बाम्का बजारलाई पुरानै स्वरुपमा ल्याउन धमाधम टहरा निर्माण कार्य समेत भइरहेको छ ।
२०८२ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त भीषण आगलागीबाट करिब एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन केहीमा आंशिक क्षति भएको छ । त्यस्तै उक्त आगलागीबाट कम्तिमा २० करोडको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।