• होमपेज
  • समाज
  • पूर्व मेयर बडुवाल अध्यक्ष रहेको सहकारीमा रकम अपचलनको आरोप

पूर्व मेयर बडुवाल अध्यक्ष रहेको सहकारीमा रकम अपचलनको आरोप

अनुसन्धान गर्दै प्रशासन

  • बिहिबार, बैशाख ११, २०८२
पूर्व मेयर बडुवाल अध्यक्ष रहेको सहकारीमा रकम अपचलनको आरोप

बाजुरा—बडीमालिका नगरपालिकाका पुर्व नगर प्रमुख पदम बडुवाल अध्यक्ष रहेको सहकारीमा रकम अपचलन भएको आरोप लागेको छ । बाजुराको सदरमुकाम मार्तडीमा रहेको सुन्दर बडीमालिका उपभोक्ता सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम अपचलन भएको भन्दै उजुरी परेको हो ।

बडीमालिका नगरपालिकाका पूर्व नगर प्रमुख बडुवाल अध्यक्ष रहेको उक्त सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेर कार्यालय बन्द गरेको भन्दै उनीविरुद्ध प्रशासनमा उजुरी परेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
अध्यक्ष बडुवाललाई पटकपटक फोन गर्दा मुद्धा हाल्नुहोस् भन्ने किसिमका जवाफ आउने गरेको भन्दै बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरी दिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सहकारीले बचतकर्ताको लाखौ रकम अपचलन गरेर ४ बर्षदेखि कार्यालय बन्द गरेको जनाएको छ । बचतकर्ताहरुले तत्काल कार्यालय खुलाएर हिसाब किताव सहित रकम असुलीको माग गर्दै प्रशासनमा उजुरी दिएका छन् ।

यता पूर्व नगर प्रमुख समेत रहेका सहकारीका अध्यक्ष पदम बडुवालले उनीहरुको आरोप अस्वीकार गर्दैै ऋण नउठेर समस्या भएको बताए । उनले सहकारीको सबै कामकाज प्रक्रियागत भइरहेको भन्दै ऋण उठाउने प्रकिया भइरहेको बताए ।

यस बिषयमा जिल्ला प्रशासन कार्यालयले भने अनुसन्धानको क्रममा रहेको जानकारी दिएको छ । यसअघि पनि विभिन्न समयमा सहकारीको साधारणसभा नभएको, हिसाबकिताव एकलौटी गर्दै आएको भन्दै शेयर सदस्यबाट नै आरोप समेत लाग्दै आएको थियो ।

सो सहकारीको २०७२ सालमा दर्ता भएको र हालसम्म एउटा पनि साधारण सभा नभएको बुझिएको छ । संस्था दर्ता गर्दा प्रारम्भिक रुपमा छलफल गरेर अध्यक्ष पदमबहादुर बडुवाल, सचिव विपिन बिष्ट, कोषअध्यक्ष अमृता सिंह लगाए समिति बनाएको थियो ।

त्यस पश्चात सात बर्षसम्म साधारण सभा नगरी विना हिसाबकिताव एकलौटी तरिकाले संचालन गर्दै आएको शेयर सदस्यहरुले बताउने गरका छन् । करिब डेढ करोड आय व्यय छ र २ सय ६० भन्दा बढी शेयर सदस्यहरुका चार लाख पचास हजारको सेयर कित्ता रहेको छ । सचिव बिपिन बिष्टले एकलौटी गरेर गैरकानुनी रुपमा सहकारी चलाएको शेयर सदस्यहरुले आरोप समेत लगाउदै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार