• होमपेज
  • समाज
  • पूर्वराज्यमन्त्री रायको हत्या, प्रहरी सुराकविहीन

पूर्वराज्यमन्त्री रायको हत्या, प्रहरी सुराकविहीन

गतले लतपतिएको अवस्थामा ‘फार्म हाउस’मा शव फेला

  • मङ्लबार, साउन ८, २०८१
पूर्वराज्यमन्त्री रायको हत्या, प्रहरी सुराकविहीन

सर्लाही, रौतहट — पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको सर्लाही चन्द्रनगर गाउँपालिका–१ रतनपुरमा हत्या भएको छ । मलंगवा नगरपालिका–४ घर भएका रायको रतनपुरस्थित ‘फार्म हाउस’मा रहेका बेला आइतबार राति हत्या भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेतासमेत रहेका पुराना राजनीतिज्ञ रायको शव घरमै बीभत्स अवस्थामा फेला परेको हो । शव टाउकामा धारिलो हतियार प्रयोग गरिएको र रगतले लतपतिएको अवस्थामा थियो ।

२०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य तथा २०५६ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित राय तत्कालीन शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा भूमिसुधार राज्यमन्त्री भएका थिए । उनी पञ्चायत नीति तथा जाँचबुझ समितिका सदस्य पनि थिए । २०४६ मा राप्रपा स्थापना हुँदा सूर्यबहादुर थापा समूहमा रहेका राय २०४९ मा राप्रपा (लोकेन्द्रबहादुर चन्द) र राप्रपा (सूर्यबहादुर थापा समूह) एकीकृत भई बनेको राप्रपामा उपाध्यक्ष रहेका थिए ।

परिवारसहित काठमाडौंमा बस्दै आएका राय गत साता मात्र खेती गर्न सर्लाही आएका थिए । रायको हत्यापछि रतनपुर क्षेत्रका बासिन्दा त्रसित छन् । राय राप्रपाभित्र गणतन्त्र र परिवर्तनका ‘एजेन्डा’ उठाउने नेतामध्येका एक थिए । मधेशका समस्या सम्बोधन हुनुपर्छ र राप्रपाले परिवर्तनको ‘एजेन्डा’लाई आत्मसात् गर्नुपर्छ भन्ने खेमामा लागेर पार्टीभित्रै गणतन्त्रको विषय प्रवेश गराउनेमध्येका पनि एक थिए ।

एक समय राप्रपा छाडेर मधेश राजनीतिमा गएका उनी पछि राप्रपामै फर्किएका थिए । २०६२/६३ को जनआन्दोलनपछि मधेशमा संघीयतासहितको ‘एजेन्डा’ लिएर क्षेत्रीय दलहरू खुल्नेक्रम चलिरहेका बेला कांग्रेस, एमाले र राप्रपाका नेताहरू पार्टी परित्याग गरी मधेशको राजनीतिमा सक्रिय भएका थिए । त्यही क्रममा २०६४ पुसमा महन्थ ठाकुरको नेतृत्वमा नयाँ राजनीतिक दल तराई मधेश लोकतान्त्रिक पार्टी गठन हुँदा राप्रपाबाट सर्वेन्द्रनाथ शुक्ल र रायसहितका नेता सामेल भएका थिए ।

मलंगवा नगरपालिका–४ घर भएका ८० वर्षीय राय धानबाली लगाउन एक सातादेखि रतनपुरस्थित आफ्नै ‘फार्म हाउस’मा बसेका थिए । घरको काम सघाउन सहयोगीका रूपमा यादवले विलासी नगरपालिका–३ मदनपुरका २१ वर्षीय रामउजैन राय यादवलाई सँगै राखेका थिए । आइतबार साँझ करिब ६ बजे सदरमुकाम मलंगवास्थित घरबाट उनी रतनपुर ‘फार्म हाउस’ आएका थिए ।

रतनपुरका पूर्वगाविस अध्यक्ष सत्यनारायण राय यादवका अनुसार साँझ साढे ७ बजेतिर रतनपुरकै इन्दल ठाकुरको घरमा पितृश्राद्घ प्रसाद खाएर घर फर्केका थिए । राप्रपाबाट सँगै राजनीति गरेका यादव पूर्वमन्त्री राय सर्लाही आउँदा रतनपुरमा अधिकांश समय सँगै बिताउँथे । उनीहरू दुवै आइतबार ठाकुरको घरमा सँगै पितृ प्रसाद खाएर फर्केका थिए ।

आइतबार राति करिब साढे ९ बजे यादवको घरमा अरू तीन जना आएको भनिए पनि उनीहरू को थिए भन्ने खुल्न सकेको छैन । हाल प्रहरी निगरानीमा रहेका रायको घरमा बस्ने रामउजैनले प्रहरीलाई बताएअनुसार घरमा आएका तीन जनाले ‘हाम्रो जग्गाको विवाद कहिले मिलाइदिने ?’ भन्दै कुराकानी गरेका थिए । यो विषयमा केहीबेरसम्म छलफल भएको रामउजैनले बताएका छन् । तीनै जनालाई आफूले नचिनेको जिकिर रामउजैनको छ ।

नातामा मृतक राय रामउजैनका हजुरबुवा पर्छन् । ‘हजुरबुवाले तिमी छतमाथि सुत्न जाऊ भनेर पठाए पछि म सुत्न गएको थिएँ, त्यसपछि के भयो मलाई थाहा छैन’ भनी उनले प्रहरीलाई बताएका छन् । रायको घरमा काम गर्ने ती युवकलाई पनि शंकाको घेरामा राखेर अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ । घरमा पाहुना आउँदा आफू छतमा नै सुत्ने गरेको रामउजैनले बताएका छन् ।

राति १२ बजेतिर पिसाब फेर्न तल झरेका बेला ढोका खुला रहेको र ओछ्यान छेउमा राय यादव रगतले लतपतिएर लडेको अवस्थामा देखेपछि आफन्तलाई जानकारी गराएको उनको भनाइ छ ।

रायको घरमा आएका तीनै जना फरार छन् । गाउँमा रायको हत्या भएको थाहा पाएपछि स्थानीयले नै प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर सिंह आफैं घटनास्थल पुगेका थिए । उनले राति नै प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुर मगाएर घटनास्थल लगेका थिए । कुकुरले उखु काट्न प्रयोग हुने घरेलु हतियार (ग्रासी) नजिकको बाँसघारीबाट फेला पारेको थियो । त्यस क्षेत्रभन्दा अगाडि कुकुर बढ्न सकेन । घटनास्थलबाट उत्तरपश्चिमतर्फे करिब ५० मिटर टाढा रहेको बाँसको झाङमा हतियार भेटिएको हो । रगतले लतपतिएको अवस्थामा बाँसको झाङमा हतियार भेटिएकाले हत्यामा प्रयोग भएको प्रहरीको आशंका छ ।

पूर्वराज्यमन्त्री यादव गाउँ आएको र उनी बसेको बारे सुरक्षा निकायमा कुनै जानकारी थिएन । घटना भएको घरमा कम्पाउन्ड छैन । सुरक्षा स्रोतका अनुसार झट्ट हेर्दा घरमा सुरक्षित बस्न सक्ने अवस्था छैन । गाउँमा ‘हाइप्रोफाइल’ व्यक्ति निस्फिक्री बसेको देख्दा सुरक्षा अधिकारी पनि चकित छन् ।

सर्लाहीका एसपी सिंहले संलग्न भनिएका व्यक्तिहरूसित सोधपुछ र ‘लोकेसन ट्र्याक’ गर्ने काम भइरहेको बताए । ‘हत्या गरिएको स्थानको तन्ना, अन्य सामग्री फरेन्सिक टेस्टका लागि पठाइसकेका छौं, हामी केही क्लु पत्ता लगाउने प्रयासमा छौं,’ एसपी सिंहले भने, ‘अहिले रायको घरमा बस्ने सहयोगीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । हत्याको कारण पनि खुल्न सकेको छैन । हामी टेक्निकल र क्रिमिनल पाटोबाट अनुसन्धानमा जुटेका छौं ।’

एउटै घरमा बसेका यादवको हत्यापछि प्रमाणका रूपमा रहेका उजैन सकुशल हुनु, अरू तीन जना फरार बन्नु र पछि मात्र प्रहरीलाई खबर गरेको विषय शंकास्पद रहेको भन्दै घटनालाई सबै कोणबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको संयुक्त टोली अनुसन्धानमा जुटेको छ । मृतक राय तीन दाजुभाइमध्ये माहिला थिए । उनका श्रीमती, २ छोरा र ५ छोरी छन् । मलंगवा नगरपालिकाका मेयरसमेत रहेका मृतक रायका भाइ नागेन्द्रप्रसादले दाजुको बीभत्स हत्याको गम्भीर अनुसन्धान हुनुपर्ने बताएका छन् । घटनाको जानकारी पाएलगत्तै उनी राति नै घटनास्थल पुगेका थिए ।

यसैबीच रायको हत्यालाई दुःखद् र निन्दनीय भन्दै राप्रपाले भर्त्सना गरेको छ । राप्रपाले रायको निधनबाट संस्थापक सदस्य तथा तराई–मधेश क्षेत्रका एक लोकप्रिय राष्ट्रवादी नेता गुमाएको उल्लेख गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी शोक वक्तव्यमा घटनाको सत्यतथ्य जाँचबुझ एवं संलग्नको खोजी गरी कारबाही गर्न सरकारसँग माग गरिएको छ । राप्रपाका सांसदहरू रोशन कार्की र दीपकबहादुर सिंहले पनि सोमबार प्रतिनिधिसभा बैठकमा रायको हत्याप्रति भर्त्सना गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

चर्चामा

सम्बन्धित समाचार