आइतवार, मंसिर २३, २०८१
  • होमपेज
  • उप निर्वाचन बिषेश
  • स्वामीकार्तिकमा विरासत जोगाउने दबाबमा कांग्रेस

स्वामीकार्तिकमा विरासत जोगाउने दबाबमा कांग्रेस

  • बुधबार, मंसिर १२, २०८१
स्वामीकार्तिकमा विरासत जोगाउने दबाबमा कांग्रेस

बाजुरा–  उपचुनाव नजिकिँदा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उम्मेदवारहरूको दौडधुप बढेको छ । १३ मंसिरको राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले त्यसअघि नै सकेसम्म धेरै ठाउँ पुग्ने योजनासहित उम्मेदवारहरू खटिएका छन् । चुनावी नतिजा आफ्नो पक्षमा पार्न पार्टी केन्द्रकै नेताहरू पालिका केन्द्रित छन् । प्रदेश, जिल्ला र स्थानीय तहका कार्यकर्ता मत माग्न खटिने नै भए ।

विकसित राजनीतिक परिस्थितिका कारण पनि चुनावी दौडधुप थप रोचक बन्न पुगेको छ । नेकपा माओवादी केन्द्रले राजुकुमारी विश्वकर्माको उम्मेदवारी फिर्ता लिएर नेकपा एमालेकी सुलोचना भण्डारी बुढालाई समर्थन गरेको छ । माओवादीको समर्थनबाट एमाले उत्साहित छ । एमाले नेताहरूले यो उपचुनावको नतिजा घोषणा गर्न मात्र बाँकी रहेको भाषण गरिरहेका छन् ।

गत २०७९ सालको चुनावमा एमाले उम्मेदवार १७३ मतान्तरले नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन् । कांग्रेसकी जोशीले १ हजार ८१० मत ल्याएर उपाध्यक्ष जित्दा एमालेकी सुलोचनाले १ हजार ६३७ मत पाएकी थिइन् भने माओवादीका सुरेशबहादुर रोकायाले १ हजार २१३ मत पाएका थिए । यद्यपि त्यो चुनावमा माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन थियो ।

उपाध्यक्ष जितेकी मैनादेवीको निधनपछि हुन लागेको उपचुनावमा एमाले र माओवादीबीच गठबन्धन भएको छ । वाम एकताको आधार तयार पार्न भन्दै आगामी चुनावको समेत भागबन्डा गरेर यी दुई दलबीच सहकार्य भएको छ । अघिल्लो चुनावमा पराजय बेहोरेको सहानुभूति, माओवादीको समर्थन र एमालेको संगठनका आधारमा आफ्नो जित निश्चित बनेको एमालेकी सुलोचनाले दाबी गरेकी छन् । ‘२०७९ को निर्वाचनमा पनि गाउँपालिकाका सबै जनतासँग घरदैलो मार्फत् भेटघाट गर्दै मत मागेकी थिएँ । अहिले पनि माग्दै छु । यो पटक माहोल मेरो पक्षमा रहेको पाएकी छु,’ बुढाले भनिन्, ‘सबैले मत दिन्छौँ भनेर सहानुभूती दिइरहनुभएको छ । पार्टी पनि एकताबद्ध भएर लागेको छ ।’

वाम सहकार्यको उत्साहका कारण पनि आफूले जित्ने आत्मविश्वास बढेको उनी बताउँछन् । यसबाहेक पार्टीले बढाएको एजेन्डाले पनि जितको सम्भावना थप बलियो भएको एमाले उम्मेदवार बुढा बताउँछिन् । उनले गाउँपालिकाको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जना गर्ने जस्ता चुनावी प्रतिबद्धता गरिरहेकी छन् । साथै, पालिकाभित्र बसोबास गर्ने दलित, महिला, अपाङ्‍गता, विपन्नको अधिकार सुनिश्चित गर्ने भूमिका खेल्ने बताएकी छन् ।

‘हाम्रो गाउँपालिकामा अन्यत्रको जस्तो सडक, बाटोघाटो पूर्वाधार विकास हुन सकेको छैन । त्यसलाई अघि बढाउने, शिक्षा, स्वास्थ्य र रोजगारीमो पहुँच बढाउने योजना छ,’ बुढाले भनिन्, ‘दलित, महिला, अपाङ्‍गता, असहाय र विपन्नको पक्षमा आवाज उठाउनेछु । पालिकावासीलाई सुखी र समृद्ध बनाउने सोचेकी छु ।’ तर, कांग्रेसले पनि आफ्नो जित जोगाउने दाबी गरिरहेको छ । उपाध्यक्ष जितेकी मैनादेवी जोशीको निधन भएपछि हुन लागेको उपचुनावमा कांग्रेसले पुल्तीसरा शाहीलाई अघि बढाएको छ ।

‘पुरानो उपाध्यक्ष पनि हाम्रै पार्टीको हुनुहुन्थ्यो । दिदीको सपना पूरा गछौं भनेर लागिरहेका छौं,’ उम्मेदवार शाहीले भनिन्, ‘जनतालाई त्यस्तो नयाँ आश्वासन, आशा भरोसा पनि दिएका छैनौं । दिदीले सोचेका सबै कुरा पूरा गर्छौँ भनेर मत मागिरहेका छौं ।’ कांग्रेस बाजुरा प्रदेश क्षेत्रीय समिति सदस्य रहेकी शाहीले मैनादेवीको सपना यहाँका जनताको खुशी भएको बताउने गरेकी छन् । ‘गरिब, दलित, महिला, बालबालिका र वृद्धवृद्धाको हित गर्नु मेरो पनि काम हुनेछ,’ उनी भन्छिन् । स्वामीकार्तिकमा एकल प्रतिस्पर्धा गर्दा कांग्रेस बलियो छ ।

अघिल्लो चुनावमा अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडाध्यक्ष जितेकाले पनि कांग्रेस बलियो रहेको पुष्टि हुन्छ । तर, यसपटक कांग्रेसलाई विरासत जोगाउनुपर्ने दबाब छ । कांग्रेस र एमालेका उम्मेदवारलाई चुनौती दिनेगरी एकीकृत समाजवादीकी जवा शाही पनि मैदानमा छन् । आफ्ना उम्मेदवार जिताउन घरदैलो अभियानमा खटिएका पार्टी जिल्ला अध्यक्ष पुरबहादुर रावतले मतदाताले ठूला भनिएका र नयाँ भनिएका दलको विकल्पमा जवा शाहीलाई जितााउने दाबी गर्छन् ।

‘एकातिर ठूला दल भनिएका दलबाट पनि देशले मुक्ति पाएन भने अर्कोतिर नयाँ दल भन्नेहरूले पहिलो गासमै ढुंगा लागेको छ,’ रावतले भने, ‘राष्ट्रिय राजनीतिमा १० सिटको पार्टी भएपनि पुरानो र राजनीति बुझेका नेताको पार्टी भएकाले मतदाताले जिताउँछौँ भनिरहनुभएको छ । त्यसैले जित निश्चित छ ।’ अनलाइन खवरबाट

चर्चामा

सम्बन्धित समाचार