• होमपेज
  • राजनीति
  • सुदूरपश्चिम सरकार विस्तार अन्योल- एमाले तत्काल सहभागी नहुने, माओवादीमा आकांक्षीहरूको दौडधुप

सुदूरपश्चिम सरकार विस्तार अन्योल- एमाले तत्काल सहभागी नहुने, माओवादीमा आकांक्षीहरूको दौडधुप

  • सोमवार, जेष्ठ १४, २०८१
सुदूरपश्चिम सरकार विस्तार अन्योल- एमाले तत्काल सहभागी नहुने, माओवादीमा आकांक्षीहरूको दौडधुप

कैलाली — सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वमा सरकार बनेको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

संविधानको धारा १६८ (२) अनुसार वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले यही जेठ ३ गते विश्वासको मत प्राप्त गरिसकेका छन् । विश्वासको मत पाए लगत्तै एक-दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने भने पनि अहिलेसम्म पूर्णता दिन सकेका छैनन् ।

आइतबार प्रदेश सभा बैठक सकिए लगत्तै मुख्यमन्त्री सोडारीले अब केही दिनमै सरकार विस्तार हुने दाबी गरेका छन् । ‘सरकार विस्तार बारे केन्द्रमा छलफल भइरहेको छ’, उनले सञ्चारकर्मीहरूसँग भने, ‘१२ दिनमै पूर्णता पाउँछ ।’

सत्ता गठबन्धनका शीर्ष नेताहरू बिच छलफल र संवाद भइरहेको भन्दै सरकार विस्तारमा अब धेरै समय नलाग्ने मुख्यमन्त्री सोडारीको दाबी थियो ।

मुख्यमन्त्रीको दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका उपनेता प्रकाश रावलले नेकपा एकीकृत समाजवादीको कारणले सरकार विस्तारमा ढिलाइ नभएको बताएका छन् । उनका अनुसार एमाले र माओवादी केन्द्रका कारण सरकार विस्तारमा ढिलाइ भइरहेको हो ।

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले सोही दिन नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका थिए । त्यसको एक साता पनि नाउपाकै टिका थापाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाइन् । त्यस यता अहिले सम्म कुनै पनि पार्टीका कुनै पनि सांसदले मन्त्रीको जिम्मेवारी पाएका छैनन् ।

एमालेले सरकारमा सहभागी नभएर बाहिरबाटै सरकारलाई साथ दिने निर्णय गरेको छ । ‘हामीलाई अहिले सरकारमा सहभागी हुन कुनै हतार छैन हामीले सरकारलाई समर्थन गरेकै छौँ विश्वासको मत दिएकै छौँ फेरि मन्त्री बन्नै पर्छ भन्ने छ र ?’ एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र रावलले भने, ‘हामी अहिले सरकारमा सहभागी हुँदैनौँ । बाहिरबाट साथ दिन्छौँ ।’

माओवादी केन्द्रमा भने मन्त्री बन्नेहरूको लर्काे लागिरहेको छ । माओवादी संसदीय दलका नेता मानबहादुर धामीले पनि अब सरकार विस्तारको सकस धेरै नरहने भन्दै चाँडै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन् । यहाँ माओवादीका सभामुख बाहेकका १० सांसद छन् ती मध्ये अधिकांश सांसदहरू अहिले मन्त्रीको लबिङमा छन् ।

यहाँ यस अघि मन्त्री भइसकेका झपट साउद र रमेश धामीलाई पुन मन्त्री बनाउने सम्भावना रहेको माओवादी उच्च स्रोतको दाबी छ । त्यसबाहेक अक्कल रावल वा शिवसिंह ओली मध्ये एक जना र ओमविक्रम भाट सरल वा लक्ष्मी विक मध्ये एक जनालाई मन्त्री बनाउने विषयमा पनि तीव्र लबिङ छ ।

अर्थ मन्त्रालय माओवादीले पाउँदा खगराज भट्टलाई उक्त जिम्मेवारीमा पठाउने विषयमा पछि छलफल भइरहेको बताइन्छ । तर, भट्टले भने उक्त जिम्मेवारी लिने विषयमा भने अझै स्वीकृति जनाइसकेका भने छैनन् ।

उनी आफूलाई यस अघि बहुमतबाट संसदीय दलको नेताबाट हटाइएको भन्दै अझै पनि सोही जिम्मेवारीको माग गरिरहेका छन् । यस अघिको संसदीय दलको बैठकमा उनलाई हालको संसदीय दलको नेता मानबहादुर धामी भन्दा माथिको बरियामा राख्ने निर्णय गरिएको थियो । त्यस पछि भट्ट संसदीय गतिविधिमा सक्रिय देखिएका छन् ।

माओवादीबाट आधा दर्जन बढि मन्त्रीको आकाङ्क्षीहरू तीव्र लबिङमा लागिरहेका बेला एमालेले भने कहिले सरकारमा सहभागी हुने भन्ने विषयमा कुनै निर्णय गरिसकेको छैन ।

एमालेबाट सरकारमा सहभागी हुने अवस्थामा सुरेन्द्र पाल मन्त्री बन्ने करिब पक्का जस्तै भएको एमाले स्रोतको दाबी छ । त्यस बाहेक सन्तोष शर्मा थापाले चाहना राखे उनी पनि मन्त्री बन्न सक्ने स्रोत बताउँछ । तर, थापाले भने अहिले मन्त्रीको जिम्मेवारी लिने विषयमा आफू सकारात्मक नभएको बताउँदै आइरहेकी छन् ।

थापा मन्त्री नहुने अवस्थामा वीर बहादुर थापा, दमन भण्डारी र धर्मराज पाठक मध्ये एक जना मन्त्री बन्ने छन् । एमालेले राज्य मन्त्री पाउने अवस्थामा हिरा सार्कीको सम्भावना रहेको छ । तर, अहिले राज्य मन्त्री बनाउने विषयमा कुनै छलफल भएको छैन । नेपाल प्रेस

चर्चामा

सम्बन्धित समाचार