मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • क्रिकेट
  • एसीसी प्रिमियर कपको दोस्रो संस्करण आजदेखि : पहिलो दिन नेपालले मलेसियाको सामना गर्दै

एसीसी प्रिमियर कपको दोस्रो संस्करण आजदेखि : पहिलो दिन नेपालले मलेसियाको सामना गर्दै

  • शुक्रबार, चैत्र ३०, २०८०
एसीसी प्रिमियर कपको दोस्रो संस्करण आजदेखि : पहिलो दिन नेपालले मलेसियाको सामना गर्दै

काठमाडौँ– एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण शुक्रबादेखि ओमानमा सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन नेपालले मलेसियाको सामना गर्नेछ । पहिलो दिनको अर्को खेल कतार र हङ्कङबिच खेलिने छ ।

वैशाख ९ गतेसम्म सञ्चालन हुने प्रिमियर कपको दोस्रो संस्करणमा १० टोलीको सहभागिता रहेको छ । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।

नेपाली टोली भारतमा स्थानीय क्लबहरूसँग त्रिकोणात्मक शृङ्खला खेलेर उतैबाट ओमान प्रस्थान गरेको हो । भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरीय क्लब गुजरात र बरोडासँग त्रिकोणात्मक टी–२० शृङ्खला खेलेको थियो । शृङ्खलाको उपाधि पनि नेपालले नै जितेको थियो ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) का एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप क्रिकेट निकै महत्त्वपूर्ण प्रतियोगिता हो । यही प्रतियोगिताले एसोसिएट्स सदस्य राष्ट्रका लागि एसिया कपजस्तो ठुलो प्रतियोगिता खेल्ने अवसर प्रदान गर्छ ।

अघिल्लो संस्करणमा पनि नेपाल प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट भएको थियो । एसिया कपमा छनोट भएको एसोसिएट्स सदस्य राष्ट्रले आफूभन्दा निकै बलिया टेस्ट राष्ट्रहरूसँग भिडन्त गर्ने अवसर पाउँछ ।

एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सहभागिता जनाउँछन् । सन् २०२३ को एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पनि थिए ।

एसिया कपको त्यो संस्करणमा नेपाली खेलाडीले रोहित शर्मा, विराट कोहली, श्रेयष ऐयर, हार्दिक पाण्ड्या, शुभमन गिल, इशान किसन, रविन्द्र जडेजा, बाबर आजम, इफ्तिखार अहमद, फाखर जामन, साहिन शाह अफ्रिदी, मोहम्मद रिजवान, नसिम शाहजस्ता विश्व चर्चित खेलाडीहरुसँग खेल्ने अवसर पाएका थिए ।

भारत र पाकिस्तानविरुद्धको खेलमा नेपाली खेलाडीको प्रदर्शन पनि उत्कृष्ट थियो । यद्यपि, दुवै खेलमा नेपाली टोली पराजित भएको थियो । खासगरी भारतविरुद्धको खेलमा नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । पाकिस्तानविरुद्धको खेलमा भने नेपाली बलरहरुले गतिलो प्रदर्शन गरेका थिए ।

एसीसी प्रिमियर कपको आगामी संस्करण नेपालका लागि अर्को अर्थमा पनि महत्त्वपूर्ण छ । एसीसी प्रिमियर कपको अघिल्लो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो । तर, दोस्रो संस्करण भने टी–२० ढाँचामा खेलाइने भएको छ ।

त्यसैले एसीसी प्रिमियर कपको आगामी संस्करणले यसै वर्षको जुनमा अमेरिका र वेस्ट इन्डियामा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीलाई पनि सहयोग पुर्याउने छ । आगामी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ ।

यसपटक एसीसी प्रिमियर कपमा सहभागी हुने अर्को एक राष्ट्र ओमानले पनि टी–२० विश्वकपमा सहभागिता जनाउँदै छ । टी–२० विश्वकपमा सहभागी यी दुवै राष्ट्रका लागि एसीसी प्रिमियर कप आफ्नो प्रदर्शनमा सुधार ल्याउने गतिलो अवसर पनि हो ।

यसपटक पनि एसीसी प्रिमियर कपमा १० टोलीले सहभागिता जनाउँदै छन् । नेपालसहित आठ राष्ट्र एसोसिएट्स सदस्य राष्ट्रहरूको आईसीसी वरीयताका आधारमा प्रतियोगितामा छनोट भएका हुन् । बाँकी दुई राष्ट्र साउदी अरेबिया र कम्बोडिया भने एसीसी पुरुष च्यालेन्जर कपबाट एसीसी प्रिमियर कपमा छनोट भएका हुन् ।

यसपटक एसीसी प्रिमियर कपमा नेपालसँगै हङ्कङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ‘ए’ मा परेका छन् । प्रतियोगिताको समूह ‘बी’ मा भने बहराइन, कम्बोडिया, कुवेत, आयोजक ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रबार मलेसियासँग खेल्नेछ । शनिबार नेपालले आफ्नो दोस्रो खेल कतारसँग खेल्नेछ । अप्रिल १५ तारिखमा नेपालले आफ्नो तेस्रो खेल हङ्कङसँग खेल्नेछ । नेपालले समूहगत चरणको अन्तिम खेल अप्रिल १७ तारिखमा साउदी अरेबियासँग खेल्नेछ ।

समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।

प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी र अविनाष बोहरा रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई छन् ।

चर्चामा

सम्बन्धित समाचार