बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • क्रिकेट
  • आईपीएलमा आज : पहिलो पटक गुजरातलाई हराउने दाउमा लखनउ

आईपीएलमा आज : पहिलो पटक गुजरातलाई हराउने दाउमा लखनउ

  • आइतवार, चैत्र २५, २०८०
आईपीएलमा आज : पहिलो पटक गुजरातलाई हराउने दाउमा लखनउ

इन्डियन प्रिमियर लिग क्रिकेटमा आइतबार दुई खेल खेलिने छ । पहिलो खेल मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबिच हुनेछ । उक्त खेल नेपाली सयम अनुसार, दिउँसो ३ः४५ बजे मुम्बईस्थित वानखेड स्टेडियममा सुरु हुनेछ ।

आइतबारको दोस्रो खेल लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच खेलिने छ । उक्त खेल नेपाली समय अनुसार, राति ७ः४५ बजे लखनउस्थित एकाना क्रिकेट स्टेडियम सुरु हुनेछ । जारी सिजनको आईपीएलमा लखनउले चौथो र गुजरातले पाँचौँ खेल खेल्न लागेका हुन् ।

लखनउले हालसम्म खेलेको तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । लखनउ चार अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । लखनउ आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग २० रनले पराजित भएको थियो ।

लखनउले त्यसपछि लगातार दुई खेल जितेको थियो । दोस्रो खेलमा लखनउले पञ्जाब किङ्सलाई २१ रनले हराएको थियो । आफ्नो तेस्रो खेलमा भने लखनउले रोयल च्यालेन्जर्स बैंगलुरुलाई २८ रनले पराजित गरेको थियो ।

अर्कोतिर, गुजरातले हालसम्म खेलिएको चारमध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । गुजरात चार अंकसहित तालिकाको सातौँ स्थानमा छ । गुजरातले मुम्बई इन्डियन्सलाई ६ रनले हराएको थियो ।

दोस्रो खेलमा गुजरातको टोली चेन्नई सुपर किङ्ससँग ६३ रनले पराजित भएको थियो । तेस्रो खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको थियो । चौथो खेलमा भने गुजरातको टोली पञ्जाब किङ्ससँग तीन विकेटले पराजित भएको थियो ।

हेड टु हेड : लखनउभन्दा गुजरात अगाडि

इन्डियन प्रिमियर लिगको इतिहासमा लखनउ सुपर जाइन्ट्सले हालसम्म गुजरात टाइटन्सलाई हराउन सकेको छैन । यी दुई टोलीबिच आईपीएलमा हालसम्म कुल चार खेल खेलिएको छ । चारवटै खेलमा गुजरात विजयी भएको छ । लखनउको घरेलु मैदानमा यी दुई टोलीबिच हालसम्म एक खेल खेलिएको छ । त्यो खेलमा पनि गुजरातले लखनउलाई सात रनले हराएको थियो ।

लखनउको सर्वाधिक विकेट : मयंक यादबको नाममा

जारी सिजनको आईपीएलमा तिब्रगतिका बलर मयंक यादब लखनउका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन् । लखनउले सफलता हात पारेको खेलमा मयंकको प्रदर्शन उत्कृष्ट रहेको देखिन्छ । उनले जारी सिजनमा एक सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका छन् । लखनउका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने निकोलस पुरन हुन् ।

गुजरातको सर्वाधिक रन : शुभमन गिलको नाममा

जारी सिजनको आईपीएलमा गुजरातका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान शुभमन गिल हुन् । उनले यसअघि खेलिएको चार खेलमा कुल एक सय ६४ रन बनाइसकेका छन् । गुजरातका लागि सर्वाधिक विकेट लिने बलर भने मोहित शर्मा हुन् । उनले चार खेलमा सात विकेट लिएसकेका छन् ।

पिच : स्पिनरलाई साथ दिने
लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच आइतबारको खेल हुने लखनउको स्टेडियमको पिच स्पिन बलरलाई साथ दिने प्रकृतिको छ । यो पिचमा स्पिनरले उत्कृष्ट प्रदर्शन गर्दै आएको इतिहास छ । त्यसैले यो स्टेडियममा गतिलो रन बनको पाइँदैन । यो स्टेडियममा हालसम्म आईपीएलको आठ खेलमात्र खेलिएको छ ।

वर्षा : सम्भावना छैन
लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच दिन आइतबार लखनउमा वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबार लखनउको तापक्रम २१ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।

सम्भावित टोली
लखनउ सुपर जाइन्ट्स : केएल राहुल (कप्तान एवं विकेटकिपर), क्विन्टन डी कक, देवदत्त पडिकल, निकोलस पुरन, मार्कस स्टोइनिस, आयुष बडोनी, कुणाल पाण्ड्या, रवि बिस्नोई, यश ठाकुर, मयंक यादब र नविन उल हक । इम्प्याक्ट प्लेयर : दीपक हुड्डा ।

गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान साह, साई सुदर्शन, केन विलियम्सन, विजय शंकर, अजमतुल्लाह ओमरजई, राहुल तेवतिया, राशिद खान, नुर अहमद, उमेश यादब र दर्शन नालकंडे । इम्प्याक्ट प्लेयर : मोहित शर्मा ।

चर्चामा

सम्बन्धित समाचार