मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • फुटबल
  • सिक्किमलाई हराउँदै मछिन्द्र विराट गोल्डकपको फाइनलमा

सिक्किमलाई हराउँदै मछिन्द्र विराट गोल्डकपको फाइनलमा

  • शुक्रबार, चैत्र २३, २०८०
सिक्किमलाई हराउँदै मछिन्द्र विराट गोल्डकपको फाइनलमा

विराटनगर– आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मछिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रिला मोरङ एफसी बीच प्रतिस्पर्धा हुनेभएको छ ।

विराटनगरको शहीद मैदानमा बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा काठमाडौंको मछिन्द्र एफसीले पाहुना टोली भारतको सिक्किम ड्रागनलाई १–० गोलले पराजित गर्दै घरेलु टिम सांग्रिलासँगको उपाधि भिडन्त पक्का गरेको हो ।

मछिन्द्रलाई जित दिलाउन आयुष घलानले ९४ औं मिनेटमा निर्णायक गोल गरे । हिसुब थपलियाको स्थानमा दोस्रो हाफमा वैकल्पिक खेलाडी मनिष डाँगीले निकालेको क्रस पासलाई आयुषले आकर्षक गोलमा परिणत गरेका हुन् ।

निर्धारित ९० मिनेट गोलरहित बराबरी भए पनि इन्जुरी टाइममा आयुषले निर्णायक गोल गरे । गोलकर्ता आयुष प्लेयर अफ द म्याच पनि घोषित भए । उनले नगद ११ हजार पाए ।

जितपछि मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पहिलो हाफमा थुप्रै अवसर गुमाएका कारण दोस्रो हाफमा रणनीति परिवर्तन गरेर विपक्षीलाई दबाबमा राख्न सफल भएको बताए । ‘फिनिसिङ पक्ष हाम्रो सोचेजस्तो भएन । त्यसैले खेल लम्बिएर जितका लागि अतिरिक्त समयसम्म कुर्नुपर्यो,’ उनले भने । फाइनलमा विमल घर्तीमगरलाई ल्याउने प्रयास जारी रहेको उनले बताए ।

हारपछि सिक्किमका प्रशिक्षक कुन्जन भुटियाले खेलाडीहरुको फिनिसिङ पक्ष कमजोर भएका कारण सेमिफाइनलमा हार भएको बताए । ‘निर्धारित ९० मिनेटपछि थप गरिएको समयको अन्तिम एक मिनेट लेफसाइड कमजोर हुँदा गोल खानुपर्यो । त्यो हाम्रो कमजोरी पक्ष भयो,’ उनले भने, ‘अन्तिम समयमा आएर खेलाडीहरु सम्हालिन नसक्दा पराजय भोग्नुपर्यो ।’

विराट गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् ।

चर्चामा

सम्बन्धित समाचार