शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • काम खोज्दै फागुनमा विदेशिए साढे ६५ हजार नेपाली

काम खोज्दै फागुनमा विदेशिए साढे ६५ हजार नेपाली

  • शनिबार, चैत्र ३, २०८०
काम खोज्दै फागुनमा विदेशिए साढे ६५ हजार नेपाली

काठमाडौं– काम खोज्दै एक महिनामा साढे ६५ हजार नेपाली विदेशिएका छन् । वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

योसँगै चालु आर्थिक वर्ष (आव) २०८०/८१ आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ७१ हजार २ सय १० पुगेको छ । नेपालबाट हरेक दिन औसत २ हजार नेपाली काम खोज्दै विदेशिने गरेका छन् ।

फागुनमा काम खोज्दै विदेशिनेमध्ये ६ हजार ७ सय ६८ महिला छन् । पछिल्लो तीन महिनायता लगातार ६० हजारभन्दा माथिको संख्यामा नेपाली विदेशिएको तथ्यांकमा देखिन्छ ।

फागुन २०८० मा काम खोज्दै विदेशिने नेपाली अघिल्लो वर्ष सोही महिनाको तुलनामा केही बढी हो । अघिल्लो वर्ष फागुनमा ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए ।

तथ्यांक अनुसार यो वर्ष आठ महिनामा पौने ५ लाख नेपाली विदेशिएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने केही कम हो ।

अघिल्लो वर्ष आठ महिनामा ५ लाख ४० हजार ६ सय ७५ नेपाली विदेशिएका थिए । गत वर्ष काम खोज्दै विदेश जाने नेपालीको संख्याले रेकर्ड राखेको थियो ।

यो वर्ष युनाइटेड अरब इमिरेट्स (यूएई) मा नेपालीको अधिक आकर्षण देखिन्छ । फागुनमा मात्र १८ हजार ७ सय ७ श्रम स्वीकृति यूएईका लागि भएको छ ।

साउदी अरबमा १३ हजार २ सय ६७, कतार ११ हजार ३ सय ९० र मलेसियामा ८ हजार ४ सय १७ श्रम स्वीकृति जारी भएको तथ्यांकमा देखिएको छ ।

यो महिना कुवेतमा मात्र ३ हजार २ सय ६, जापान १ हजार ३ सय ६०, कोरिया ७ सय ३०, रोमानिया १ हजार ७ सय ८४, मौरिसस ८ सय ५९ र क्रोएसियामा ९ सय १५ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार