आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • फुटबल
  • भारतसँगको हारले नेपाल साफ यू-१६ महिला च्याम्पियनसिपको फाइनल पुग्न असफल

भारतसँगको हारले नेपाल साफ यू-१६ महिला च्याम्पियनसिपको फाइनल पुग्न असफल

  • बिहिबार, फाल्गुन २४, २०८०
भारतसँगको हारले नेपाल साफ यू-१६ महिला च्याम्पियनसिपको फाइनल पुग्न असफल

काठमाडौं— घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेलमा भारतसँग फराकिलो हार व्यहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा बिहीबार भएको खेलमा नेपाल भारतसँग १०-० ले पराजित भएको हो । पहिलो हाफमा ६ गोल गरेको भारतले दोस्रो हाफमा ४ गोल थप्यो ।

नेपाललाई हराएर दोस्रो जित हात पारेको भारतले फाइनलमा स्थान बनाएको छ र बंगलादेशसँग उपाधि भिडन्त पक्का गरेको छ । फाइनल आइतबार हुने छ ।

चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल ३ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमै बंगलादेशसँग पराजित भएको नेपालले त्यसपछि भुटानलाई हराएको थियो ।

३ खेल नै खेलिसकेको भारतले ६ अंक जोडेको छ । नेपाल र भारतको लागि आजको खेल अघोषित सेमिफाइनल जस्तै थियो । जित्ने टोली फाइनल पुग्ने अवस्था रहेकोले नेपाललाई जितको विकल्प थिएन ।

तर एन्फा कम्पलेक्स टर्फ मैदानमा भारतले सुरुदेखि नै नेपालमाथि दबाब बनाउँदै गोल गर्न सुरु गरेको थियो ।

दोस्रो मिनेटमै गोल गरेको भारतले एकपक्षीय रुपमा नेपालमाथि दबाब बनाउँदै लगेपछि नेपाली खेलाडी निरीह जस्तै देखिएका थिए । पहिलो हाफमा नेपालले भारतको पेनाल्टी बक्समा बल पुर्‍याउन नै संघर्ष गरेको थियो ।

दोस्रो मिनेटमै अनिता डुङडुङले गोल गरि भारतलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा पर्ल फर्नान्डेजले १४ र ४३ मिनेटमा गोल गरिन् ।

यस्तै अनुस्का कुमारीले २२, बोनफिलिअ सुल्लाईले २५ र गुरलिन कौरले ३२ मिनेटमा गोल गरिन् ।

दोस्रो हाफको सुरुमै नेपाली डिफेण्डर मिनमाया श्रेष्ठले आत्मघाती गोल गरिन् । ५८ मिनेटमा गुर्नाज कौरले गोल गरिन् । यस्तै गुरलिन कौरले ७७ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

७९ मिनेटमा रिहान्न लिज जाकोबले गोल गर्दै भारतको अग्रता १०-० बनाइन् ।

चर्चामा

सम्बन्धित समाचार