सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा खाद्य संस्थानमा चामल किन्नेको भिड, महिनामा एक दिन बितरण हुन्छ चामल

बाजुरा खाद्य संस्थानमा चामल किन्नेको भिड, महिनामा एक दिन बितरण हुन्छ चामल

  • आइतवार, फाल्गुन १३, २०८०
बाजुरा खाद्य संस्थानमा चामल किन्नेको भिड, महिनामा एक दिन बितरण हुन्छ चामल

बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा सस्तो मूल्य पर्ने मोटा चामल आउँन थालेपछि किन्नेको भिड लागेको छ । गत भदौ २४ गते सकिएको मोटा चामल नआउँदा महंगीको मारमा परेका बाजुराका नागरिक अहिले डिपोमा चामल आएपछी किन्नेको भिड लागेको हो । एक महिना अगाडी एक दिन बितरण गर्दा सकिएको चामल फेरी एक महिनापछी बितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुरा शाखाले जनाएको छ । ढुवानी अनुदानमा आउने चामल ठेकेदार कम्पनीले ढुवानीमा ढिलासुस्ती गर्दा चामल बितरणमा समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख उमेश भण्डारीले बताए । बजारको महंगीमा परेका सर्वसाधारण अहिले केहि सस्तो मोटा चामल आउँन थालेपछि किन्नेको ठुलो भिड लागेर चामल लिने गरेको उनले बताए ।
भदौ २४ मा सकिएको मोटा चामल करिब ७ महिनापछि आएपछि यँहाका स्थानिय तथा सदरमुकाममा अध्ययनरत् विद्यार्थीहरु चामल किन्नका लागि लाइन लाग्नुपरेको बताए । लामो समयपछि खाद्य संस्थानमा केहि मोटा चामल पुगेपनि किन्नेको भिड हुँदा केहिले बिचमै चामल सकिदाँ दिनभरि लाइनमा बसेर बेलुका रित्तै घर फर्किनुपर्ने बाध्यता रहेकाले थप चामल ल्याउनका लागि सरोकारवालाले ध्यान दिनुपर्ने बडिमालिका नगरपालिका ६ युवा सञ्जालका अध्यक्ष सागर विकले बताए । त्यस्तै खाद्य संस्थानमा कहिले काहँी आउँदा टाढाका नागरिकले थाहै नपाई चामल सकिने भएकाले आफू सधैँ बजारको चामल किन्नु पर्ने बाध्यता रहेकाले महंगीको मारमा परेको बडिमालिका ३ कि बैशागी सार्कीले गुनासो गरिन् ।
पहिलो चरणमा आएको २ सय क्विन्टल चामल दुई दिन बिक्री हुदैँ सकिएको थियो । त्यसपछि थप एक सय क्विन्टल चामल आएपनि जिल्लामा केहि विपद्जन्य अवस्थाका लागि स्टोर गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कार्यालयमा ताला लगाएको थियो । एक पटक ७० क्विन्टल र बिहिवार थप दुई सय क्विन्टल मोटा चामल आएपछि कार्यालयले वितरण सुरु गरेकोे खाद्यय व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख भण्डारीले बताए ।
अहिले १ सय २० क्विन्टल मसिनो र ३ सय ७० क्विन्टल मोटा चामल मध्ये आज करिब ३ सय क्विन्टल मोटा चामल बिक्री गरिने प्रमुख भण्डारीले बताए । बाँकी चामल जिल्लामा हुन सक्ने आपतकालिन अवस्थाका लागि राखिने उनले बताए । यस अघि कार्यालयले प्रति केजी ५४ रुपैँयामा बिक्री गर्दै आएको मोटा चामल यस पटक भने महंगोमा खरिद गर्नु परेकाले प्रति केजी ५९ रुपैँयामा बिक्री गर्नु परेको कार्यालयले जनाएको छ ।
थप मोटा चामल ल्याउनका लागि अहिले ठेक्का प्रक्रियामा रहेकोले पहल भइरहेको कार्यालय प्रमुख भण्डारीले बताए । मार्तडीमा सस्तो मूल्य पर्ने मोटा चामल आउँन थालेपनि कोल्टी बिक्री केन्द्रमा भने नपुग्दा त्याँहाका नागरिक महंगीको मारमा परेका छन् । कोल्टीमा केहि दिनअघि १ सय क्विन्टल मोटा चामल पुगेपनि बिक्री भएर सकिसकेको छ ।
कोल्टीमा सर्वसाधारणले सहजै किनेर खान नसक्ने १ सय बढि क्विन्टल जिरा चामल भएपनि निकै महंगो भन्दै नागरिकले किन्नै छोडेका छन् । सर्वसाधारण नागरिकले किनेर खान सक्ने मोटा चामल कोल्टीमा अहिलेसम्म नपुग्दा बजारमा महंगीको मारमा परेका छन ।
हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक बर्षको चामल असारमा सकिएको थियो भने स्वामीकार्तिक गाउँपालिकामा नयाँ स्थापना भएको मुक्तिकोट अस्थायी बिक्रि केन्द्रमा गत आर्थिक बर्षको ५ सय कुन्टल चामल गत जेठ महिनामै सकिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार