मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्दैनौं, समाधानपत्र दिन्छौं : रवि लामिछाने

ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्दैनौं, समाधानपत्र दिन्छौं : रवि लामिछाने

  • आइतवार, माघ २१, २०८०
ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्दैनौं, समाधानपत्र दिन्छौं : रवि लामिछाने

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विकास आयोजनामा दबाब अभियान सञ्चालन गरेपछि ती आयोजना निर्माण गर्ने उपायसहित समाधानपत्र सरकारलाई बुझाउने बताएका छन् ।

मेलम्चीबाट विकास आयोजनाहरुमा दबाब अभियान सुरु गर्दै उनले २१ विकास आयोजनामा पार्टीका सांसदको नेतृत्वमा दबाब अभियान सञ्चालन गर्ने र सरकारलाई समाधानपत्र बुझाउने बताएका छन् ।

दबाब यात्रामा पार्टीको भौतिक पूर्वाधार विकासका सदस्य र स्वतन्त्र विज्ञहरु पनि सहभागी हुने र अन्तिममा ती आयोजना कसरी निर्माण हुन सक्छ भन्ने विषयमा समाधान पत्र सरकारलाई बुझाउने लामिछानेको भनाइ छ । ‘ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्ने काम गर्दैनौं, समाधानपत्र दिन्छौं’, उनले भने ।

यसअघि धेरै नेता र सांसदले आयोजनाहरुको निरीक्षण गरेको र सरकारलाई ज्ञापन पत्र बुझाएको तर त्यसले आयोजना छिटो पूरा हुन कुनै भूमिका निर्वाह नगरेको लामिछानेले बताए ।

उनले विकास आयोजनाहरु तोकिएको लागत र समयमा पूरा हुनैपर्ने भन्दै के कारणले आयोजनाहरु पूरा हुन नसकेका हुन् त्यसको खोजी गरिने बताए ।

मेलम्ची आयोजनाको दबाब अभियानमा रास्वपा सभापति लामिछानेको नेतृत्वको टोली आइतबार नै सिन्धुपाल्चोकतर्फ जाँदैछ । उनीहरु गाग्रीसहित मेलम्चीको मुहानतर्फ जाँदैछन् । सभापति लामिछानेले मेलम्चीमा अहिलेसम्म ६२ अर्ब रुपैयाँ खर्च गर्दा पनि अझै काठमाडा‌ैंमा पानी आउने निश्चित नभएको बताए ।

२१ वटा आयोजनामा दबाब अभियान सञ्चालन गरेपछि देशका अन्य आयोजनाहरुमा पनि दबाब दिइने उनले बताए । त्यसका लागि आयोजना छान्न र दबाब अभियानका लागि तयार रहन लामिछानेले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

आफूहरुले अलपत्र परेका विकास आयोजनामा दबाब अभियान सञ्चालन गर्दा राजनीति र कुटनीतिक क्षेत्रको चासो देखिएको भन्दै लामिछानेले भने, ‘राजनीति कुटनीतिसँग केही सरोकार छैन, नेपाली जनता हिँड्ने बाटो राम्रो हुनुप¥यो, एउटा बाटोका लागि एक युग पर्खिन सकिँदैन ।’

चर्चामा

सम्बन्धित समाचार