मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • खुम्चिँदै वैदेशिक व्यापार : आयात ३ प्रतिशत र निर्यात ७ प्रतिशतले घट्यो

खुम्चिँदै वैदेशिक व्यापार : आयात ३ प्रतिशत र निर्यात ७ प्रतिशतले घट्यो

  • शुक्रबार, माघ ५, २०८०
खुम्चिँदै वैदेशिक व्यापार : आयात ३ प्रतिशत र निर्यात ७ प्रतिशतले घट्यो

काठमाडौँ — न्यून मागको दबाब झेलिरहेको अर्थतन्त्रले गति लिन नसक्दा आयातसँगै निर्यात व्यापार पनि खुम्चिँदै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको व्यापार तथ्यांकले पनि अर्थतन्त्रले गति लिन नसकेको पुष्टि गर्छ ।

विभागको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५ खर्ब १२ अर्ब रुपैयाँको आयात भएको छ । उक्त रकम आर्थिक वर्ष ०७९/८० को सोही अवधिको तुलनामा ३.७९ प्रतिशत कम हो । गत आर्थिक वर्षको ४ महिनामा ५ खर्ब ३२ अर्बको आयात भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो ४ महिनाको निर्यात व्यापार पनि ७.६८ प्रतिशतले घटेर ५० अर्ब ५६ करोड रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५४ अर्ब ७७ करोडको निर्यात भएको थियो । ५ महिनाको तथ्यांक विश्लेषण गर्दा आयात ३.३९ प्रतिशतले घटेर ६ खर्ब ४२ अर्ब २० करोडमा सीमित भएको छ । निर्यात व्यापार पनि ६.०९ प्रतिशतले घटेर ६३ अर्ब २० करोडमा झरेको छ ।

चालु आर्थिक वर्षको ६ महिनासम्म पनि आयात निर्यात व्यापार खुम्चिने क्रम रोकिएको छैन । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ७ खर्ब ९२ अर्ब ६६ करोडको आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँमा झरेको छ । अर्थात् आयात व्यापार ३.०९ प्रतिशतले घटेको छ । निर्यात व्यापार पनि ७.२३ प्रतिशतले घटेर ७४ अर्ब ९६ करोड रुपैयाँमा सीमित भएको छ । जबकि गत आर्थिक वर्ष ०७९/८० को पहिलो ६ महिनामा ८० अर्ब ८० करोडको निर्यात भएको थियो ।

‘समग्रमा अर्थतन्त्रमा समष्टिगत माग अझै भएन । अर्थतन्त्र न्यून मागको दबाबमा छ, यसको मतलब माग घटेको छ,’ नाम उल्लेख गर्न नचाहने एक पूर्वअर्थ सचिवले भने, ‘अर्थतन्त्रले अझै गति लिन सकेन ।’ अहिले अर्थतन्त्रमा संकुचन आएको छ । उत्पादनसँगै उपभोग क्षमता पनि घटेको छ । विगतको तुलनामा डिजेल, उत्पादनमा आधारित कच्चा पदार्थको आयात पनि घटेको देखिन्छ । उद्योग व्यवसाय पूर्ण रूपमा चल्न सकेका छैनन् । पूर्वाधार र विकास निर्माणका काममा पनि सुस्तता आएको उनको भनाइ छ ।

‘उद्योग र विकास निर्माणमा चाहिने वस्तुकै आयात घट्नु भनेको अर्थतन्त्रमा संकुचन देखिनु हो । पुँजीगत खर्च कम भएको छ । यसले विकास निर्माण कमजोर भएको पुष्टि हुन्छ,’ ती पूर्वअर्थ सचिवले भने, ‘अर्थतन्त्र चलायमान नहुँदा सेवा क्षेत्र पनि कमजोर भए । बैंकमा पैसा छ तर सर्वसाधारणले कर्जा लिएनन् । कर्जा घट्नु भनेको आयात घट्नु हो ।’

वस्तुको आयात घट्दा त्यो मौका छोपेर निर्यात बढाउन सक्नुपर्थ्यो । तर विडम्बना, त्यही बेला औद्योगिक उत्पादन पनि भएन । ‘निकासीको कुरा गर्दा पाम तेल र फलामे रड पहिलो नम्बरमै पर्छ । निकासी तलमाथि गर्ने यही वस्तु हो,’ उनले भने, ‘तर, अर्थतन्त्रले स्वाभाविक लय लिन सकेन ।’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पनि उपभोग घटेकै कारण आयात–निर्यात खुम्चिएको बताए । अर्थतन्त्र क्रमशः सुधार हुने दाबी गरे पनि आत्मविश्वास अझै बढ्न नसकेको उनको भनाइ छ । ‘पहिलो कुरा, सरकारले पुँजीगत खर्च बढाउनुपर्छ, भुक्तानी हुन बाँकी रकम पनि दिनुपर्छ,’ उनले भने, ‘बजारमा आत्मविश्वास भएन । अर्थतन्त्र सुधार हुनैपर्छ । बैंकको ब्याजदर घटेको छ, क्रमशः सुधार हुने विश्वास छ ।’ स्वदेशी वस्तु निर्यात बढाउन नीतिगत परिवर्तन आवश्यक रहेको उनले बताए । ‘सरकारले लगानी सम्मेलन आयोजना गरिरहँदा पुराना कानुन परिमार्जन गर्न जरुरी छ,’ उनले भने, ‘नीति परिवर्तनले पनि निर्यात बढाउन मद्दत गर्छ ।’

विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी ६६ अर्ब ४९ करोड रुपैयाँको डिजेल आयात भएको छ । गत वर्ष यही अवधिमा ७० अर्ब ११ करोडको आयात भएको थियो । पेट्रोल भने सामान्य वृद्धि भएको छ । गत वर्ष ६ महिनामा ३३ अर्ब ५४ करोडको आयात भएको पेट्रोल अहिले ३३ अर्ब ९२ करोडको भित्रिएको छ । २५ अर्ब ४६ करोडको ग्यास, २२ अर्ब ३६ करोडको एचआर सिट, १९ अर्ब ३७ करोडको शुद्ध फलाम, १८ अर्ब ७४ करोडको तयारी कपडा र १५ अर्ब ६७ करोड रुपैयाँको मोबाइल आयात भएको छ ।

सबैभन्दा बढी फलामे पाता ६ अर्ब १४ करोडको निर्यात भएको छ । गत वर्षको ६ महिनामा २ अर्ब ७८ करोडको निर्यात भएको थियो । प्रशोधित पाम तेल भने २ अर्ब ९० करोड रुपैयाँको निर्यात भएको छ । ६ महिनामा राजस्व संकलनमा सामान्य सुधार भएको छ ।

भन्सार विभागका अनुसार यस अवधिमा दुई खर्ब राजस्व संकलन भएको छ । गत वर्ष ६ महिनामा १ खर्ब ८८ अर्ब १६ करोड रुपैयाँ संकलन भएको थियो । भन्सार दरमा परिवर्तन, डलरको भाउमा वृद्धि, इलेक्ट्रिक सवारी दर परिवर्तनलगायत कारण राजस्व संकलन बढेको जानकार बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार