आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • क्रिकेट
  • प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको लगातार तेस्रो जित

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको लगातार तेस्रो जित

  • बिहिबार, माघ ४, २०८०
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको लगातार तेस्रो जित

तिलोत्तमा — सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ । भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई १ सय ८ रनको फराकिलो अन्तरले हराएको हो ।

सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो । यसअघि भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ५ विकेट तथा दोस्रो खेलमा कर्णालीलाई १ सय ३४ रनले हराएको थियो । गण्डकी भने यसअघि कर्णालीसँग ७ विकेट र लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो ।

बिहीबार सुदूरपश्चिमले दिएको २ सय २ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३० ओभर २ बलमा ९३ रनमा अल आउट भयो । सुरुआती ब्याटिङमा आएका खेलाडीले गण्डकीको इनिङ्स सम्हाल्न सकेनन् । आश्विनी राना र कमल परियारको ब्याटिङ प्रदर्शन पनि सन्तोषजनक रहेन । रानाले ६७ बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाए । ४९ बलको सामना गरेका कमल परियारले २२ रन बनाएर आउट भए । अन्य कुनैपनि ब्याटस्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्ल एक्लैले ५ विकेट लिए । मल्लले ८.२ ओभरमा १ मेडनसहित २३ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । उनी म्यान अफ द म्याच पनि घोषित भए । यस्तै, गजेन्द्र बोहराले २, भोज राज भट्ट, नरेन साउद र मिलन बोहराले समान १–१ विकेट हात पारे ।

त्यसअघि सिद्धार्थनगर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ५० ओभरमा अल आउट हुँदै २०१ रन बनाएको थियो । सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले अर्धशतीय इनिङ्स खेले । ७३ बलको सामना गरेका ठगुन्नाले ५ चौकासहित सर्वाधिक ६० रन बनाए । नारायण जोशी ५६ बलमा २ चौका र २ छक्कासहित ४६ रन बनाएर आउट भए भने शेर मल्लले १९ ररन जोडे । राजु रिजालले १६ तथा टेक रावत १५ रन बनाएर आउट भए ।

गण्डकीका विपिन खत्री र अंकित न्यौपानेले ३/३ तथा कमल परिया र अमृत गुरुङले समान २/२ विकेट लिए । यो जितसँगै सुदूरपश्चिम प्रदेश ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको नेपाल पुलिस क्लबको ४ अंक छ । पराजित गण्डकी प्रदेश अंकविहीन रहँदै तालिकाको नवौं स्थानमा छ ।

चर्चामा

सम्बन्धित समाचार