शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • भारतीय सुटरलाई छुटाइदिने भन्दै १६ लाख माग्ने युवक पक्राउ

भारतीय सुटरलाई छुटाइदिने भन्दै १६ लाख माग्ने युवक पक्राउ

  • सोमवार, माघ १, २०८०
भारतीय सुटरलाई छुटाइदिने भन्दै १६ लाख माग्ने युवक पक्राउ

बारा– बाराको कलैयामा झन्डै साढे दुई महिना अगाडि बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका भारतीय सुटरलाई छुटाइदिन्छु भनेर १६ लाख रुपैयाँ माग्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराकै महागढीमाई नगरपालिका वडा नम्बर १ का २३ वर्षीय श्यामबाबु साह रहेका छन्। उनलाई प्रहरीले शनिबार पक्राउ गरिएको बाराका उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार, साहले शिक्षक स्वर्णकारको हत्या आरोपमा पक्राउ परी कारागार चलानसमेत भइसकेका सुजितलाई अदालत र प्रहरीलाई मिलाएर छुटाई दिन्छु भनेर सुजितका बुबा जयमंगल सिंहसँग १६ लाख (भारु १० लाख) रुपैयाँ मागेका थिए। त्यसमध्ये साहले जयमंगलसँग १ लाख ९२ हजार (भारु १ लाख २० हजार) रुपैयाँ लिइसकेका थिए।

जयमंगलले नै दिएको जाहेरी दरखास्तको आधारमा साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए। पक्राउ गरिएका साहलाई ठगी तथा अपराधिक कृयाकलाप मुद्दामा बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको काफ्लेले जानकारी दिए।

शिक्षक स्वर्णकारको गोली हानी हत्या गर्ने समूहका मुख्य नाइकेका रूपमा रहेका सुजित सिंहलाई पुस १० गते भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट उनको खुट्टामा गोली हानेर पक्राउ गरेको थियो। स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका स्वर्णकारकी प्रेमिका राधा गुप्ता र सुटर सिंहसहित सात जनालाई बारा जिल्ला अदालतले पुस २५ गते नै पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो।

स्वर्णकार हत्या प्रकरणमा अदालतमा कुल ११ जनाविरुद्ध पुस १६ गते कर्तव्य ज्यान, संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दा दर्ता भएको थियो। पुस १७ गतेदेखि लगातार पेसीको क्रममा अदालतले पुस २५ गते सात जनालाई जेल चलान गर्ने आदेश दिएको हो।

हत्यामा संलग्नमध्येका भारत बिहारका मनोज गुप्ता, चञ्चल पाण्डे, रौतहटको मौलापुर नगरपालिका बस्ने विनोद राय यादव र विशालकुमार यादव भने अझै पक्राउ पर्न सकेका छैनन्। यी चार जना अनुसन्धानकै क्रमदेखि हालसम्म फरार रहँदै आएका छन्।

गत कात्तिक १३ गते कलैयामा दिउँसै गोली प्रहार गरी रुपेश स्वर्णकारको भारतीय सुटरहरुले हत्या गरी फरार भएका थिए। त्यही दिन प्रहरीले उनकी प्रेमिका भनिएकी राधासहित केहीलाई पक्राउ गरेको थियो। तर, मुख्य सुटर भनिएका भारत निवासी सुजित सिंह, चञ्चल पाण्डेसहित चार जना फरार भएका थिए।

चर्चामा

सम्बन्धित समाचार