बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजनीति
  • मन्त्रालयको संख्या घटाउनु पर्छ की जस्तो लागेको छ: गृहमन्त्री श्रेष्ठ

मन्त्रालयको संख्या घटाउनु पर्छ की जस्तो लागेको छ: गृहमन्त्री श्रेष्ठ

  • शनिबार, पुस २८, २०८०
मन्त्रालयको संख्या घटाउनु पर्छ की जस्तो लागेको छ: गृहमन्त्री श्रेष्ठ

काठमाडौं  —उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरुको संख्या घटाउनुपर्ने धारणा राखेका छन्। मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने अडान राख्दै उनले बरु त्यसलाई घटाउनुपर्छ जस्तो आफूलाई लागेको बताएका हुन्।

शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाऔं भन्ने माग सम्बोधन गर्न नमिल्ने बताए।

यो हस्तकला विकास मन्त्रालय नै बनाऔं भन्ने महासंघको माग सम्बोधन गर्न मिल्छ जस्तो आफूलाई नलागेको उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो। उनले हस्तकला सम्बन्धी छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले हस्तकला जस्तो तुलनात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तीव्रता दिन चाहेको जिकिर गरे। उनले सरकारले मुलुकको सुशासन र समृद्धिका लागि आफ्नो ध्यान केन्द्रित गरेको दोहोर्‍याए।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि ठूल्ठूलो उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था तत्कालका लागि नरहेकाले पनि सरकारले तुलनात्मक लाभका क्षेत्रहरुको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको उल्लेख गरे।

हस्तकला क्षेत्रको विकासका लागि सोसम्बन्धी विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेका उनको भनाइ थियो।

चर्चामा

सम्बन्धित समाचार