• होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेश सभामा भागबण्डा मिल्यो, कोको बन्दैछन् सभापति?

सुदूरपश्चिम प्रदेश सभामा भागबण्डा मिल्यो, कोको बन्दैछन् सभापति?

  • मङ्लबार, पुस २४, २०८०
सुदूरपश्चिम प्रदेश सभामा भागबण्डा मिल्यो, कोको बन्दैछन् सभापति?

धनगढी–  एक वर्षपछि बल्ल अहिले आएर सुदूरपश्चिम प्रदेश सभामा भागबण्डा मिलेको छ। प्रदेशसभाका विषयगत समितिले एक वर्षपछि नेतृत्व पाउने भएका छन्। प्रदेशसभा सचिवालयले विषयगत समितिका सभापति चयनका लागि सोमबारदेखि निर्वाचन प्रक्रिया अघि बढाएको छ। सचिवालयका अनुसार सोमबार (आज) सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र मंगलबार (भोलि) निर्वाचन हुनेछ।
प्रदेशसभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास गरेर चारवटा समिति छन्। तर सत्तारुढ गठबन्धनले एउटा विशेषाधिकार समिति थप गर्ने सहमति गरेको छ। सो सहमतिसँगै सत्तारुढ गठबन्धनमा भागबण्डा मिलेको छ।

प्रदेशसभा सञ्चालन नियमावलीमा व्यवस्था भएबमोजिम नै विशेषाधिकार समिति गठन गर्ने सहमति भएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले बताए। आइतबार मुख्यमन्त्री कमलबहादुर शाहसहितको छलफलमा नेपाली कांग्रेसले विधायन तथा प्रदेश मामिला समिति, नागरिक उन्मुक्ति पार्टीलाई प्राकृतिक स्रोत समिति, नेकपा–एकीकृत समाजवादी पार्टीलाई सामाजिक विकास समिति र प्रमुख प्रतिपक्षी दल एमालेलाई सार्वजनिक लेखा समिति दिने सहमति भएको कांग्रेसका प्रदेशसभा सदस्य मेघराज खड्काले बताए।

अब थपिने विशेषाधिकार समितिको सभापति भने माओवादी केन्द्रलाई दिने समझदारी बनेको छ। सोमबार चारवटा समितिको सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गरेर मंगलबार निर्वाचन हुनेछ भने केही समयपछि विशेषाधिकार समिति गठन गरिनेछ। यसअघि सत्तारुढ गठबन्धनमा भागबण्डा मिल्न नसक्दा प्रदेशसभाका विषयगत समितिको नेतृत्व ज्येष्ठ सदस्यले गर्दै आएका थिए।

नेपाली कांग्रेसले विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा प्रदेशसभा सदस्य दिवानसिंह बिष्ट, नागरिक उन्मुक्ति पार्टीले प्राकृतिक स्रोत समितिको सभापतिमा संसदीय दलका नेता घनश्याम चौधरी, एकिकृत समाजवादी पार्टीले सामाजिक विकास समितिको सभापतिमा माया पन्त र एमालेले लेखा समितिमा बीरबहादुर थापालाई सभापति बनाउने गरी नाम टुंग्याएका छन्। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार