बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बजेट दुरुपयोगको बेथिति अन्त्य हुँदैछ, ३ करोडभन्दा तलको आयोजना केन्द्रले अब हेर्दैन : अर्थमन्त्री महत

बजेट दुरुपयोगको बेथिति अन्त्य हुँदैछ, ३ करोडभन्दा तलको आयोजना केन्द्रले अब हेर्दैन : अर्थमन्त्री महत

  • मङ्लबार, पुस १०, २०८०
बजेट दुरुपयोगको बेथिति अन्त्य हुँदैछ, ३ करोडभन्दा तलको आयोजना केन्द्रले अब हेर्दैन : अर्थमन्त्री महत

काठमाडौं —अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन् ।

१७औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी नगर्ने निर्णय भएको छ ।’

अर्को वर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकेदारले दाबी गर्ने परम्पराको अन्त्य हुने उनले बताए ।

‘जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ । यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ’, अर्थमन्त्री महतले भने, ‘अर्थतन्त्रको आवश्यकताअनुसार, समयसापेक्ष मौद्रिक नीति हुनुपर्छ भनेर हामीले निरन्तर पहल गर्‍यौं । अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउँछ, ब्याजदर घटाउँछ, लगानी वृद्धि गर्छ ।’ अहिले आर्थिक सूचकहरु विस्तारै सकारात्मक हुँदै आएको उनको भनाइ छ ।

अहिलेसम्मकै बढी विदेशी पर्यटक आगमन भएको बताउँदै अर्थमन्त्री महतले भने, ‘आन्तरिक पर्यटक पनि बढेको छ । यसले सौराहको पर्यटन, व्यवसाय र रोजगारी वृद्धि हुनेछ । शेयर बजार उकालो लागेको छ । जग्गा कारोबारमा आएको शिथिलता पनि घट्दैछ । विदेशबाट आएको विप्रेषण पनि बढिरहेको छ ।’

उनले ब्याजदर कम हुँदै गएको, ऋणीलाई चैतसम्म भाका दिइएकाले उनीहरुलाई पनि राहत पुग्ने बताए । बैंकबाट कर्जा बढेको र मूल्यवृद्धि साढे ५ प्रतिशतमा झरेकाले व्यापारको लागत कम हुने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार