जाजरकोट — समयमै उचित व्यवस्थापन हुन नसक्दा अत्यधिक चिसोका कारण भूकम्पपीडित मारमा पर्न थालेका छन् । भूकम्पबाट जोगिएका २ जनाले चिसोका कारण ज्यान गुमाएका छन् । शुक्रबार नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।
गोपालबहादुर दमका बिरामी थिए भने पम्फाको निमोनियाका कारण मृत्यु भएको वडाध्यक्ष बद्री पन्तले बताए । ‘लहँ यसै पनि असोजबाटै तुसारो पर्ने चिसो बस्ती हो,’ उनले भने, ‘त्यसमा पनि एकसरो लुगाको भरमा त्रिपालमा रात काट्नुपर्दा वयोवृद्ध गोपालबहादुरको ज्यान गएको हो ।’ उनका अनुसार लहँ गाउँ समुद्र सतहदेखि झन्डै १५ सय मिटर उचाइमा पर्छ । मृतकका आफन्तसमेत रहेका स्थानीय अगुवा प्रेमबहादुर रावलका अनुसार दमका दीर्घरोगी गोपालबहादुरका चार छोरा नै मजदुरीका लागि भारत छन् । जेठा महेन्द्रको भने ६ वर्षदेखि अत्तोपत्तो छैन ।
‘एक्लै बस्दै आएका उनी भूकम्पले घर चर्किएपछि त्रिपालको ओत लागेर बस्दै आएका थिए,’ पन्तले भने । मृतकका अर्का आफन्त जयबहादुर रावलले थपे, ‘स्याहार गर्ने कोही थिएनन्, भूकम्प गएको भोलिपल्ट शनिबार राति उहाँले खुला आकाशमुनि रात बिताउनुभएछ, भोलिपल्ट म आफैं गएर बारीमा मकैका ढोडको छाप्रो हालेर बसालिदिएको थिएँ, हिजो कम्बल र त्रिपाल दिएर चौडा छाप्रो बनाइदिएका थियौं, छाप्रो त बन्यो तर उहाँ नै रहनुभएन ।’
माओवादीकी स्थानीय नेतृसमेत रहेकी पम्फा भूकम्पले घर भत्केपछि पार्टीकै निर्देशनमा राहत तथा उद्धारमा खटिरहेकी थिइन् । ‘भोकभोकै दिनभरिको धपेडी र रातभरिको चिसोले निमोनिया भएछ,’ वडाध्यक्ष पन्तले भने, ‘ज्वरो आएको दोस्रो दिनमै उहाँको निधन भयो ।’ उनका अनुसार रावलको परिवारलाई वडा कार्यालयमार्फत मंगलबार र बुधबार त्रिपाल दिइएको थियो । चिसोका कारण निमोनिया भएकी उनको दल्लीस्थित नगर अस्पतालमा मृत्यु भएको हो ।
वडाध्यक्ष पन्तका अनुसार वडा ४ मा ३ सय ७५ घरधुरीमध्ये झन्डै ३० ज्येष्ठ नागरिक दम, बाथरोग र मुटुरोगका बिरामी छन् । त्यस्तै वडामा ३० जना सुत्केरीलाई पनि चिसो कटाउन निकै सकस भएको उनको भनाइ छ । ‘बालबालिका पनि बिरामी भएका भयै छन्,’ उनले भने, ‘नजिकै नगर अस्पताल भएकाले उपचारमा ठूलो समस्या भने छैन ।’ एकसरो लुगाको भरमा रहेका भूकम्पपीडित चिसोका कारण बिरामी पर्ने दर पनि बढिरहेको छ । स्थानीय तहमार्फत प्रतिपरिवार वितरण गरिएको एक/एक थान त्रिपाल र कम्बलकै भर पर्नुपरेपछि अत्यधिक चिसो थेग्न नसक्दा रुघाखोकी, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या देखिन थालेको हो । चिसोका कारण दीर्घरोगीको स्वास्थ्य अवस्था झन् बिग्रिँदै गइरहेको छ ।
भेरी नगरपालिकाको रावतगाउँ, नलगाडको चिउरी, कालेगाउँलगायत ठाउँमा झन्डै ४ सय बिरामीको उपचार गरेर फर्किएका नेपालगन्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. श्याम विकका अनुसार भूकम्प गएको १/२ दिनदेखि नै बालबालिका र ज्येष्ठ नागरिकमा निमोनियाको लक्षण देखिन थालिसकेको थियो ।
‘चिसोका कारण फोक्सो र मुटुका बिरामीलाई बढी समस्या देखिएको थियो,’ झन्डै ४ दिन भूकम्प प्रभावित क्षेत्रमा उपचारमा खटिएर बुधबार फर्किएका उनले भने, ‘नियमित औषधि सेवनकर्ताको भूकम्पका कारण घरभित्रै औषधि पुरिएपछि कतिपय दीर्घरोगीले औषधि खान पाएनन्, जसले गर्दा पनि उनीहरूलाई छिटो चिसोले असर गर्यो ।’
नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले चिसोका कारण अधिकांश भूकम्पपीडितमा विभिन्न स्वास्थ्य समस्या देखिरहेको बताए । ‘अहिलेसम्म एउटा परिवारका लागि एउटा त्रिपाल र एउटा कम्बल मात्र दिन सकेका छौं, त्यसले रातभरि चुहिने शीत र सिरेठोको चिसोका कारण स्वास्थ्य समस्या बढिरहेको छ,’ उनले भने, ‘सबैजसो वडामा कम्तीमा १५/२० जना बिरामी भएका छन्, नगर अस्पतालमा पनि बिरामीको चाप उच्च छ ।’ नगर अस्पतालका डा. विशाल उप्रेतीले चिसोका कारण झाडापखाला, ज्वरो, रुघा, चिसोले मुटुरोगी, दमका बिरामी बढिरहेको बताए । उनका अनुसार अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जनासम्म बिरामी उपचारका लागि आइरहेका छन् ।
नगरप्रमुख रावतका अनुसार तिपतिपे–औल खानेपानी योजना, बाग्मारे–कल्लेरी खानेपानी, चतुलाइना–कोठीगाउँ खानेपानीलगायत झन्डै ५० योजनामा क्षति पुग्दा खानेपानीको समस्या पनि चुलिएको छ । स्थानीयहरू मुहानमै गएर र भेरी नदीको पानी खान बाध्य छन् । अधिकांश स्थानीयहरू शौचालय भत्किएपछि खुला शौच गर्न बाध्य छन् । ‘दूषित पानी र खुला शौचका कारण झाडापखालाको प्रकोप फैलिने जोखिम पनि छ,’ उनले भने, ‘सबैजसो गाउँहरूमा पशुचौपाया मरेका कारण दुर्गन्ध फैलिरहेको छ ।’
नगलाडमा भूकम्पले ४ हजार घर भत्किएका छन् भने करिब २ हजार १ सय घरमा क्षति पुगेको छ । त्यसमध्ये झन्डै ३ हजार परिवारलाई प्रतिपरिवार एक/एक थान त्रिपाल र कम्बल तथा एक बोरा चामल पहिलो चरणमा वितरण गरिएको नगरप्रमुख रावतले बताए ।कान्तिपुरबाट