शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • क्रिकेट
  • विश्वकपमा आज : दुई फरक लक्ष्य बोकेका न्युजिल्यान्ड र श्रीलंकाबिच भिडन्त

विश्वकपमा आज : दुई फरक लक्ष्य बोकेका न्युजिल्यान्ड र श्रीलंकाबिच भिडन्त

  • बिहिबार, कार्तिक २३, २०८०
विश्वकपमा आज : दुई फरक लक्ष्य बोकेका न्युजिल्यान्ड र श्रीलंकाबिच भिडन्त

काठमाडौँ —भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा बिहीबारदेखि नवौँ तथा अन्तिम चरणको खेल सुरु हुँदैछ । नवौँ चरणको पहिलो खेलमा बिहीबार सेमिफाइनलमा स्थान बनाउन संघर्षरत न्युजिल्यान्ड र च्याम्पियन्स ट्रफी खेल्ने लक्ष्य बोकेको श्रीलंकाबिच भिडन्त हुँदैछ ।

उक्त खेल बेगलौरस्थित एम. चिन्नास्वामी स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । न्युजिल्यान्ड यो खेलमा श्रीलंकालाई हराएर सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाउने धुनमा देखिन्छ । यो खेलमा श्रीलंकासँग पराजित भए साविक उपविजेता न्युजिल्यान्डको सेमिफाइनल यात्रा संकटमा पर्नेछ ।

आयोजक राष्ट्र भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया यसअघि नै जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । अब सेमिफाइनलमा पुग्ने एउटा टोलीको मात्र टुंगो लाग्न बाँकी छ । त्यो एक स्थानका लागि तीन राष्ट्रबिच कडा प्रतिस्पर्धा देखिएको छ ।
सेमिफाइनल पुग्न तीन टोलीबिच कडा प्रतिस्पर्धा

आठ खेलबाट आठ अंक बटुलेको न्युजिल्यान्ड तालिकाको चौथो स्थानमा छ । आठ खेलबाट आठ अंक नै जोडेको पाकिस्तान तालिकाको पाँचौँ र समान खेलबाट आठ अंक नै बटुलेको अफगानिस्तान छैठौँ स्थानमा छन् । यी तीनवटै टोली न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना कायम छ ।

तर, नेट रन रेटमा भने पाकिस्तान र अफगानिस्तानभन्दा न्युजिल्यान्ड निकै अगाडि छ । न्युजिल्यान्डको नेट रन रेट ०.३९८, पाकिस्तानको नेट रन रेट ०.०३६ र अफगानिस्तानको नेट रन रेट —०.३३८ रहेको छ । त्यसैले बिहीबारको खेलमा श्रीलंकालाई हराउन सके न्युजिल्यान्ड सेमिफाइनलमा पुग्ने सम्भावना बढी देखिन्छ ।

तर, बिहीबारको खेलमा न्युजिल्यान्डको टोली श्रीलंकासँग पराजित भए सेमिफाइनल समिकरण निकै रोमाञ्चक बन्नेछ । पाकिस्तान र अफगानिस्तानका लागि पनि अबको एक खेल जित्न सहज हुने छैन । पाकिस्तानले आफ्नो अन्तिम खेलमा साविक विजेता इङ्ल्यान्डको सामना गर्नुपर्नेछ ।

त्यो खेलमा इङ्ल्यान्ड पनि पाकिस्तानलाई हराउँदै सन् २०२५ मा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफीमा स्थान पक्का गर्ने धुनमा हुनेछ । जारी विश्वकपको अंक तालिकामा पहिलोदेखि सातौँ स्थानसम्म रहने टोलीले मात्र सन् २०२५ को च्याम्पियन्स ट्रफी खेल्न पाउने प्रावधान छ ।

हाल इङ्ल्यान्ड चार अंकसहित तालिकाको सातौँ स्थानमा छ । बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्सको पनि चार—चार अंक रहेकाले इङ्ल्यान्ड आफ्नो अन्तिम खेल जित्नै पर्ने दबाबमा रहने छ । त्यसैले इङ्ल्यान्डले आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई हराउन हरसम्भव प्रयास गर्नेछ ।

यसैगरी जारी विश्वकपमा एकपछि अर्को अप्रत्यासित नतिजा निकाल्दै आएको अफगानिस्तानले पनि आफ्नो अन्तिम खेल निकै बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकासँग खेल्नु पर्नेछ । त्यसैले अन्तिम खेल जित्न अफगानिस्तानका लागि पनि सहज हुने छैन ।

तथ्याङ्कले न्युजिल्यान्डलाई बलियो देखाउँछ

जारी विश्वकपको यसअघिको खेललाई हेर्दा श्रीलंकाली टोलीभन्दा न्युजिल्यान्ड निकै बलियो देखिन्छ । न्युजिल्यान्डले ब्याटिङ् बलिङ र फिल्डिङ सबै सन्तुलित देखिन्छ । यसको विपरित श्रीलंकालले भने यो विश्वकपमा खासै गतिलो प्रदर्शन गर्न सकिरहेको छैन ।

यसअघि यी दुई राष्ट्रबिच खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको तथ्याङ्कले पनि श्रीलंकाभन्दा न्युजिल्यान्डलाई नै केही बलियो देखाउँछ । हालसम्म यी दुई राष्ट्रबिच एक सय एकवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ ।

त्यसमध्ये ५१ खेलमा न्युजिल्यान्ड विजयी भएको छ भने ४१ खेलमा श्रीलंकाले सफलता हात पारेको देखिन्छ । यी दुई राष्ट्रबिचको आठवटा एकदिवसीय खेल अनिर्णित रुपमा सकिएको छ भने एउटा खेल बराबरीमा टुंगिएको छ ।

आफ्नो घरेलु मैदानमा खेलिएको ३० खेलमा न्युजिल्यान्डले श्रीलंकालाई हराएको छ । श्रीलंकाले भने घरेलु मैदानमा १७ वटा खेल जितेको छ । ६ वटा खेलमा न्युजिल्यान्डले श्रीलंकालाई उसैको घरेलु मैदानमा हराएको छ । श्रीलंकाले भने १२ वटा खेलमा न्युजिल्यान्डलाई उसैको घरेलु मैदानमा पराजयको स्वाद चखाएको छ ।

यसैगरी ‘न्यूट्रल भेन्यू’ मा खेलिएको १५ वटा खेलमा न्युजिल्यान्डले श्रीलंकालाई हराएको छ । श्रीलंकाले भने ‘न्यूट्रल भेन्यू’ मा खेलिएको १२ वटा खेलमा न्युजिल्यान्डलाई पराजित गरेको छ । यी दुई राष्ट्रबिच पछिल्लो पटक सन् २०२३ को मार्च ३१ मा एकदिवसीय खेल खेलिएको थियो । त्यो खेलमा न्युजिल्यान्ड ६ विकेटले विजयी भएको थियो । सोही क्रममा खेलिएको तीनवटा खेलको एकदिवसीय शृंखला पनि न्युजिल्यान्डले २—० ले जितेको थियो ।

यसअघिको विश्वकपमा श्रीलंका प्रभावशाली

आईसीसी एकदिवसीय विश्वकपमा हालसम्म न्युजिल्यान्ड र श्रीलंकाबिच कुल ११ वटा खेल खेलिएको छ । आईसीसी एकदिवसीय विश्वकपको तथ्याङले भने न्युजिल्यान्डभन्दा थोरै अन्तरले श्रीलंकालाई बलियो देखाउँछ ।
एकदिवसीय विश्वकपमा खेलिएको ६ खेलमा श्रीलंकाले न्युजिल्यान्डलाई हराएको छ । न्युजिल्यान्डले भने विश्वकपमा खेलिएको पाँचवटा खेलमा श्रीलंकालाई पराजित गरेको छ । विश्वकपमा श्रीलंकाविरुद्ध न्युजिल्यान्डले बनाएको हालसम्मको उच्च स्कोर तीन सय ३१ रन हो ।

न्युजिल्यान्डविरुद्ध श्रीलंकाले बनाएको उच्च स्कोर भने दुई सय ८९ रन हो । यी दुई टोलीबिच पछिल्लो पटक सन् २०१९ को विश्वकपमा खेल भएको थियो । त्यो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो ।

ब्याट्सम्यानलाई साथ दिने पिच

न्युजिल्यान्ड र श्रीलंकाबिचको खेल बेगलौरस्थित एम। चिन्नास्वामी स्टेडियममा खेलिने छ । यो स्टेडियमको पिच बलरहरुका लागि अभिश्राप मानिन्छ । यो स्टेडियमको पिचमा बलरमाथि ब्याट्सम्यानहरु पूणर्रुपमा हावी हुने गरेका छन् ।

तुलनात्मक रुपमा यो स्टेडियमको बाउन्ड्री पनि केही सानो छ । त्यसैले यो स्टेडियममा ब्याट्सम्यानले चौका र छक्का पनि निकै प्रहार गर्ने गरेका छन् । यो स्टेडियममा खेलिएको पछिल्लो १० खेलको तथ्याङ्कलाई हेर्दा पहिलो ब्याटिङ गर्ने टोलीले औसतमा तीन सय चार बनाएका छन् ।

यो स्टेडियममा पछिल्लो ब्याटिङ गर्ने टोलीले तीन सय ५० रनको लक्ष्य पनि सहजै पुरा गरेको तथ्याङ्कले देखाउँछ । यो स्टेडियमको पिचमा कुनै टोलीले टस जितेर ब्याटिङको निणर्य लिएमा त्यो टोलीको लक्ष्य तीन सय ५० भन्दा बढी रन बनाउनु हुनेछ ।

यो स्टेडियममा जवाफी ब्याटिङ गर्ने टोलीले ६० प्रतिशत खेल जितेको इतिहास छ । त्यसैले यो स्टेडियममा टस जित्ने टोलीले पहिले बलिङको निणर्य लिने सम्भावना प्रबल रहन्छ ।

फेरि वर्षाले पिरोल्न सक्छ न्युजिल्यान्डलाई

श्रीलंका र न्युजिल्यान्डबिचको खेल वर्षाका कारण प्रभावित हुने सम्भावना पनि देखिएको छ । यसअघि यही स्टेडियममा पाकिस्तानविरुद्ध निकै विशाल स्कोर बनाएर पनि वर्षाका कारण न्युजिल्यान्डले खराब नतिजाको सामना गर्नु परेको थियो । बिहीबारको खेलमा पनि वर्षाको सम्भावना देखिएको मौसम विज्ञान विभागले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार