सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • जाजरकोट भूकम्प : मृतक प्रतिपरिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय

जाजरकोट भूकम्प : मृतक प्रतिपरिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय

  • आइतवार, कार्तिक १९, २०८०
जाजरकोट भूकम्प : मृतक प्रतिपरिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय

काठमाडौं — मन्त्रिपरिषद बैठकले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार बैठकले कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्य सम्पर्कस्थल र बाँकेको नेपालगञ्जलाई सहायक सम्पर्कस्थल बनाएर खोज, उद्धार र राहत सम्बन्धी काम एकद्वार प्रणालीबाट गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

भूकम्पबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय पनि बैठकले गरेको छ । अस्थायी आवासभित्र खाने कुराहरु पनि पर्ने मन्त्री शर्माले जानकारी दिइन् ।

छिमेकी लगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिक रुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने तथा त्यस्तो सहयोगका लागि नेपाल सरकारबाट धन्यवाद ज्ञापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्नेहरुलाई धन्यवाद दिँदै सहयोगका लागि अपिल गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

भूकम्पबाट क्षति भएका सडक, सन्चार लगायतका संरचना तत्काल मर्मत सम्भार गरी सन्चालनमा ल्याउने व्यवस्था सम्बन्धित निकायले गर्ने निर्णय गरेको छ । पुनर्निर्माणमा एकीकृत कार्ययोजना बनाई व्यवस्थित गर्ने निर्णय पनि नेपाल सरकार मन्त्रिपरिषद बैठकले गरेको छ ।

भूकम्प पश्चात खोज, उद्धार र राहतमा खटिएका सरकारी निकाय, स्थानीय तह, प्रदेश सरकार, व्यक्ति एवम् संघसंस्थालाई विशेष धन्यवाद दिँदै जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी त्यसलाई निरन्तरता दिन आग्रह गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार