शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • क्रिकेट
  • टी–२० विश्वकप छनोट : सिंगापुरद्वारा नेपाललाई १ सय ४६ रनको लक्ष्य

टी–२० विश्वकप छनोट : सिंगापुरद्वारा नेपाललाई १ सय ४६ रनको लक्ष्य

  • सोमवार, कार्तिक १३, २०८०
टी–२० विश्वकप छनोट : सिंगापुरद्वारा नेपाललाई १ सय ४६ रनको लक्ष्य

काठमाडौँ– सन् २०२४ को टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा सिंगापुरले नेपालसामू १ सय ४६ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनायो ।

सिंगापुरका रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए । यस्तै, आर्यवीर चौधरीले ३७, मानप्रित सिंहले २४ तथा यक्ष पुरीले १३ रन जोडे ।

नेपालका करण केसीले तीन तथा सन्दीप लामिछाने, गुल्शन झा र अभिनाश बोहराले दुई–दुई विकेट लिए ।

आजको खेलमा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा रहँदा सिंगापुर पनि जित निकाल्ने योजनाका साथ मैदानमा उत्रिएको छ ।

नेपालले आयोजना गरेको टी–२० विश्वकपको एसिया छनोटका खेलहरू त्रिवि मैदानका साथै मूलपानी क्रिकेट मैदानमा हुनेछन् । समूह चरणमा नेपालले सबै खेल कीर्तिपुर मैदानमा खेल्नेछ ।

कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । नेपालले दोस्रो खेल भोलि मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

चर्चामा

सम्बन्धित समाचार