आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • स्टोक्सले बनाए कीर्तिमानी १८२ रन, इंग्ल्याण्ड १८१ रनले विजयी

स्टोक्सले बनाए कीर्तिमानी १८२ रन, इंग्ल्याण्ड १८१ रनले विजयी

  • बिहिबार, भदौ २८, २०८०
स्टोक्सले बनाए कीर्तिमानी १८२ रन, इंग्ल्याण्ड १८१ रनले विजयी

काठमाडौं  — बेन स्टोक्सले कीर्तिमानी १८२ रन बनाएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई १८१ रनले पराजित गर्दै चार खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।

स्टोक्सले इंग्ल्याण्डका लागि ओडीआईमा एकै खेलमा सर्वाधिक रन बनाउने नयाँ कीर्तिमान बनाएका हुन् । उनले यसअघि ज्यासन रोएको नाममा रहेको १८० रनको कीर्तिमान तोडे ।

चौथो नम्बरमा ब्याटिङ गरेका स्टोक्सले १८२ रन बनाएपछि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ४८.१ ओभरमा सबै विकेट गुमाएर ३६८ रन बनाएको थियो । १२४ बल खेलेका स्टोक्सले १५ चौका र ९ छक्का प्रहार गरे । १३-२ को अवस्थामा स्टोक्सले डेविड मालानसँग १९९ रनको साजेदारी गरेका थिए ।

शतकबाट चार रनले चुकेका मालानले ९५ बलमा ९६ रन बनाए । कप्तान जोस बटलरले ३८ रन जोडे ।

न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ५ तथा बेन लिस्टरले ३ विकेट लिए ।

३६९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डल ३९ ओभरमा सबै विकेट गुमाएर १८७ रनमै अलआउट भयो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७२ रन बनाए । ७६ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । रचिन रभिन्द्रले २८ र डारेल मिचेलले १७ रन जोडे ।

बलिङमा इंग्ल्याण्डका क्रिस वोक्स र लिएम लिभिङ्स्टोनले तीन/तीन तथा रिस टोपलेले दुई विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार