सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाचार
  • कर्मचारी छनोटमा अनियमितता भएको भन्दै बझाङ छबिसपाथीभेरा गाउपालिकामा तालाबन्दी

कर्मचारी छनोटमा अनियमितता भएको भन्दै बझाङ छबिसपाथीभेरा गाउपालिकामा तालाबन्दी

  • सोमवार, साउन २२, २०८०
कर्मचारी छनोटमा अनियमितता भएको भन्दै बझाङ छबिसपाथीभेरा गाउपालिकामा तालाबन्दी

अर्थ जङ्ग शाही/बझाङ– प्राविधिक शिक्षा पढाउने एक विद्यालयको कर्मचारी छनोटको क्रममा अनियमितता भएको भन्दै बझाङको छविस पाथीभेरा गाउँपालिकामा तालाबन्दी गरिएको छ ।

स्थानीय बान्नीचौर साधारण तथा प्राविधिक विद्यालयमा सिभिल इन्जिनियरिङ ल्याव असिस्टेन्ट कर्मचारीमा कागजात नपुगेको उम्मेदवारलाई छनोट गरिएको भन्दै असन्तुष्ट पक्षले तालाबन्दी गरेको हो । तीन वर्षदेखि रिक्त रहेको उक्त पदमा २०७९ जेठ ३१ विज्ञापन गरिएको भए पनि २०८० साउन १८ गतेमात्रै परीक्षा भएको थियो ।

तीन जना उम्मेदवारको दरखास्त परेकोमा स्थानीय विमल जोशीलाई छनोट गरिएपछि असन्तुष्ट पक्षले पालिकामा नाराबाजीसहित आइतबार तालाबन्दी गरेका हुन् ।

गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले भने कर्मचारी छनोटमा कुनै अनियमितता नभएको भन्दै आफ्नो उम्मेदवार छनोट नभएको झोकमा पालिकामा तालाबन्दी गरिएको बताए ।

‘मैले बुझ्दा कर्मचारी छनोट प्रक्रिया नियमसंगत नै छ । त्यहाँ कुनै अनियमितता भएको छैन, ‘अध्यक्ष चलाउनेले भने, ‘आफूले चाहेको मान्छे छनोट भएन भन्दै एउटा समूहले पालिकामा ताला लगाउने काम गरेको छ । यो राम्रो होइन ।’

उनले छनोट भएका उम्मेदवार र असफल उम्मेदवार एउटै विद्यालयमा पढेर सँगै उत्तीर्ण भएको जनाउँदै उम्मेदवारको योग्यताका प्रमाण परीक्षा समितिसँग रहेको दाबी गरे । अराजक समूहले पालिकामा लगाएको ताला तोड्नका लागि आफुले प्रहरीलाई जानकारी गराइसकेको उनको भनाइ छ ।

‘विज्ञापन भएको एक वर्षसम्म कर्मचारी छनोट नगरेर अहिले रातारात आफ्ना मान्छेलाई भर्ना गरिएको छ । छनोट भएको व्यक्तिसँग तोकिएको योग्यता पुग्ने डकुमेन्ट पनि छैन, ‘स्थानीय हिक्मत बोहराले भने, ‘पहिला पनि यस्तो भएको छ । हरेक ठाउँमा योग्यता नहेरी आफ्ना मान्छेमात्रै भर्ना गर्न थालेपछि हामीले तालाबन्दी गर्न बाध्य भएका हौं ।’

चर्चामा

सम्बन्धित समाचार