बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • विचित्र संसार
  • अष्ट्रेलियाको तटमा खसेको धातुको भीमकाय डल्लो के भारतीय रकेटको हो ?

अष्ट्रेलियाको तटमा खसेको धातुको भीमकाय डल्लो के भारतीय रकेटको हो ?

  • सोमवार, साउन ८, २०८०
अष्ट्रेलियाको तटमा खसेको धातुको भीमकाय डल्लो के भारतीय रकेटको हो ?

अष्ट्रेलियाको सामुद्रिक किनारामा हालै एउटा ठूलो आकारको धातुको डल्लो वस्तु फेला पर्‍यो । उक्त वस्तु के हो र कहाँबाट आयो भन्ने बारेमा प्रश्न उठिरहँदा त्यो हालै भारतले प्रक्षेपण गरेको रकेटको टुक्रा पनि हुनसक्ने अड्कलबाजी भैरहेको छ ।

यसैबीच भारतको अन्तरिक्ष कार्यक्रमका प्रमुखले चाहिं सो धातुका विषयमा कुनै रहस्य नरहेको भन्दै उक्त वस्तु भारतीय रकेटको हुन पनि सक्ने र नहुन पनि सक्ने बताएका छन् ।

बीबीसीसँगको कुराकानीमा भारतीय अन्तरिक्ष कार्यक्रम इसरोका प्रमुख एस सोमनाथले भनेका छन् – यसको परीक्षण नगरेसम्म यो हाम्रो हो वा होइन भनेर पुष्टि गर्न सकिंदैन ।

यहीँ सप्ताहन्तमा यो वस्तु पर्थभन्दा २५० किलोमिटर उत्तरमा अवस्थित ग्रीन हेड तटीय क्षेत्रमा फेला परेको थियो । त्यसबेला देखिनै यसका विषयमा अनेक खालका अनुमानहरु भैरहेका छन् ।

कतिपयले यो धातुको टुक्रा भारतको चन्द्रयान अभियानसँग सम्बन्धित रहेको पनि दाबी गरेका छन् । तर इसरो प्रमुखले भने यस्तो दाबीलाई खारेज गरिदिएका छन् ।

उक्त बेलनाकार वस्तु करिब अढाई मिटर चौडा तथा तीन मिटर लामो छ । समुद्रमा यो वस्तु देखिएसँगै त्यसलाई हेर्न जानेहरुको भीड नै लागेको छ ।

यो वस्तुलाई सुरुमा त बेपत्ता मलेसियाली विमान एमएच ३७० को अवशेष भन्ने ठानिएको थियो । सन् २०१४ मा यो विमान २३९ जना यात्रुसहित बेपत्ता भएको थियो ।

तर विज्ञहरुले यो टुक्रा कुनै व्यवसायिक जहाजको हिस्सा नभएको र सम्भवतः विगतमा कुनै समयमा हिन्द महासागरमा खसेको कुनै रकेटको टुक्रा हुनसक्ने बताएका छन् ।

अष्ट्रेलियाली अन्तरक्ष एजेन्सीले पनि यो कुनै विदेशी स्पेस लञ्च भेहिकल अर्थात् रकेटबाट खसेको हुनसक्ने बताएको छ ।

अष्ट्रेलियाली अन्तरिक्ष एजेन्सीको उत्त भनाइपछि उक्त टुक्रा भारतीय चन्द्रयान ३ को पिएसएलबी रकेटको इन्धन ट्यांक हुनसक्ने लख काट्न थालियो ।

भारतीय अन्तरिक्ष संस्था इसरोले नियमित रुपमा पोलार स्याटेलाइट लञ्च भेहिकल्स अर्थात् पिएसएलबीको प्रयोग गर्ने गर्दछ । चन्द्रयानको प्रक्षेपणमा पनि पीएसएलबी रकेटकै प्रयोग गरिएको थियो ।

तर विज्ञहरुले उक्त वस्तु महिनौंसम्म पानीभित्र रहेको र बल्ल तटमा आएको हुँदा त्यो चन्द्रयान ३ को रकेट हुन नसक्ने बताएका छन् । जुन तस्वीर सार्वजनिक भएको छ त्यसले पनि यो भनाइलाई बल पुर्‍याउँछ ।

इसरो प्रमुख सोमनाथले पनि उक्त वस्तु कुनै रकेटको हिस्सा हो भन्नेमा दुईमत नरहेको बताउँदै भनेका छन्- यो पीएसएलबीको हिस्सा हुनसक्छ वा अरु कुनै रकेटको । जबसम्म हामीले यसलाई हेर्दैनौं र यसको परीक्षण गर्दैनौं तबसम्म यसको पुष्टि गर्न सकिंदैन ।

अष्ट्रेलियाको प्रशासनले भने अहिलेसम्म यसको बारेमा कुनै थप जानकारी सार्वजनिक गरेको छैन । इसरो प्रमुखले उक्त वस्तु लामो समयसम्म समुद्रमा तैरिएको र अन्ततः अष्ट्रेलियाको तटमा पुगेको हुनसक्ने बताएका छन् ।

साथै उक्त धातुको टुक्राबाट कुनै खतरा नरहेको पनि उनले बताएका छन् । उता अष्ट्रेलियाका अधिकारीहरुले भने यस वस्तुलाई खतरनाक नै मानेको र पुलिसहरुले आम मानिसलाई सो वस्तुबाट टाढै रहन भनेको बताएका छन् । त्यसमा विषालु पदार्थ पनि हुनसक्ने कतिपय विज्ञहरुले आशंका गरेका छन् ।

बीबीसीबाट

चर्चामा

सम्बन्धित समाचार