मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • समाचार
  • ११ महिनामा सडक दुर्घटनामा २२ सयको मृत्यु

११ महिनामा सडक दुर्घटनामा २२ सयको मृत्यु

  • शुक्रबार, असार ८, २०८०
११ महिनामा सडक दुर्घटनामा २२ सयको मृत्यु

दूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंह चढेको जिप मंगलबार बझाङको केदारस्युँ गाउँपालिका–१ स्थित नयाँगाउँमा दुर्घटना भयो । दुर्घटनामा परेर मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भयो । मन्त्री सिंहको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जिप दुर्घटना हुँदा चालक धर्मराज जोशी र मन्त्रीका निजी सुरक्षा अधिकृत दिपेन्द्र भण्डारी घाइते छन् ।

शुक्रबार बिहानमात्रै पनि गोरखाको शहिद लखन गाउँपालिकामा पनि बिहेको टिकाटालो गरेर फर्किँदै गरेकाहरु सवार गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । तथ्यांकले सडक दुर्घटनाको दर दैनिक बढिरहेको देखिन्छ । आर्थिक वर्ष २०७८÷०७९ मा देशभर ३९ हजार ३ सय ७९ वटा सवारी–साधन
२०७९ साउनपछि अहिलेसम्म ३४ हजार १० वटा दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार साउन भन्दा पछि २ हजार २ सय ४ जनाले ज्यान गुमाएका छन् । ५ हजार १६५ जना गम्भीर घाइते भएका छन् ।
सडक दुर्घटनाको मात्रा पछिल्लो ३ वर्षको तुलनामा घटेको छैन । दुर्घटनाबाट अत्यासलाग्दो जन धनको क्षति भएको छ । तर, दुर्घटना न्यूनीकरणमा कुनै प्रयास भएको छैन । सडक सुरक्षासम्बन्धी जानकार आशिष गजुरेलका अनुसार सडक संरचना नै असुरक्षित भएकाले नेपालमा दुर्घटना बढेको हो ।‘स्थानीय तहले बनाएको सडकमा ईन्जिनियरिङ्ग मापदण्ड पालना भएको छैन,’ आशिष गजुरेलले रातोपाटीसँग भने–‘१ लाख किलोमिटर सडकमध्ये २५ हजार किलोमिटर सडक मात्रै सडक विभागले बनाएको छ ।’

सार्वजनिक सवारीको यान्त्रिक परीक्षण नहुँदा पनि दुर्घटना दैनिक बढ्दै छ । ‘पुराना गाडी निर्वाध चलिरहेका छन्,’ सडक सुरक्षासम्बन्धी जानकार गजुरेलले भने–‘त्यसले दुर्घटना बढाएको छ ।’प्रहरी प्रधान कार्यालयको रेकर्डअनुसार जिप, कार र मोटरसाइकल सबैभन्दा धेरै दुर्घटनामा पर्ने गरेका छन् । सार्वजनिक सवारी पनि उत्तिकै दुर्घटनामा पर्छन् । वर्षात्को समयमा दुर्घटनाको ग्राफ वर्षैनी बढ्छ । गजुरेल भन्छन्–‘पानी परेपछि सडक चिप्लो हुन्छ अनि ब्रेक लगाउँदा पनि चिप्लिएर दुर्घटना हुन्छ ।’

सवारी दुर्घटनाबारे जानकार पूर्व ट्राफिक इन्स्पेक्टर सिताराम हाछेथु गाडी दुर्घटना भएको एक साता हल्लाखल्ला गरेपछि बिर्सने संस्कार भएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै हाछेथुले भने–‘सडक दुर्घटनामा बिर्सने संस्कार छ । चालकलाई सचेतना कार्यक्रम नचलाउँदा वर्षेनी दुर्घटना बढ्दो छ ।’चालकमा ‘ट्राफिक नियम पालना गर्नुपर्छ’ भन्ने भावना विकास गराउन नसक्दा दुर्घटना न्यून हुन नसकेको बताउँछन् पूर्व ट्राफिक इन्स्पेक्टर हाछेथु । भन्छन्–‘मेरो पछाडि यत्तिका मान्छे छन्, भन्ने कुरा चालकले बिर्सन्छन् । चालकले पैसा मात्रै सोचेर स्टेरिङ समाउँदा दुर्घटना न्यून हुन सकेको छैन ।’

सवारी दुर्घटना र ट्राफिक व्यवस्थापनको जिम्मेवार निकाय नहुँदा दुर्घटना कम हुन सकेको छैन । अब, सवारी दुर्घटना र ट्राफिक व्यवस्थापनको जिम्मा स्थानीय निकायले लिनुपर्ने बताउँछन् हाछेथु । उनी भन्छन्–‘स्थानीय तह सक्रिय भएमा मात्र दुर्घटना न्यून गर्न सकिन्छ । सडकको खाल्डो पुर्ने र ट्राफिक नियम पालना गराउने दायित्व स्थानीय निकायले लिनुपर्छ ।’

न्यूनीकरण कसरी गर्ने ?
ठूला दुर्घटना भएपछि जाँचबुझ आयोग गठन गर्ने र प्रतिवेदन बुझेर घर्रामा थन्क्याएर बस्ने सरकारी शैली नयाँ होइन । तत्काल उद्दार संयन्त्र नहुँदा पनि दुर्घटनाको कारण हुने मृत्युदर बढ्दो छ । वर्तमान अवस्थामा सवारी प्रयोगकर्ता आफैं सचेत भएमा दुर्घटना कम हुने जानकारहरु बताउँछन् ।

सडक प्रयोगकर्ता अनुशासित नभएको सडक सुरक्षासम्बन्धी जानकार गजुरेलको जिकिर छ । उनी भन्छन्–‘प्रयोगकर्ता अनुशासित हुने हो भने सुरक्षाको तह बढ्छ ।’

सडकको स्तरोन्नति गरेर तथा ब्यारियर राखेर पनि दुर्घटना न्यून गर्न सकिन्छ । आशिष गजुरेल भन्छन्–‘मुख्य कुरा सडक सुरक्षाबारे जनचेतना बढाउनु जरुरी छ ।’ राताेपाटी बाट

चर्चामा

सम्बन्धित समाचार