सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथको नीति तथा कार्यक्रम : प्रविधिबाट खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान

जगन्नाथको नीति तथा कार्यक्रम : प्रविधिबाट खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान

  • मङ्लबार, असार ५, २०८०
जगन्नाथको नीति तथा कार्यक्रम : प्रविधिबाट खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान

बाजुरा– जगन्नाथ गाउँपालिकाले आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालिकाले आगामी वर्ष गर्ने काम र योजना सहीतको ७२ बुँदाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिकाको १३ औं बैठक मार्फत पालिका अध्यक्ष कालीबहादुर शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पालिकाका तर्फबाट गएको साउन देखि सञ्चालन गरेका गतिविधी र उपलब्धी पनि सोही अवसरमा सार्वजनिक गरेको छ । पालिकाले ७ वटा नयाँ कार्यविधी पनि पारित गरेको छ ।
गाउँपालिकाले यो वर्ष कृषि उत्पादन र भौतिक पूर्वाधार विकासलाई नै पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बहादुर शाहीले बताएका छन् । आगामी असार १० गते हुने गाउँ सभामा प्रस्तुत हुने कार्यक्रमलाई आधार बनाएर बार्षिक नीति तथा कार्यक्रम ल्याएको अधिकृत शाहीको भनाई छ ।

पालिकाले प्रविधिबाट खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान सहयोग गर्ने नीति अघि सारेको छ । परम्परागत कृषि खेती प्रणालीले समय खर्च हुने र उत्पादन श्रम अनुसार गर्न नसकिने भएकोले पालिका भित्र कृषि खेतीलाई प्रविधिसँग जोड्ने गरी अनुदान कार्यक्रम ल्याएको हो ।

एक घर, एक करेसा बारी कार्यक्रमलाई यो वर्षपनि निरन्तरता दिएको छ भने फलफूल र दलहन बालीलाई प्राथमिकतामा राखेको छ । कृषकहरुलाई बीउ बिजन अनुदान दिने, स्याउ कागती ओखर, लगायतका बालीलाई पकेट क्षेत्रका रुपमा विकास गर्ने र उन्नत जातको उत्पादनका लागि कृत्रिम गर्भाधान तथा नश्ल सुधारको कार्यक्रम गर्ने नीति लिएको छ ।

पालिकाले यो वर्ष अध्यक्ष रोजगार कार्यक्रम पनि ल्याएको छ । पालिका भित्रका ६ वटा वडाका ३ सय जना युवालाई काम दिने गरि ५० दिनको अध्यक्ष रोजगार कार्यक्रम सुरु गर्ने नीति लिएको छ । १२० जना प्रधानमन्त्री रोजगारबाट समेटीने र बाँकी रहेका ३ सयलाई अध्यक्ष रोजगारबाट काम लगाएर पालिकाको भौतिक पूर्वाधार विकासमा योगदान गराउने लक्ष्य पालिकाले लिएको छ ।

जगन्नाथ गाउँपालिकाले यो वर्ष कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार, जगन्नाथ गाउँपालिकाको विकासको मुल आधार भन्ने नारा तय गरेको छ । पालिकाले कृषि, पर्यटन र जडीबुटी र जलश्रोतमा लगानी बढाउने नीति लिएको उपाध्यक्ष मरुकला विष्टले बताएकी छन् ।

पालिकाले कक्षा ११ र १२ मा पढ्न विद्यार्थीका लागि कुनै प्रकारको भर्ना वा अन्य कुनै शुल्क नलिने, मावि तहका लागि थप शिक्षकको व्यवस्था गर्ने र गाउँ स्वयम सेवक शिक्षक बढाउने नीति लिएको छ । दक्षयुवा जनशक्ति उत्पादन गर्न युवाहरुका लागि सिप मुलक तालिम सञ्चालन गर्ने र त्यसका लागि पछिल्लो समय बजारमा माग भएका कामलाई ध्यानमा राखेर तालिम दिने नीति लिएको छ । खाली ठाउँमा वृक्षारोपण गरिने छ । हराबरा पालिका बनाउने लक्ष्यलाई निरन्तरता दिएको छ ।

स्वास्य संस्था, विद्यालय र वडा कार्यालयमा इन्टरनेट जडान र प्रविधि मैत्री सेवा दिने गरि व्यवस्थापन गर्ने र वडा केन्द्रसम्म पुग्ने सडकको स्तरोन्नती र सुधारका लागि पनि बजेट बढाउने नीतिमा उल्लेख गरेको छ । पालिकाले प्राकृतिक विपदमा परेका व्यवसाय वा अन्य कुनै लाभ ग्राहीलाई १० प्रतिशत अनुदान सहायत दिने नीति लिएको छ । पालिका भित्रका मुक्त हलिया, विपन्न परिवार, दलित, खलिया, अपांग, असहायक र अशक्तहरुलाई कानुनी उपचारका लागि निशुल्क कानुनी सहायता दिने नीति अघि सारेको छ ।

स्वच्छ खानेपानी पीउने अधिकारको ग्यारेन्टी गरिने र पालिका भित्र हरेक तीन महिनामा बिशषेज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । अध्यक्ष कालीबहादुर शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई पालिकाले विगतको भन्दा केही नयाँ र परिस्कृत विकासको दस्तावेजका रुपमा लिएको छ ।

गाँउपालिका भित्रका सामुदायिक विद्यालयलाई प्रविधीमैत्री बनाउने उद्धेश्यले नियमित रुपमा कम्पुटर,फोटोकपी,सोलारर इन्टरनेट संञ्चालनका लागि विद्युतको पहुँच नभएको स्थानमा सोलारको व्यवस्था गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार