सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश १
  • कोशीबाहेक छ प्रदेशको बजेट आज सार्वजनिक गरिँदै

कोशीबाहेक छ प्रदेशको बजेट आज सार्वजनिक गरिँदै

  • शुक्रबार, असार १, २०८०
कोशीबाहेक छ प्रदेशको बजेट आज सार्वजनिक गरिँदै

काठमाडौँ– कोशी प्रदेशबाहेक देशका ६ वटा प्रदेश सरकारले आर्थिक वर्ष ०८०–०८१ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरूले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । कोशी प्रदेशमा भने संसद् अधिवेशन अन्त्य गरिएकोले हिजो नै अध्यादेशमार्फत बजेट ल्याइएको छ ।

संविधानतः सङ्घ सरकारले जेठ १५ मा र प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्ने व्यवस्था छ । यहीअनुरूप प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । प्रदेश सरकारहरूले आ–आफ्नो प्रदेशअनुरूप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा परेका छन् ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हिजो पत्रकार सम्मेलन गर्दै अध्यादेश मार्फत ल्याएको आर्थिक वर्ष २०८०-८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिसकेका छन् । रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ ल्याइएको बजेटमा कृषि क्षेत्रका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको मुख्यमन्त्री कार्कीले बताए । उद्योगतर्फ ४३ करोड, भौतिक पूर्वाधारतर्फ ११ अर्ब ४१ करोड २६ लाख, खानेपानी, सिँचाइ तथा ऊर्जातर्फ ५ अर्ब ४३ करोड ८३ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै, स्वास्थ्यतर्फ ३ अर्ब ७ करोड २७ लाख, सामाजिक विकासतर्फ १ अर्ब ७९ करोड ३३ लाख, श्रम तथा रोजगार, भूमि व्यवस्था, वन, वन्यजन्तु तथा जैविक विविधता, पर्यटन लगायत क्षेत्रमा लोकप्रिय तथा प्रचारात्मक कार्यक्रम तथा योजनामा बजेट विनियोजन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार