बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • प्रदेश ७
  • दुहुँ सरकारको हर्कतः एकै विज्ञापनको दुई नतिजा

दुहुँ सरकारको हर्कतः एकै विज्ञापनको दुई नतिजा

  • सोमवार, बैशाख १८, २०८०
दुहुँ सरकारको हर्कतः एकै विज्ञापनको दुई नतिजा

दार्चुला– दुहुँ गाउँपालिकाले एकै विज्ञापनको नतिजा दुई चोटी प्रकाशन गरेको छ । गाउँपालिकाले २०७९ साउन २५ गते सूचना प्रकाशन गर्दैै गाउँपालिका कार्यालय र मातहतका कार्यालयको लागि करार सेवामा विज्ञापन खोलेको थियो । ०६÷२०७९÷०८० को विज्ञापन अनुसार कार्यालय सहयोगी पदपूर्तिका लागि माघ १८ गते अन्तरवार्ता लिइएको थियो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भूपेन्द्र सिंह बडालले लिनुभएको अन्तरवार्तामा ६ जना उम्मेदवार सफल र तीन जना उम्मेदवार वैकल्पिक सूचिमा परेका थिए । त्यसको नतिजा फागुन २१ गते सार्वजनिक गरिएको थियो ।

जसअनुसार विरेन्द्र सिंह महर, बिरेन्द्र सिंह बडाल, गणेश दत्त भट्ट, श्रीमती अमरा बम, हरिश कार्की र पदम राज भट्ट सफल भए भने दिपेन्द्र बहादुर बम, कृष्ण दत्त जोशी र पदम सिंह बडाल वैकल्पिकमा परे । फागुन १८ गते दुहुँ गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा नर बहादुर ठगुन्ना हाजिर भए ।

बडाललाई पदपूर्ति समिति संयोजकको जिम्मेवारीमा राखियो । त्यसपछि पहिले प्रकाशित नतिजामा केहि फेरबदल गर्दै पुनः सोही विज्ञापनको नतिजा सार्वजनिक गर्ने सुरसार भयो । दुहुँ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बीरसिंह धामीका अनुसार फागुन २८ गते बसेको गाउँकार्यपालिका बैठकले पुरानो नतिजा बैधानिक नभएकाले नयाँ नतिजा प्रकाशन गर्नुपर्ने निर्णय भएबमोजिम सोही विज्ञापनको नतिजा पुनः प्रकाशित गरिएको बताए ।

भूपेन्द्र सिंह बडाल प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा नरहेका बेला नतिजा सार्वजनिक गरिएकाले नयाँ प्रमुख प्रशासकीय अधिृकतले नै नतिजा सार्वजनिक गर्नुपर्ने कार्यपालिका बैठकबाट निर्णय भएकाले सोही अनुसार सार्वजनिक गरिएको धामीले बताए ।

उक्त अन्तरवार्ताको अन्तिम नतिजा २०८० बैशाख ११ गते फेरबदल गर्दै प्रकाशित भएको छ । अहिले सार्वजनिक गरिएको नतिजामा पहिले सफल भएका उम्मेदवार गणेश दत्त भट्ट वैकल्पिकमा झारिएका छन् भने वैकल्पिकमा परेका दिलेन्द्र बहादुर बम र कृष्ण दत्त जोशीलाई अहिले सफल उम्मेदवार बनाइएको छ ।
बैशाख ११ गते प्रकाशित गरिएको अन्तिम नतिजामा सुरेन्द्र सिंह महर, दिपेन्द्र बहादुर बम, बिरेन्द्र सिंह बडाल, पदमराज भट्ट, कृष्णदत्त जोशी, लालदेव जोशी सफल भएका छन भने खगेन्द्र सिंह डडाल, सुरज सिंह बडाल र गणेश दत्त भट्ट वैकल्पिकमा परेका छन् ।

आफू निकटलाई नियुक्त गर्न नतिजा फेरबदल गरिएको स्थानीयहरुले आरोप लगाएका छन् । यसरी पुरानो नतिजा उल्टाएर नयाँ नतिजा सार्वजनिक गरिएको भन्दै पालिकाको आलोचनासमेत भइरहेको छ । साथै पुरानो विज्ञापन रद्ध नै नगरी सोही विज्ञापनबाटै नतिजा प्रकाशन गरिनुमा बैधानिकता खोजिएको छ ।

चर्चामा

सम्बन्धित समाचार