मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बैंकहरुले ९ महिनामा कमाए ४८ अर्ब ७० करोड, कुन बैंकको नाफा कति ?

बैंकहरुले ९ महिनामा कमाए ४८ अर्ब ७० करोड, कुन बैंकको नाफा कति ?

  • बिहिबार, बैशाख ७, २०८०
बैंकहरुले ९ महिनामा कमाए ४८ अर्ब ७० करोड, कुन बैंकको नाफा कति ?

२१ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । बैंकहरुले यस अवधिमा कुल ४८ अर्ब ७० करोड ४९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्ष सोही अवधिमा बैंकहरुले ४३ अर्ब ६१ करोड ३८ लाख ३१ हजार रुपैयाँ बराबर नाफा कमाएका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुले ११.६७ प्रतिशतले बढी नाफा कमाएका हुन् ।

आर्थिक वर्ष सुरु भएसँगै बढेको तीब्र आर्थिक संकटका बीच पनि बैंकहरुको यस्तो लोभलाग्दो नाफा आर्जन गर्नुले केही समय यता उद्योगी व्यवसायीले लगाउँदै आएका आरोपलाई केही हदसम्म पुष्टि गरेको मान्न सकिन्छ । ब्याजदर बढाएर बैंकहरुले मात्र नाफा कमाउन खोजेको आरोप उद्योगी व्यवसायीहरुले लगाउँदै आएका छन् ।

२१ वटा वाणिज्य बैंकमध्ये एक तिहाई अर्थात् ७ वटा बैंकको मात्र रिजल्ट नेगेटिभ आएको छ । बाँकी १४ वटा बैंकको नाफा आकर्षक नै देखिन्छ । यद्यपि, वित्तीय रिपोर्ट घाटामा देखिएका बैंकहरुले पनि नाफालाई खराब कर्जा व्यवस्थापन (प्रोभिजनिङ) गर्नुपर्दा ‘माइनस’मा देखिन गएको हो ।

३० अर्ब ८६ करोड रुपैयाँ प्रोभिजनिङ

पछिल्लो समय खराब कर्जाको दर तीब्र रुपमा बढेसँगै बैंकहरु त्रसित छन् । चालु आर्थिक वर्षको ९ महिनासम्म बैंकहरुको खराब कर्जाको दर बढेर औसत २.४९ प्रतिशत पुगेको छ । यो दर अझ बढ्न सक्ने अनुमान छ । यसैले पूर्वतयारी स्वरुप बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमै ३० अर्ब ८६ करोड रुपैयाँभन्दा बढी रकम वित्तीय व्यवस्थापन (प्रोभिजनिङ) गरेका छन् ।

अघिल्लो वर्षको चैत मसान्तसम्म जम्मा ७ अर्ब रुपैयाँ बराबरमात्र प्रोभिजनिङ गरेकामा यस वर्ष बैंकहरुले २३ अर्ब ८६ करोड रुपैयाँले जोखिम व्यवस्थापन गर्नुपरेको हो ।

तथ्याङ्क अनुसार ५ अर्बभन्दा बढी नाफा आर्जन गर्ने नबिल बैंकले समेत यस वर्षका लागि ३ अर्ब ३३ करोड १७ लाख १२ हजार रुपैयाँ प्रोभिजनिङ गरेको छ । अघिल्लो वर्षको चैत मसान्तसम्म जम्मा ६ अर्ब १० करोड ५ लाख १२ हजार रुपैयाँ प्रोभिजनिङ गरेको बैंकले यस वर्ष ४४.५७ प्रतिशतले बढी रकम छुट्याउनु परेको हो ।

अघिल्लो वर्ष जम्मा १.१४ प्रतिशत रहेको बैंकको खराब कर्जाको दर (एनपीएल) यस वर्ष ३.८७ प्रतिशत पुगेको छ ।

यस्तै, अधिक नाफा आर्जन गर्ने शीर्ष ५ बैंकमध्येको ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनएनबी बैंकको समेत खराब कर्जाको दर बढेर झण्डै ४ प्रतिशत हाराहारी पुगिसकेको छ । यद्यपि, एनआईसी एसिया बैंकको खराब कर्जाको दर भने घटेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल कर्जा लगानीको ३.९६ प्रतिशत एनपीएल पुगेको ग्लोबल आईएमई बैंकले नाफाबाट २ अर्ब ७१ करोड ७ लाख ७३ हजार रुपैयाँ प्रोभिजनिङ गरेको छ भने ३.८८ प्रतिशत एनपीएल रहेको राष्ट्रिय वाणिज्य बैंकले यस पटक १ अर्ब ३१ करोड ८९ लाख ५२ हजार रुपैयाँ प्रोभिजनिङ गरेको छ ।

खराब कर्जाको रिस्क जोन (अधिकतम सीमा नजिक) मा पुगेका हिमालय बैंक (४.५६ प्रतिशत), कृषि विकास बैंक (४.३५ प्रतिशत, नेपाल बैंक (४.१६ प्रतिशत) ले आर्थिक वर्षको तेस्रो त्रैमासमा जोखिम व्यवस्थापनका लागि क्रमशः २ अर्ब ४५ करोड ५१ लाख, २ अर्ब ११ करोड ६६ लाख र १ अर्ब ४८ करोड ५० लाख रुपैयाँ प्रोभिजनिङ गरेका छन् । कुल कर्जा लगानीको ५ प्रतिशतभन्दा बढी खराब कर्जा (एनपीएल) पुग्ने बैंकहरुलाई जोखिमपूर्ण मान्ने गरिन्छ ।

बैंकहरुको खराब कर्जाको दर बढ्दैगर्दा धितोपत्र बजारमा बैंकिङ क्षेत्रप्रति आम लगानीकर्ताको वितृष्णा बढ्न सक्ने खतरा उत्तिकै बढेर गएको छ ।

कुन बैंकले कति नाफा कमाए ?

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वाणिज्य बैंकहरुको नाफा/नोक्सान (रु.००० मा)

Capture

                                                                                                                                            राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार