शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जनताको काममा अवरोध गर्ने र बदनाम गराउने षड्यन्त्र हाे : जगन्नाथ गाउँपालिका

जनताको काममा अवरोध गर्ने र बदनाम गराउने षड्यन्त्र हाे : जगन्नाथ गाउँपालिका

  • शनिबार, चैत्र १८, २०७९
जनताको काममा अवरोध गर्ने र बदनाम गराउने षड्यन्त्र हाे : जगन्नाथ गाउँपालिका

बाजुरा — जगन्नाथ गाउँपालिकाले जनताको पक्षमा काम गर्न नदिएर षड्यन्त्र सुरु गरिएको जनाएकाे छ । तीन वटा राजनीतिक दलले दिएको २७ बुँदे ध्यानाकर्षण पत्रको जवाफ दिन आयोजित पत्रकार सम्मेलन मार्फत पालिकाले आरोपको खण्डन गरेको हो ।

दलका नाममा केही स्वार्थी समूहले तथ्यहिन आरोप र रिस पोखेको पाइयो, तथ्य र प्रमाण विना नै गरिएको प्रहारले कुनै अर्थ नराख्ने पालिका प्रवक्ता गणेशराज गिरीले बताएका छन् । २७ बुँदा मध्ये केही सुझाव र सल्लाहपनि छन्, तर अधिकांश झुट, र भ्रमका पुलिन्दा लेखिएकोले आफै लज्जित भएर फर्किनु परेको पालिकाले बताएको छ ।
पत्र बुझाउने पार्टीका नेताहरुसँग पालिकाले छलफल गरिसकेको र प्रक्रिया विपरित केही काम गरिएको भए प्रमाण सहीत ल्याउन पालिकाले चुनौति दिएको छ । ध्यानाकर्षण पत्र बुझाउनेहरुलाई आरोप पुष्टी गर्न चुनौति दिएका छौं, तर उहाँहरुले समन्वय नहुँदा आक्रोश पोखेको हो, सबैलाई समेटेर लिए विरोध गर्ने ठाउँ नै छैन्, भनेर फर्किनु भएकाे हाे, पत्रकार सम्मेलनमा प्रवक्ता गणेशराज गिरीले प्रष्ट पारेका छन् । सबै बुँदाको लिखित जवाफ दिएको  लोकप्रियता सहन नसकेपछि रोइलो गर्न सुरु गरिएको बताएका छन् ।

काम गर्न सामान्य कमी कमजोरी होला, तर सबै गलत नै कोही कसैबाट पनि हुदैन नि, त्यसैमा जगन्नाथमा सबै दलका नेताहरुलाई राखेर योजना छनोट गरिएको छ, प्रधानमन्त्री रोजगारमा बजेट कम हुँदा सबैलाई समेट्न थप १० जना एक वडामा पालिकाको तर्फबाट थपिएको छ, फेरि पनि विरोध यो विकास रोक्ने र गराउने षड्यन्त्र बाहेक केही होइन्, यो हुन दिन्नौं, अध्यक्ष शाहीले बताए ।

व्यक्तिगत लाभ नहुने अवस्था आएपछि पालिकाको बद्नाम गर्न खोजिएको हो । उपभोक्ता समितिमा बस्न नपाएका र योजनामा हालीमुहाली गर्न नपाएका समूहले गलत प्रचार बाजि गरेको पालिकाले जनाएकाे छ ।

हिजो मात्र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तर्फबाट पालिका स्तरीय कमिटीले २७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए । कर्मचारी नियुक्ती देखि योजना छनोट र बाँडफाँडमा एकलौटी र व्यक्ति केन्द्रीत गरिएको आरोप सहीतको पत्र पालिकामा बुझाएपछि गाउँपालिकाले पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा र वास्तविकता सार्वजनिक गरेको हो ।

तीन दलले बुझाएको ज्ञापन पत्रमा सबैभन्दा बढी कर्मचारीमा आफन्त मात्रै राखिएको आरोप थियो । पत्रमा उल्लेख भए अनुसार पालिकाका इन्जिनियर विनोद शाही अध्यक्ष कालीबहादुर शाहीका छोरा हुन् । २०७४ सालदेखि स्वामिकात्र्तिक खापर गाउँपालिकाले लिएको परीक्षामा नाम निकालेका शाही जगन्नाथमा खाली भएपछि मात्रै प्रक्रिया पुरा गरेर आएका हुन् ।

पालिकाले विज्ञापन गरेको कोटामा नाम निकालेर स्टाफ नर्समा नियुक्ती लिएकी छोरी बियान्का शाहीले केही महिना पहिला नै जागिर छोडीसकेको अवस्था छ । यस्तै भतिजि सिर्जना शाहीलाई आईटी अफिसरमा कार्यरत रहेको भनिएपनि गएको असार मै जागिर छोडिसकेकी छन् ।

पालिकामा आइटी इन्जिनियर अर्को नभएपछि तत्कालिन अवस्थामा शाहीको एकल उम्मेदवारी परेपछि नियुक्ती दिइएको थियो । गौमुल र स्वामिकात्र्तिक खापर गाउँपालिकामा कार्यरत लेखापाल दिलिप शाही नाता पर्ने भएपनि उहाँ स्थायी कर्मचारी हुन् ।

मित छोरा भनिएका लक्ष्मण जोशी पालिकाका रोजगार संयोजक हुन् । जोशी सरकारले लिएको परीक्षामा नै पास भएर २०७५ सालबाट नै कार्यरत छन् । स्टोर प्रमुख राजेन्द्र जोशी पनि प्रशासन तर्फका एक्ला स्थायी जागिरे हुन् । स्थायी दरबन्दीमा कार्यरत राजेन्द्र जोशीलाई समेत अध्यक्षका आफन्त भनेर बद्नाम गरिएको छ ।

पालिकाका सबै वडामा सचिव अपुग भएपछि स्थानीय दरबन्दीमा कार्यरत स्वास्थ्य शाखामा कार्यरत पूर्णादेवी शाहीलाई जिम्मेवारी दिइएको थियो । शाही स्थानीय तह कार्यान्वयन नहुनु पहिला देखि नै जगन्नाथ गाउँपालिका क्षेत्रमा कार्यरत थिइन् । यी आरोपित विषयलाई हेर्दा बद्नाम गराउने नियत मात्रै देखिएको पालिकाले दाबी गरेको छ ।

अध्यक्ष शाहीले दुर्गम क्षेत्रमा पनि त्यो अवस्थाको विकास निर्माणको अवस्थामा सुधार ल्याउने काम गरेकोले जनतामा सन्तुष्टी भएर पनि केही स्वार्थी मानसिकता भएकाहरुले मिथ्या आरोप मात्रै लगाएको बताएका छन् ।

गठबन्धनबाट जितेका जगन्नाथ २ का वडा अध्यक्षले पनि आफूलाई कुनै सल्लाह नगरि ध्यानाकर्षण बुझाए बताउँदै, आरोप लगाएजस्तो कुनै गलत नभएको पत्रकार सम्मेलनमै स्वीकार गरेका छन् ।

वडा कार्यालय भवन बनेको, विद्यालय र स्वास्थ्य चौकीका भवन निर्माण भएको, सबै वडामा कच्ची भएपनि सडक सञ्जाल जोडिएको, पालिकामा १० शैयाको अस्पताल निर्माण सकिन लागेको जनताका कामहरु सहज र सुलभ हुन लागेको अवस्था देखेर रिस बढेपछि जनताको काम रोक्न खोजिएको दाबी पालिकाको छ ।

पालिकाको भवन लगाउने गरि स्टमेट तयार पारिएको पुरानो जमिन बाढीले बगाएको र नयाँका लागि जमिन नै एकीन नभएकोले पालिका कार्यालय मात्रै निर्माणमा ढिलाई भएकोपालिकाले बताएको छ । पालिकामै एमबिबिएस डाक्टर नियुक्त गरिएको, विद्यालयमा इहाजिरी सुरुवाद गरिएकोले जनताले अपवाद बाहेक असन्तुष्टी पोख्ने कारण नै नरहेको पालिकाले बताएको छ ।

पालिकाले उपभोक्ता समितिमा बस्न नपाएको, योजनामा मनोमानी गर्न नपाएको, व्यक्तिगत योजना नदिएको जस्ता विषय ल्याएर विरोध गर्नेहरुकै विषयमा धेरै कुरा सार्वजनिक गर्नु पर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिएको छ । पत्रकार सम्मेलन पछि केही व्यक्तिहरुले सामाजिक सञ्जालमा भने अर्थहिन टिकाटिप्पोणी सुरु गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार