बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कैलालीका ५ क्याम्पसमा अनेरास्ववियु र ३ मा क्रान्तिकारीको नेतृत्व, नेविसंघ शून्य

कैलालीका ५ क्याम्पसमा अनेरास्ववियु र ३ मा क्रान्तिकारीको नेतृत्व, नेविसंघ शून्य

  • सोमवार, चैत्र ६, २०७९
कैलालीका ५ क्याम्पसमा अनेरास्ववियु र ३ मा क्रान्तिकारीको नेतृत्व, नेविसंघ शून्य

धनगडी– कैलालीमा आइतबार स्ववियु निर्वाचन भएका त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त ९ मध्ये ८ क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने घोडाघोडी बहुमुखी क्याम्पसमा गणना जारी छ ।

सार्वजनिक मतपरिणामअनुसार कैलालीका ५ क्याम्पसको स्ववियु नेतृत्वमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र ३ क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी) का उम्मेदवार विजयी भएका छन् । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पस, मसुरियाको चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, लम्कीचुहाको लम्की बहुमुखी क्याम्पस र बुलबुले बहुमुखी क्याम्पसको स्ववियु नेतृत्व अनेरास्ववियुले जितेको हो ।

ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुका कुबेर खड्का दोब्बर मतान्तरले विजयी भएका छन् । खड्काले ८१४ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेविसंघका मशेहराज जोशीले ४२९ मत पाएका छन् । सचिवमा अनेरास्ववियुकै दीपेन्द्र भट्ट विजयी भएका छन् ।

मसुरियाको खप्तड बहुमुखी क्याम्पसमा अनेरास्ववियुका पुष्करराज अवस्थी ११७ मतसहित विजयी भएका छन् भने बुलबुले बहुमुखी क्याम्पसमा अनेरास्ववियुकै पुष्पा खाती विजयी भएकी छन् । नेविसंघका कुशल भुललाई पराजित गर्दै खाती विजयी भएकी हुन् । खातीले ५२ मत प्राप्त गर्दै जित हात पार्दा भुलले ४९ मत प्राप्त गरेका हुन् ।

चौमाला बहुमुखी क्याम्पसमा हरेन्द्र बुढा १६१ मतसहित विजयी भएका छन् । सत्तारुढ दल निकट संयुक्त प्यानलका नवराज साउदले १२७ मत पाए । लम्की बहुमुखी क्याम्पसमा कल्पना तिमिल्सना विजयी भएकी छन् । तिमिल्सिनाले १६२ मत ल्याएर विजयी हुँदा नेवि संघका भावेस उपाध्यायले १०८ मत पाएका छन् ।

अनेरास्ववियु क्रान्तिकारीले कैलालीको सुखडमा रहेको राष्ट्रिय कलेज, मोहन्याल बहुमुखी क्याम्पस र जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा जितेको प्रदेश कमिटि प्रमुख सचिव डम्बर भट्टराईले जानकारी दिए ।

उनका अनुसार सुखडको राष्ट्रिय कलेजमा सुन्दर गौतम १५३ मतसहित विजयी भएका छन् । गौतमका प्रतिद्वन्द्वी नेविसंघका कर्णबिर कठायतले १११ मत प्राप्त गरेका छन् । मोहन्याल बहुमुखी क्याम्पसमा २५ मतसहित अर्जुन खत्री विजयी भए । उनका प्रतिद्धन्द्धी नेविसंघका वीरेन्द्र भण्डारीले २४ मत पाएका छन् ।

रघुनाथ बहुमुखी क्याम्पसमा विप्लव निटक क्रान्तिकारी र नाउपाको विद्यार्थी संगठनको संयुक्त प्यानललाई पराजित गर्दै क्रान्तिकारीकी विनिता चौधरी विजयी भएकी छन् ।

मतगणना जारी रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुका प्रेम बोगटीले अग्रता रहेको छ । उनलाई क्रान्तिकारीकै बागी उम्मेदवार गणेश चौधरीले पछ्याइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार