• होमपेज
  • प्रदेश ७
  • महाकाली करिडोर : चुनावमा चर्चा धेरै, काम थोरै

महाकाली करिडोर : चुनावमा चर्चा धेरै, काम थोरै

  • शनिबार, माघ २८, २०७९
महाकाली करिडोर : चुनावमा चर्चा धेरै, काम थोरै

कञ्चनपुर — कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर जोड्ने महाकाली करिडोरले निर्वाचनका बेला निकै चर्चा पाउँछ । कञ्चनपुरलाई त्रिदेशीय नाका बनाएर दोधारा चाँदनी हुँदै टिंकर जोड्ने सडक निर्माण राजनीतिक दलका एजेन्डा बन्ने गर्छन् । निर्वाचनको परिणामसँगै महाकाली करिडोरको चर्चा पनि सेलाउँछ ।

दार्चुलादेखि कञ्चनपुरसम्म महाकाली किनारका बस्तीलाई सडक सञ्जालसँग जोड्न डेढ दशकअघि काम सुरु भएको थियो । उक्त आयोजनाको काम निकै सुस्त भइरहेको छ । हालसम्म ट्र्याक खोल्ने काम पनि सकिएको छैन ।

ब्रह्मदेवदेखि दार्चुलाको तिखारपानीसम्म ३३४ किलोमिटर सडक निर्माणको काम महाकाली करिडोर सडक परियोजनाले गरिरहेको छ । तिखारपानीदेखि टिंकरसम्म ९१ किलोमिटर सडकको ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । ३३४ किलोमिटरमध्ये हालसम्म २१५ किलोमिटरमा ट्र्याक खोलिएको छ । अझै ११९ किलोमिटरमा ट्र्याक खोल्न बाँकी छ । केही स्थानमा कालोपत्रेका लागि ठेक्का भए पनि काम सुरु हुन सकेको छैन ।

अहिले पनि धेरै ठाउँमा रूख कटानीको आदेश नपाएका कारण ट्र्याक खोल्न ढिलाइ भएको हो । कञ्चनपुरमा पर्ने ११ किलोमिटर सडकमा रूख कटानीको आदेश आएको छैन । उक्त सडक खण्डमा १९ सय ५१ रूख काट्नुपर्ने हुन्छ । महाकाली करिडोर सडक परियोजनाका अनुसार डडेलधुरामा १० हजार ४७६ रूख काट्नुपर्ने भए पनि २५ सय मात्रै काटिएको छ ।

यस्तै, बैतडीमा ४ हजार ५९६ रूख कटानीको आदेश भरखरै प्राप्त भएको छ । अहिले रूख कटानीको काम सुरु भएको परियोजना प्रमुख लक्ष्मणदत्त जोशीले बताए । उनका अनुसार दार्चुलामा पनि २ हजार ४३ रूखको कटानी आदेश प्राप्त भएको छ । ‘धेरै ठाउँमा रूख कटानीको आदेश नआएका कारण ट्र्याक खोल्ने काम पनि सुरु हुन सकेको छैन,’ परियोजना प्रमुख जोशीले भने, ‘ट्र्याक खुलेकामध्ये केही ठाउँमा कालोपत्रेका लागि ठेक्का सम्झौता पनि भएको छ ।’ उनले रूख कटानीको आदेश पाए आउँदो आर्थिक वर्षभित्र ट्र्याक खोल्ने काम सकिने बताए ।

परियोजना कार्यालयका अनुसार अहिले ४ स्थानमा ३८ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको छ । परियोजना प्रमुख जोशीका अनुसार चार वटा प्याकेजअन्तर्गत असारमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको हो । डडेलधुराको परशुराम नगरपालिकामा पर्ने कुणादेखि सादनीसम्म ६ किलोमिटर, दार्चुलामा लेकम गाउँपालिकामा बेतदेखि उकुसम्म १२ किलोमिटर र खलंगादेखि उत्तर १०/१० किलोमिटरको दुई प्याकेजमा २० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का भएको छ । कालोपत्रेका लागि ठेक्का भएको डडेलधुराको कुणामा अहिले ट्र्याक खोलिएको क्षेत्रमा पर्खाल लगाउने तथा कल्भर्ट हाल्ने काम भइरहेको छ । तर बीचबाटोमै रहेका रूखहरू भने कटान हुन सकेका छैनन् । ‘यो वर्ष कवानी (डडेलधुरा र कञ्चनपुरको सीमा) सम्म बाटो खुल्ने भन्छन्,’ परशुराम नगरपालिका ६ का लक्ष्मण बहादुर सिंहले भने, ‘यो बाटो खुलेमा एक/डेढ घण्टामै महेन्द्रनगर पुगिन्थ्यो ।’

परशुराम नगरपालिकाका बासिन्दाले तराई झनै मुख्य बाटो दैजी–जोगबुडाको अवस्था चार दशकदेखि दयनीय छ । जोगबुडा–बुडर खण्डमा पनि ठाउँठाउँमा खोलानालाका कारण आवागमन सहज छैन । सादनी हुदै तराई झर्ने बाटो बने धेरै राहत हुनेछ । भारत सरकारले रणनीतिक आयोजनाका रूपमा महाकाली किनारैकिनार चीन सीमासम्मै राष्ट्रिय राजमार्ग निर्माण गरिसकेको छ । तर वारितर्फ निर्माण हुने भनिएको सडक डेढ दशकसम्म ट्र्याक खोल्ने कामसमेत सकिएको छैन । दार्चुलाको उत्तरी क्षेत्रका बासिन्दाले अहिले पनि पैदल हिँड्ने सडकसमेत नहुँदा सदरमुकाम खलंगा झर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । तुइन तरेर भारततर्फ जाँदा बेलाबेलामा ज्यानै जाने घटना समेत भइरहेका छन् ।

महाकाली किनारका बासिन्दाले तराई झर्नका लागि भारतकै भर पर्नुपर्ने बाध्यता अन्त्य हुनेछ । तराईदेखि दार्चुलासम्मको सडक यातायात अहिलेको भीमदत्त राजमार्ग हुँदै बैतडी दार्चुला जोड्ने सडकको तुलनामा महाकाली करिडोरले ५० किलोमिटर दूरी छोटिनेछ । चालु आर्थिक वर्षमा परियोजनाका लागि ४१ करोड बजेट विनियोजन भएको छ । परियोजना प्रमुख जोशीका अनुसार कटान गरिएको रुखको साटो वन विकास कोषमा जम्मा गर्नुपर्ने रकमसमेत बजेट अभावले रोकिएको छ । वन विकास कोषमा २० करोड रकम तिर्न बाँकी रहेको उनले बताए ।

कान्तिपुरबाट

चर्चामा

सम्बन्धित समाचार