शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • खाद्यले पाएन लक्ष्यअनुसार धान

खाद्यले पाएन लक्ष्यअनुसार धान

  • बुधबार, माघ ४, २०७९
खाद्यले पाएन लक्ष्यअनुसार धान

कञ्चनपुर — ढिलो गरी खरिद सुरु गरेको खाद्य संस्थान (खाद्य व्यापार तथा कम्पनी लिमिटेड) ले लक्ष्यअनुसार धान पाउन सकेको छैन । कृषकहरूले धान बिक्री गरिसकेपछि खरिद सुरु गरेका कारण लक्ष्यअनुसार खरिद हुन नसकेको हो ।

१४ हजार क्विन्टल धान खरिदको लक्ष्य भएको संस्थानको महेन्द्रनगरस्थित कार्यालयले एक महिनामा २८ सय क्विन्टल मात्रै धान खरिद गर्न सकेको छ । अहिले कृषकहरूबाट बिक्रीका लागि धान आउने क्रम निकै कम भएको छ । खाद्य संस्थानले मंगलबारसम्म २८ सय १९ क्विन्टल मात्रै धान खरिद गरेको महेन्द्रनगर कार्यालयका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले बताए । उनका अनुसार न्यून मात्रामा धान आइरहेका कारण खरिदको अवधि एक महिना अझै रहनेछ । ‘धान आइरहेको छैन, तैपनि हामीले एक महिना अझै काँटा लगाउँछौं,’ उनले भने, ‘ढिलो गरी खरिद सुरु भएकै कारण कोटाअनुसार धान आएन ।’

सरकारले गतवर्षभन्दा प्रतिक्विन्टल २१५ रुपैयाँ वृद्धि गरेको मोटो धानको समर्थन मूल्य २९ सय ६७ र मसिनो धानको ३१ सय २८ पुर्‍याएको थियो । तर समयमै धान खरिद सुरु भएन । कृषकहरूले गतवर्षभन्दा सस्तोमा धान बिक्री गरे । यस वर्ष कृषकहरूले प्रतिक्विन्टल २१/२२ सयका दरले बिक्री गरे ।

अहिलेसम्म १० हजार क्विन्टल हाराहारी धान खरिद भइसक्नुपर्ने उपाध्याय बताउँछन् । तर संस्थानले खरिद सुरु गर्नुभन्दा अगावै कृषकहरूले व्यपारीकहाँ बिक्री गरिसकेको देखिन्छ । संस्थानले ३ हजार ३५ सय क्विन्टलसम्म धान खरिद हुने अनुमान गरेको छ ।

कञ्चनपुरमा खाद्य व्यापार कम्पनीले पुस १ देखि खरिद सुरु गरेको थियो । सुरुको केही दिन धान आए पनि त्यसपछि भने फाटफुट मात्रै आएको उपाध्यायले बताए । संस्थानको महेन्द्रनगर कार्यालयले १० हजार क्विन्टलको कोटा माग गरेको थियो । केन्द्रले १४ हजार क्विन्टलको अनुमति दियो ।

गतवर्ष पनि संस्थाले लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन । ६ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य पाए पनि ११ सय ६१ क्विन्टल मात्रै खरिद भएको थियो । गतवर्ष कात्तिक पहिलो साताको बेमौसमी वर्षाका कारण धान खेतमै कुहिएपछि लक्ष्यअनुसार धान खरिद गर्न नसकेको हो । कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर ४ मेट्रिक टन रहेको छ । यस वर्ष पनि धानबाली भित्र्याउने बेला भएको बेमौसमी वर्षाले उत्पादनमा केही ह्रास आएको कृषि प्राविधिक बताउँछन् ।

‘गतवर्ष जस्तो ठूलो क्षति नभए पनि केही ह्रास भएको छ,’ कृषि ज्ञान केन्द्रका सूचना अधिकारी जनकराज जोशीले भने, ‘अब खेतीपातीको समय नै बदल्नुपर्ने देखिन्छ, धान केही ढिलो वा ढिलो पाक्ने धान लगाउनुपर्छ ।’ विगतकै सिजनअनुसार धान लगाउँदा रोपाइँका बेला खडेरीले समस्या हुने र भित्र्याउँदा वर्षाले समस्या हुने गरेको उनले बताए । कान्तीपुरबाट

चर्चामा

सम्बन्धित समाचार