बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • खेलकुद
  • साविक विजेता एपीएफ सेमिफाइनलमा, धरान बाहिरियो

साविक विजेता एपीएफ सेमिफाइनलमा, धरान बाहिरियो

  • शनिबार, पुस १६, २०७९
साविक विजेता एपीएफ सेमिफाइनलमा, धरान बाहिरियो

पोखरा  – साविक बिजेता एपीएफ क्लब पोखरामा जारी आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भइरहेको खेलमा धरान फुटबल क्लबलाई एपीएफले २–० ले पराजित गर्‍यो ।

एपीएफले दुबै गोल पहिलो हाफमा गर्‍यो । एपीएफलाई जिताउन बिकु तामाङले ३६ औं र युवराज खड्काले ३९ औं मिनेटमा गोल गरे ।

दोस्रो हाफमा धरानले खेलमा केही सुधार गर्दै एपीएफलाई केही दबाबमा राखे पनि गोल गर्न सकेन । पाएका अवसरलाई समेत सदुपयोग गर्न नसक्दा ०७४ पछि पुनः सेमिफाइनलसम्म उक्लने धरानको सपना अधुरै रह्यो । ०७४ मा धरान सेमिफाइनलमा नेपाल पुलिससँग १–० ले पराजित भएको थियो ।

आहा राराको २२ औं संस्करणसम्म आइपुग्दा तेस्रो पटक एपीएफ र धरान भिडेका हुन् । यसअघि दुवै टोली समूह चरणमा मात्रै खेल्ने अवसर पाएका थिए । जसमा एक खेल धरान र एक खेल एपीएफले जितेका छन् ।

विभागीय टोली एपीएफ र धरान फुटबल क्लब पहिलो पटक ०६२ सालको आहारारा पोखरा (आहा गोल्डकप) मा भेट भएका थिए । उक्त खेलमा ट्राइब्रेकरमा विभागीय टिम एपीएफले ४–३ ले जित निकालेको थियो ।

०७३ सालको आहारारा गोल्डकपमा पनि समूह चरणकै दोस्रो खेलमा आमनेसामने भएका थिए । तर, त्यतिबेला धरानले एपीएफमाथि १–० को जित निकालेको थियो ।

गत वर्ष माघमा भएको आहारारा गोल्डकपमा एपीएफले फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै पहिलो पटक उपाधि चुमेको थियो ।

एपीएफ यसअघि ०६४ को आहा गोल्डकपमा पनि फाइनल पुगेको थियो । उक्त संंस्करणमा एपीएफ अर्को विभागीय टिम नेपाल पुलिसँग २–० ले पराजित हुँदै उपविजेतामा सीमित हुन पुगेको थियो ।

मोफसलकै अर्को चर्चित खेल बुढासुब्बा गोल्डकप आयोजना गर्दै आएको धरान फुटबल क्लब ०७५ को समूह चरणमा हिमालयन शेर्पासँग १–० ले पराजित भए पछि आहारारा पोखरा गोल्डकपमा सहभागी भएको थिएन ।

चर्चामा

सम्बन्धित समाचार