मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • राजनीति
  • अपराजित यात्राका एमाले उम्मेदवार लालबहादुर थापा, अब के हुन्छ ?

अपराजित यात्राका एमाले उम्मेदवार लालबहादुर थापा, अब के हुन्छ ?

  • मङ्लबार, कार्तिक ८, २०७९
अपराजित यात्राका एमाले उम्मेदवार लालबहादुर थापा, अब के हुन्छ ?

बाजुरा– पार्टी भित्र होस् की, बाहिर कुनै पनि चुनावी प्रतिस्पर्धामा हार बेहोरेको अनुभव नभएका नेता हुन्, लालबहादुर थापा । नेकपा एमाले केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज थापा आफ्नो जीवनको तेस्रो पटक संसदीय मोर्चाको चुनावी प्रतिस्पर्धामा छन् । २०५४ सालको जिल्ला विकास समितिको सभापतिका लागि वडा सदस्य र २०७४ को प्रतिनिधी सभा निर्वाचनमा थापा सहज विजयी भएका थिए ।

पहिलो र दोस्रो चुनावी प्रतिस्पर्धा सहज जित निकालेका थापा यो पटक पनि जित नजिक देखिन्छन् । २०४७।४८ साल देखि नै विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थापा २०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्ला विकास समितिको सभापति बनेका थिए । सभापति बन्दा तत्कालिन २७ गाविस मध्ये १६ वटा नेकपा एमालेले जितेको थियो । थापा सबैभन्दा कान्छा जिल्ला सभापति बनेका थिए ।
पञ्चवर्षिय योजनाको अवधारणा ल्याएर चर्चा कमाएका थापा, त्यो पछि भने निकै लामो समय कुरेर संसदस्य मोर्चाको चुनाव २०७४ मा लडेका थिए । २०७४ सालको प्रतिनिधी सभाको निर्वाचनमा वाम गठबन्धन हुँदा एमालेका उम्मेदवार लालबहादुर थापाले २८०६५ ल्याएर जितेका थिए ।

काँग्रेसका उम्मेदवार कविराज पण्डितले २३१८१ मत ल्याएका थिए । भने राप्रपाका जितबहादुर शाहीले ४६५ र १५४९ मत बदर भएको थियो । थापा यो पटकको चुनावमा प्रदेश सभा (ख) को उम्मेदवार छन् ।

पार्टी भित्रको दौडमा सहमतिबाटै भएपनि कुनै पटक पछि फर्केर राजनीतिक विश्राम नलिएका थापालाई विपक्षसँगको चुनावमा हार बेहोरेको अनुभव नै छैन् । थापा प्रतिनिधी सभा सदस्य हुँदा पनि आफ्नै पार्टीको मन्त्रीलाई रातो किताब बुझाएर चर्चामा आएका थिए । बाजुरालाई योजनामा प्राथमिकता नदिएको आक्रोश थियो ।

यो पटक पनि थापाले सहज जित निकाल्ने आँकलन गरिएको छ । थापासँग नेपाली काँग्रेसले सयुक्त गठबन्धनको उम्मेदवारका रुपमा पदम बहादुर शाहीलाई उम्मेदवार बनाएको छ । शाही भन्दा थापा शक्तिशाली देखिन्छन् । प्रदेश निर्वाचन क्षेत्र (ख) मा पर्ने पाँच वटा स्थानीय तह मध्ये नेकपा एमालेले ४ मा जित निकालेको छ । भने काँग्रेस एउटा पालिकामा सीमित छ ।

थापाको गृह पालिकामा पहिलो निर्वाचन स्थगित भएर दोस्रो पटक निर्वाचन हुँदा पनि एमालेले १ हजार मतले जितेको अवस्था छ । भने काँग्रेस उम्मेदवार शाहीको पालिकामा पनि एमालेले नै जितेको अवस्था छ । काँग्रेसको पकड देखिएपनि एमालेले जितेको पालिका भएकोले थापाका लागि सहज हुने अवस्था छ ।

त्रिवेणी नगरपालिका बाहेक बडीमालिका, बुढीगंगा, गौमुल र खप्तड छेडेदह एमालेले नै अग्रता मत ल्याउने आँकलन छ । बुढीगंगा र गौमुलमा स्थानीय तह निर्वाचनको मतान्तरमा समेत अझै बढी अन्तर ल्याउने एमालेको आन्तरिक योजना छ ।

जिल्ला विकास समितिको सभापति हुँदा जिल्लाको विकास योजना देखि प्रतिनिधी सभा सदस्य हुँदा जिल्लाका लागि ल्याएका योजनाले थापा हाबी देखिन्छन् । पार्टी भित्रको संगठनमा समेत बलियो पकड राख्ने थापा विपक्ष पार्टीको पनि रोजाइका पात्र हुन् । शाही २०७४ सालको निर्वाचनमा एमालेकै नेता प्रकाश शाहसँग पराजित भएका थिए ।

निर्वाचन क्षेत्र (ख) मा माओवादी र समाजवादीको कम प्रभाव क्षेत्र भएकोले पनि गठबन्धनले खासै असर नगर्ने देखिन्छ । एमालेले पनि बाजुरा जिल्लाका प्रतिनिधी सभा र प्रदेश सभा दुबैलाई सहज जित्ने क्षेत्रका रुपमा राखेको छ ।

एमालेले २०७४ सालको निर्वाचनमा १८१८६ मत ल्याएर जितेको थियो । काँग्रेसका उम्मेदवार पदम बहादुर शाहीले त्यो बेला १४९७७ मत ल्याएर पराजय भोगेका थिए । त्यो बेला गौमुल बाहेक चार वटै स्थानीय तह काँग्रेसले जितेको थियो । अहिले ठिक उल्टो छ । पालिका जितेको बेला नै जित निकाल्न नसकेको काँग्रेसका लागि यो पटक झन कठिन हुने देखिएको छ ।

विगत र वर्तमानको तथ्य केलाउँदा एमाले उम्मेदवार लालबहादुर थापालाई यो पटकको चुनाव झनै सहज देखिएको छ । तेस्रो पटकको चुनावी प्रतिस्पर्धामा पनि थापाले आफ्नो अपराजित यात्रालाई पार गर्ने देखिएको छ । पार्टी भित्रको अन्तर विवादलाई समेत सहज मिलाएर चुनावी प्रचारमा खटिएका थापाको जितले एमाले प्रतिनिधी सभा उम्मेदवार कर्णबहादुर थापालाई समेत सहज पार्ने देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार