बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमका यी उम्मेदवार, जसले आफैँलाई दिन पाउँदैनन् मत

सुदूरपश्चिमका यी उम्मेदवार, जसले आफैँलाई दिन पाउँदैनन् मत

  • शुक्रबार, कार्तिक ४, २०७९
सुदूरपश्चिमका यी उम्मेदवार, जसले आफैँलाई दिन पाउँदैनन् मत

धनगढी– नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। उनै प्रधानमन्त्रीसँग चुनाव लड्न गुल्मीबाट इन्जिनियर सागर ढकाल डडेल्धुरामा डेरा जमाएर बसेका छन्। तर, गुल्मीमा मतदाता नामावली भएका ढकालले डडेल्धुराबाट उम्मेदवारी दिएपछि आफैँलाई भोट गर्न नपाउने भएका छन्।

यस्तै नेपाली काँग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरको मतदाता नामावली डोटीमा छ। गठबन्धनको भागबण्डामा डोटीमा प्रेमबहादुर आले उम्मेदवार भएपछि उनी कैलाली झरेका थिए। एमालेका केन्द्रीय सचिव लेखराज भट्टसँग कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा उनको प्रतिस्प्रधा हुने छ। घर–दैलोमा मत माग्दै हिडेका बलायरले आफैँलाई भने मत हाल्न नपाउने भएका छन्। यता बैतडीबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टीका कृष्णप्रसाद गोसाईले उम्मेदवारी दिएका छन्। भक्तपुरका उनले पनि आफैँलाई भोट दिन पाउने छैनन्।

संविधान सभा सदस्य कृष्ण कुमार चौधरी (कुन्दन) कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ का मतदाता हुन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ माओवादीको भागमा परेपछि उनी सोही क्षेत्रबाट उम्मेदवार छन्। उनी पनि आफैँलाई मत दिन नपाउने अवस्थामा छन्। क्षेत्र नम्बर ३ मै मतदाता नामावली रहेका प्रदेशसभा सदस्य वीरमान चौधरी र प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनीता चौधरीलाई पाखा लगाएर क्षेत्र नम्बर ४ मा नामावली रहेका कुन्दनलाई उम्मेदवार बनाइएको हो।

सुदूरपश्चिम प्रदेशसभा सदस्यका उम्मेदवारहरुले पनि आफैँलाई मतदान गर्न नपाउने भएका छन्। माओवादी केन्द्रबाट डडेल्धुराको प्रदेशसभा–१ मा उम्मेदवारी दिएका खगराज भट्टले पनि आफैलाई भोट दिन नपाउने भएका हुन्। माओवादीका प्रदेशका इञ्चार्जसमेत रहेका भट्टको मतदाता नामावली प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर २ मा छ।

यता कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को (२) मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका प्रकाश बमले पनि आफैलाई मत दिन पाउने छैनन्। उनको क्षेत्र सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीलाई परेपछि उनले प्रदेश सभाकै अर्को क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका हुन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ को १ बाट उम्मेदवारी दर्ता गराएका रमेश धामीले पनि आफैलाई मतदान गर्न पाउने छैनन्। निर्वाचन क्षेत्र नम्बर ५ को २ मा मतदाता नामावली भएका धामी २ बाट प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा छन्। गठबन्धन र स्वतन्त्र उम्मेदवारीका कारण उम्मेदवारहरुले आफैँलाई भोट गर्न नपाउने अवस्था आएको हो।

मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले आफैँलाई भोट हाल्न नपाउने व्यवस्था छ। मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ। साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार