शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • अख्तियारको कार्यालय कञ्चनपुरमा आर्थिक अनियमितताका उजुरी बढे

अख्तियारको कार्यालय कञ्चनपुरमा आर्थिक अनियमितताका उजुरी बढे

  • बिहिबार, अशोज २०, २०७९
अख्तियारको कार्यालय कञ्चनपुरमा आर्थिक अनियमितताका उजुरी बढे

धनगढी–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा आर्थिक अनियमितता सम्बन्धिका उजुरी बढ्दै गएको पाइएको छ। सबैभन्दा बढी उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको पाइएको हो।

चालु आर्थिक वर्ष सुरु भएको तीन महिना नपुग्दै स्रोतअनुसारका उजुरीको संख्या दुई सय ५३ पुगेको आयोगको कार्यालय कञ्चनपुरको तथ्यांक छ। चालु आर्थिक वर्षको भदौ महिनामा विभिन्न प्रकृतिका गरी सबैभन्दा बढी ८४ वटा उजुरी दर्ता भएका छन्।

त्यस्तै साउन महिनामा इमेल, टेलिफोन, भाइबर तथा लिखित रुपमा गरी २६ वटा मुद्दा दर्ता भएका छन्। त्यस्तै असोज १९ गतेसम्म थप २७ अनियमितताका उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए।

विभिन्न स्रोतको माध्यमबाट अख्तियारमा उजुरी दर्ता हुनेक्रम बढेको कार्यालयले जनाएको छ। अख्तियारको कार्यालयमा दर्ता भएका कुल उजुरीमध्ये ३५ प्रतिशतभन्दा बढी स्थानीय तहसँग सम्बन्धित उजुरी भएको कार्यालयले बताएको छ। संघ, प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने विभिन्न विकास आयोजनामा हुने आर्थिक अनियमितता सम्बन्धिका उजुरी कार्यालयमा दर्ता हुनेक्रम बढ्दै गएको देखिएको छ।

साउन, भदौ र असोज महिनामा उजुरी दर्ताक्रम बढेको भन्दै दर्ता भएका उजुरीमाथि छानबिन समेत सँगसँगै भइरहेको कार्यालयका सूचना अधिकारी ढकालले बताए।

चर्चामा

सम्बन्धित समाचार