शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • दसैँको तीन दिन भारी वर्षाको सम्भावना, किसानलाई धान नकाट्न आग्रह

दसैँको तीन दिन भारी वर्षाको सम्भावना, किसानलाई धान नकाट्न आग्रह

  • बुधबार, अशोज १९, २०७९
दसैँको तीन दिन भारी वर्षाको सम्भावना, किसानलाई धान नकाट्न आग्रह

धनगढीः सुदूरपश्चिम प्रदेशमा दसैँकोे तीन दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। प्रदेशभर मनसुन प्रणाली सक्रिय रहेकाले प्रदेशमा धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

गत वर्षको दसैँमा वर्षका कारण प्रदेशमा क्षति भएकोमा यो वर्षको दसैँमा पनि विपदको चिन्ता गरिएको हो। वर्षका कारण प्रदेशमा मानवीय तथा भौतिक क्षति हुने भन्दै सर्तक रहन आग्रह गरिएको छ। प्रदेशमा आगामी तीन दिन पानी पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताए।

‘असोज १९, २० र २१ गते तीन दिन प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसमी प्रणाली विकास भएको छ,’ उनले भने, ‘यो तीन दिन सुदूरपश्चिमभर मध्यमदेखि भारी वर्षा हुने प्रणाली विकास भएको छ।’
सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी जिल्लामा वर्षा हुने प्रणाली विकास भएको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। मनसुन समाप्त नभएको र सुदूरपश्चिम क्षेत्रमा मनसुनी न्युनचापीय रेखा निर्माण भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताए।

अहिले किसानहरूले धान भित्र्याउन लागेको भए सजग हुनुपर्ने देखिएको छ। गत वर्ष भारी वर्षाको कारण धान बालीमा ठुलो क्षती भएकाले धान पाकेर तयार भएको छ भने पनि नकाट्न तथा काटेको भए, तुरुन्तै चुट्न र घरभित्र भित्र्याउन आग्रह गरिएको छ। किसानलाई एक हप्तासम्म धानबाली नभित्र्याउन कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले आग्रह गरेका छन्।

‘गत वर्ष धान काट्ने समयमा परेको पानीले ठुलो क्षति गरेको थियो, यो वर्ष पनि पानी पर्ने सम्भावना रहेको छ,’ उनले भने, ‘१९ देखि २१ गतेसम्म पानी पर्ने सम्भावना भएकाले एक हप्तासम्म धान नकाट्दा हुन्छ।’
गत वर्ष दसैँको समयमा परेको अविरल वर्षाको कारण सुदूरपश्चिम प्रदेशमा ७ अर्वको धान नष्ट भएको थियो। यो वर्ष मौसमी अवस्था थाहा पाएर मात्र धान काट्न किसानलाई आग्रह गरिएको छ। संघीय गृह मन्त्रालयले विपद्को सम्भावना रहेकाले स्थानीय प्रशासनलाई तयारी अवस्थामा रहन र नागरिकलाई सर्तक रहन आग्रह गरेको छ।

चर्चामा

सम्बन्धित समाचार