शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बैतडीमा तीन वर्षदेखि एकै शिक्षकका दुई खेताला

बैतडीमा तीन वर्षदेखि एकै शिक्षकका दुई खेताला

  • बिहिबार, अशोज ६, २०७९
बैतडीमा तीन वर्षदेखि एकै शिक्षकका दुई खेताला

बैतडी– बैतडीको सुर्नया गाउँपालिका ७ मा रहेको केदार मावि कठमाडामा एकै शिक्षकका दुई खेताला शिक्षक राखेको पाइएको छ। २०६९ सालमा नियुक्त गरिएकी सुर्नया ८ की शिक्षिका हिरा साउँदले २०७६ देखि खेताला शिक्षक राखेको पाइएको हो।

भूतपुर्व प्रधानाध्यापक धन सिंह साउँदकी बुहारी हिराको ठाउँमा दुई पटक भतिजा र भतिजी बुहारीलाई खेताला शिक्षको रुपमा राखेर हिराको नाममा तलव बुझेको पाइएको हो।

२०६९ मा नियुक्त भएकी हिरा २०७६ सालदेखि विद्यालयमा हाजिर भएकी छैनन्। २०७६ देखि हिराको ठाउँमा खेताला शिक्षकको रुपमा कृष्ण साउँदले काम गरे। २०७८ कार्तिकदेखि कृष्ण साउदले पनि छोडेपछि हिराकै खेताला शिक्षकको रुपमा लक्ष्मी साउँदले काम गरेकी छन्।

हिरा साउँद पुर्व प्रधानाध्यापक धन सिंह साउँदकी आफ्नै बुहारी हुन् भने, उनको खेताला शिक्षकको रुपमा एकपछि अर्को गर्दै नियुक्त गरिएका कृष्ण भतिजा र लक्ष्मी भतिजी बुहारी हुन्।

पुर्व प्रधानाध्यापक धनबहादुर साउँदले त्यतिबेला अध्यापन अनुमतिपत्र प्राप्त गरेको र पढाउन योग्य रहेका कारण बुहारी हिरा साउँदलाई नियुक्त गरिएको बताए। त्यसपछि उनको समय नहुने भएपछि खेताला शिक्षकको रुपमा भतिजा कृष्ण र पछि भतिजी बुहारी लक्ष्मीलाई खेताला शिक्षकको रुपमा राखेको उनले बताए।

हिरालाई निजी शिक्षकको रुपमा नियुक्त गरिएको थियो। त्यसपछि स्थानीय तहले निजी शिक्षकहरुलाई पालिका शिक्षक स्वयमसेवकको रुपमा नियुक्त गरी पारिश्रमिक भुक्तान गर्दै आएको थियो। २०७६ देखि विद्यालयमा उपस्थित नभएकी हिराको नामबाट तलव मागको लागि अझै पनि माग फारम गाउँपालिकाको शिक्षा साखामा पाठाउने गरिएको छ।

वर्तमान प्रधानाध्यापक उत्तरबहादुर कुवँरले हिरा साउँदले तलव बुझेको भरपाइमा दस्तखत मात्रै गर्ने गरेको बताए।

यस विषयमा गाउँपालिकाले पनि छानविन गर्ने बताएको छ। यस महिनाको तलवका लागि पनि हिरा साउँदकै नामबाट  माग फारम गाउँपालिकामा आएको र गाउँपालिकाले छानबिन गर्ने सुर्नया गाउँपालिकाका शिक्षा साखा प्रमुख टंकप्रासद अवस्थीले बताए। त्यहाँको विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले प्रमाणीकरण गरेर मात्रै पालिकामा विवरण आउने भएकाले विव्यस र प्रअ नै जिम्मेवार हुने उनको भनाइ छ।

खेताला शिक्षक राख्न नपाइने बताउँदै शिक्षा साखा प्रमुखले खेताला शिक्षक राखेकै दिनदेखिको बुझेको रकमको असुलउपर गरिने पनि उनले  बताए।

यस विषयमा शिक्षा विकास तथा समन्वय इकाईले पनि छाबिन गर्ने बताएको छ। यसैगरी प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले पनि मातहतका निकायमा बुझेर आगामी प्रक्रियामा जाने बताए।

साभार अन्नपुर्ण पाेष्ट

चर्चामा

सम्बन्धित समाचार