शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • किन भयो कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ ?

किन भयो कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ ?

  • शुक्रबार, भदौ १७, २०७९
किन भयो कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ ?

कक्षा १२ को नतिजा १५ भदौभित्र प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको रोडम्याप थियो । बोर्डका केही पदाधिकारीहरूले तीज (१३ भदौ) का दिन नतिजा प्रकाशन गर्ने तयारी भएको भन्दै सञ्चारमाध्यमलाई सूचना सम्प्रेषण गरे ।

तर, प्राविधिक काम नसकिएको भन्दै बोर्डले बिहीबारसम्म पनि नतिजा प्रकाशन गरेको छैन । बोर्डले तीन दिनदेखि लगातार नतिजा प्रकाशन हुने भन्दै आइरहेको छ । तर, अन्तिममा आज नसकिने जवाफ दिने गरेका छन् । बोर्डले आफैले तोकेको मिति पनि घर्किन पुगेको छ ।

नतिजा कहिलेसम्म आउछ अझै निश्चित छैन । प्राविधिक काम नसकिएले नतिजा प्रकाशनमा ढिलाइ भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । ‘प्राविधिक काम सकिएको छैन । प्राविधिक साथीहरूले काम गरिराख्नुभएको छ । सबै काम सकिएपछि नतिजा प्रकाशन गर्नुभन्दा ५ घण्टा अगाडि तपाईहरूलाई जानकारी गराउँछौं,’ बिहीबार अध्यक्ष शर्माले भने ।

अहिले नतिजा प्रकाशनमा ढिलाइ हुनुको कारण केही विद्यालयले प्रयोगात्मक तर्फको नतिजा नपठाउनु हो । ‘केही विद्यालयबाट प्रयोगात्मकतर्फको नम्बर नपठाएको देखियो । यता कम्प्युटरमा ट्याली गर्दा यस्तो देखिएपछि अहिले विवरण माग गरेर इन्ट्री गराउने काम भइरहेको छ,’ अध्यक्ष शर्माले भने ।

प्राविधिक काम सकिएपछि बोर्डको बैठक बसेर नतिजा प्रकाशन गर्ने निर्णय गर्नेछ । यस पटक नन ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिँदैछ । त्यसका लागि सैद्धान्तिकतर्फको छुट्टै नम्बर र प्रयोगात्मकको छुट्टै नम्बर राखिनेछ । दुवैतर्फको नम्बर जोडेर विद्यार्थीलाई लेटर ग्रेटिङ सिस्टममा समावेश गरिने अध्यक्ष शर्माले बताए ।

गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए । बोर्डले पहिलो पटक ‘नन–ग्रेडिङ’ सिस्टम अनुसार नतिजा प्रकाशन गर्न लागेको हो । यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

नतिजा प्रकाशित भएपछि बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट नतिजा हेर्न सकिनेछ । त्यसका लागि बोर्डको आफ्नै वेबवाइट https://www.neb.gov.np/result मा गएर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ ​ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिनेछ । त्यस्तै आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।

चर्चामा

सम्बन्धित समाचार