बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बझाङ रा बा बैंकको लुट: ग्राहकको खातामा भएको पैसा मिलोमतोमा कर्मचारीले चलाएकाे खुलासा

बझाङ रा बा बैंकको लुट: ग्राहकको खातामा भएको पैसा मिलोमतोमा कर्मचारीले चलाएकाे खुलासा

  • मङ्लबार, भदौ १४, २०७९
बझाङ रा बा बैंकको लुट: ग्राहकको खातामा भएको पैसा मिलोमतोमा कर्मचारीले चलाएकाे खुलासा

अर्थ जङ्ग शाही/बझाङ — ३१ साउनमा भोजपुर घर भएर बझाङ सदरमुकाम चैनपुरमा बस्दै आएका साङ्गे शेर्पाले आफ्नो खातामा रहेको ९८ हजार रुपैयाँ झिक्न खोज्दा हात पारेनन् । पटकपटक गरी उनले चैनपुरमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा १ लाख ३ हजार रुपैयाँ जम्मा गरेका थिए।

गत साउनमा गाउँ फर्किन भनेर पैसा झिक्न खोज्दा बैंकका कर्मचारीले खातामा ५ हजार मात्रै रहेको भनेपछि शेर्पा छाँगाबाट खसेझैं भए । आफ्नो बैंक खाताबाट ९८ हजार गायब भएको खबर पाएपछि उनी अचम्ममा परेका छन् ।

‘मैले बैंकमा एक लाखभन्दा बढी पैसा जम्मा गरेको थिए । साउनमा गाउँ जान्छु भनेर झिक्न खोज्दा खातामा ५ हजार मात्र छ । ९८ हजार तपाइँले झिक्नु भएको छ भनेपछि म त अचम्ममा परे,’ शेर्पाले दुःखेसो पोखे, ‘मैले उक्त पैसा झिकेको छैन भनेपछि कर्मचारीले पछि आउनु के भएको रैछ हामी बुझ्छौँ भनेर पठाएका थिए ।’

बैंक खाताबाट आफ्नो पैसा गायब भएपछि उनले सञ्चारमाध्यमलाई जानकारी गराए । त्यसपछि यही ९ भदौमा बैंकले शेर्पालाई बोलाएर शेर्पाको खाताबाट झिकिएको रकम फिर्ता गरेको छ । बैंककै एक कर्मचारीले उक्त रकम झिकेको सीसीटीभी फुटेजबाट पत्ता लागेको बैंकका शाखा प्रबन्धक शान्तराज जोशी बताउँछन् । तर, पैसा झिक्ने व्यक्ति को हुन् भन्ने बारेमा उनले खुलाउन चाहेनन् ।

प्रबन्धक जोशीका अनुसार यही ३१ साउनमा ती बैंक कर्मचारीले शेर्पाको खाताबाट रकम झिकेको देखिएकाले उनलाई बोलाएर उक्त रकम फिर्ता गर्न लगाइएको हो । ‘यो विषय मिडियामा लिनुपर्ने भन्दा पनि छलफल हुनुपर्ने विषय जस्तो लाग्छ । म विदामा थिए आज हाजिर भएको हुँ । उहाँ (शेर्पा) ले गत वर्षको मंसिरमा नयाँ चेक बनाउँदा पुरानो चेक फालेको भन्ने कुरा छ,’ जोशीले भने, ‘उहाँको चेक भेटाएर एक जनाले पैसा झिकेको र उक्त व्यक्ति पहिचान सीसीटीभी फुटेजबाट पहिचान गरेर पैसा फिर्ता गर्न भनेको भनेर जानकारी पाएको छु ।’

‘बैंकको बेइज्जत हुन्छ, अहिले नाम सार्वजनिक गर्दैनौं’

बैंकले शेर्पाको खातामा भएको पैसा गायब गर्ने व्यक्तिको नाम खुलाउन चाहेको छैन । अनधिकृत चेकबाट भुक्तानी लिने व्यक्तिलाई सार्वजनिक किन गर्नु भएन भन्ने प्रश्नमा प्रबन्धक जोशी हलुका जवाफ दिन्छन् ।

‘यो कुरातिर लाग्दै नलागौँ, बैंकको बेइज्जत हुन्छ । उसले चेक फाल्यो, अर्काले भेटायो ठूलै कुरा भएन । व्यक्तिको पछि नलागौँ । यो सानातिना घटना आइरहेका हुन्छन्,’ उनले भने, ‘म यता आएपछि यस्ता ६/७ घटना मिलाएको छु । खै, उनीहरूको बारेमा त मिडियामा आएन? यो सामान्य कुरा हो ।’

उनले यो विषयलाई ‘सामान्य’ रूपमा लिए पनि सर्वसाधारण भने सामान्य मान्न तयार छैनन् । सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकबाट नै नाटकीय ढंगबाट ग्राहकको खाताबाट पैसा झिकिनु र पुनः व्यक्ति पत्ता लागेको भनेर पैसा फिर्ता गरिनु सुनियोजित भएको नाम नखुलाउने शर्तमा एक स्थानीयले बताए ।

शेर्पाको पैसा गायब गर्ने व्यक्ति पत्ता लाग्दा पनि सार्वजनिक नगरिनुले बैंककै कर्मचारीको मिलेमतोमा घटना भएको हुनसक्ने ती स्थानीयको आरोप छ ।

‘शेर्पाकै खाताबाट रकम झिकिएको भएपनि बैंकका कर्मचारीको सहयोग नभइ यो काम हुन सक्दैन । बैंकका प्रबन्धकले यतिबेला घटनामा संलग्नलाई अनुसन्धानमा राखेर सबै सार्वजनिक गर्नुपर्ने थियो । तर, उनले यो घटनालाई सामान्य भएको भनेर भन्नुले उनको भूमिकामाथि नै प्रश्न उठेको छ,’ अर्का स्थानीयले भने, ‘यो घटनामा कर्मचारीको संलग्नता छ । संलग्नलाई सार्वजनिक नगरे बैंकको विश्वसनियतामाथि प्रश्न उठ्छ ।’

बिहीबार शेर्पाले आफ्नो खाताबाट अनधिकृत रूपमा झिकिएको रकम पाए पनि यो घटनालाई पारदर्शी अनुसन्धान र कारबाही नगर्दा बैंकको व्यवस्थापनसामु गम्भीर प्रश्न उठेका छन् । शेर्पाले गत वर्षको मंसिरमा नयाँ चेक बनाएको भनेका छन् । तर, बैंकले उनको चेक ३ साउनमा साटिएको सिसीटीभीमा देखिएको भन्दै पैसा फिर्ता गरेको छ ।

बैंकमा भएको सीसीटीभी स्टोरेज क्षमता तीन महिनाको छ । बैंकले शेर्पाको पुरानो चेकबाट भुक्तानी भएको बताउँछ । ‘पुरानो चेकबाटै भुक्तानी लिइएको हो भने मंसिरदेखि अहिलेसम्म चेक किन साटिएन? वा सिसीटीभीको सहाराले घटना मिलाउन ३ साउनको मिति राखिएको त होइन? शेर्पाको खाताबाट कहिले कारोबार भएको छ? यसबारेमा अनुसन्धान हुन जरुरी छ,’ सरोकारवालाले प्रश्न गरेका छन्, ‘बैंकले चेक साट्ने मान्छेको पहिचान किन लुकाउन खोज्दै छ?’

कतिपय सेवाग्राहीले शेर्पाको पैसा गायब भएको घटनामा बैंककै माथिल्लो तहकै कर्मचारीको संलग्नता रहेको आशंका पनि गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार