शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • ब्लड क्यान्सर पीडित शाही अस्पतालमा छटपटाउँदै: सहयोगको लागी गरे अपिल

ब्लड क्यान्सर पीडित शाही अस्पतालमा छटपटाउँदै: सहयोगको लागी गरे अपिल

  • सोमवार, साउन ३०, २०७९
ब्लड क्यान्सर पीडित शाही अस्पतालमा छटपटाउँदै: सहयोगको लागी गरे अपिल

अर्थ जङ शाही/बझाङ — ब्लड क्यान्सर पीडित ३५ वर्षे चक्र बहादुर शाहीले उपचार गर्न आर्थिक सहयोगको अपिल गरेका छन्।

जयपृथ्वी नगरपालिका वडा नम्बर-१ बझाङको कैलाश घर भएका शाही यतिबेला काठमाडौंको सिभिल हस्पिटल नयाँ बानेश्वरमा उपचार गराइरहेका छन्। एक महिनाको हाराहारीमा शाहीको उपचारका क्रममा ४ देखी ५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको पिडित शाहीले बडिमालिका खबरलाई बताएका छन्।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न चाहिने रकम सहयोग गरिदिनु हुन पिडित चक्र बहादुर शाहीले आग्रह गरेका छन् ।

मलाई बचाउन सबैसँग सहयोगको अपील गर्दछु’ उनले भने, ‘यही उमेरमा म बिरामी भए । मैले उपचार गर्न नसक्ने रोग लाग्यो । अब मेरो उपचार तपाईंको सहयोगले मात्र हुनसक्छ ।’तपाईले गरेको सानो सहयोगले आफ्नो ठूलो राहत हुने पिडित शाहीले बताएका छन् ।

शाहीको हात, खुट्टा,टाउको दुख्ने समस्या देखिएपछि उपचारका लागि बझाङ जिल्ला अस्पताल लगिएको थियो ।बझाङ जिल्ला अस्पतालले धनगढीको निसर्ग अस्पतालमा रेफर गरेको थियो।

धनगढीको निसर्ग अस्पतालले क्यान्सरको आशंका गरेर काठमाडौंमा रेफर गरेको थियो । अहिले काठमाडौंको सिभिल हस्पिटलमा परीक्षण गर्दा ब्लड क्यान्सर भएको देखिएकाले अहिले सोही अस्पतालमा उनको उपचार भइरहेको छ ।

शाहीको उपचार खर्च जुटाउन स्थानीय युवाले गाउघरमा सामूहिक अभियान थालेका छन् ।

सहयोग संकलन गर्न एभरेष्ट बैंक लिमिटेडको बझाङ शाखामा खाता खोलिएको छ । ‘चक्र बहादुर शाही बचाउ ’ नामको बैंक खाता नम्बर ‘०५४००५०१२०००२१’ हो ।

पिडित शाहीले आफ्नो उपचार गरिदिन जयपृथ्वी नगरपालिकाका वडा र नगरहरुलाई पनि सहयोगको अपिल गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार