बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • ‘युरिक एसिड हुनुको मुख्य कारण अव्यवस्थित खानपिन नै हो’

‘युरिक एसिड हुनुको मुख्य कारण अव्यवस्थित खानपिन नै हो’

  • आइतवार, साउन २९, २०७९
‘युरिक एसिड हुनुको मुख्य कारण अव्यवस्थित खानपिन नै हो’

काठमाडौं — शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्ने युरिक एसिड हुन्छ । यो शरीरका लागि अत्यावश्यक हुन्छ, तर मात्रा बढी हुँदा भने समस्या पनि निम्त्याउन सक्छ ।

शरीरलाई चाहिने भन्दा बढी युरिक एसिड भएमा यसले जोर्नीमा समसया ल्याउन चिकित्सक बताउँछन् ।

युरिक एसिडका लक्षण के के हुन्छन् ? युरिक एसिड बढी भएमा के गर्ने ? लगायतका विषयमा बाथरोग विशेषज्ञ डा. प्रयुष शर्मासँग गरिएको कुराकानी :

खासमा बाथरोग वा युरिक एसिड के कारणले हुन्छ ?

बाथभित्रका विभिन्न समस्यामध्ये युरिक एसिड पनि एक हो । यो हुनुको मुख्य कारण खानपान हो । खानामा प्रोटिनको मात्रा बढी भएमा यो समस्या देखा पर्छ ।

प्रोटिनमध्ये विशेषगरी प्युरिनबाट एसिड बन्ने गर्दछ । त्यसैले प्युरिन बढी भएको खानाको प्रयोग गरेमा शरीरमा युरिक एसिडको मात्रा पनि बढ्ने सम्भावना हुन्छ । साथै, वंशाणुगत कारणले पनि युरिक एसिडको समस्या हुन्छ । मिर्गौलामा समस्या, मोटापन, मद्यपान गर्ने, धेरै रातो मासु र बाहिरको प्याकेट खाना खाने व्यक्तिमा यो समस्या देखा पर्छ । महिलामा भन्दा पुरुषमा युरिक एसिडको समस्या बढी देखिन्छ ।

युरिक एसिड हुनु भनेको के हो ?

युरिक एसिड हुनु भनेको रगतमा युरिक एसिडको मात्रा बढी हुनु हो । हाम्रो शरीरमा युरिक एसिडको केही मात्रा त हुन्छ, तर यसको मात्रा बढेर शरीरको विभिन्न अंगमा जम्मा हँुदा समस्या आउने हो । यसका कारण जोर्नीमा समस्या देखा पर्छ र अत्यधिक दुखाइ हुन्छ ।

युरिक एसिडमा कस्ता कस्ता लक्षण देखिन्छन् ?

जोर्नी दुख्ने, जोर्नी सुनिने, रातो हुने, जोर्नी चलाउन नसकिने, मिर्गौलामा पत्थरी र बिहान उठ्ने बेलामा दुखाइ धेरै हुने आदि युरिक एसिडकका लक्षणहरू हुन् ।

उपचार के कस्तो जरुरी हुन्छ ?

युरिक एसिडको उपचार दुई प्रकारले गर्न सकिन्छ । यसलाई कम गर्ने र दुखाइ कम गर्ने औषधिको सेवन पनि गर्नुपर्ने हुन्छ । औषधिसँगै खानपानमा ध्यान दिने, शारीरिक व्यायाम, योग आदिले पनि युरिक एसिड कम हुन्छ । साथै, समय–समयमा युरिक एसिडको जाँच पनि गरिरहनुपर्छ । यसो गर्दा युरिक एसिड घटेको बढेको थाहा हुन्छ ।

युरिक एसिडबाट पीडितले गेडागुडी, खसीको मासु जस्ता खानेकुरा खान हुँदैन भनिन्छ नि ?

युरिक एसिड भएको व्यक्तिले खसी, राँगा, सुँगुर आदिको रातो मासु र प्रोटिन धेरै भएको अन्य खानेकुरा खानु हुँदैन । अमिलोजन्य खानेकुरा, जंकफुड, प्याकेट फुड, मदिरा पनि बार्नुपर्छ ।

दुखाइ एकदमै बढी छ भने गेडागुडी, कुखुराको मासु, माछा आदि पनि खानु हुँदैन । तर यदि दुखाइ कम छ भने चाहिं गेडागुडी, कुखुराको मासु र अण्डा खान मिल्छ । यस्ता खानेकुरामा प्रोटिन भए पनि प्युरिनको मात्रा कम हुन्छ ।

तामा वा अमिलोजन्य खानेकुरा पनि खान नहुने हो ?

तामा, अमिलोजन्य खानेकुरा, लामो समय सीसीमा खाँदेर राखिएको खानेकुरा पनि युरिक एसिड भएको व्यक्तिले खानु हुँदैन । यसबारे कुनै अध्ययन त भएको छैन, तर बिरामीको अनुभव अनुसार यस्ता खानेकुराले पनि दुखाइ बढाउँछ ।

तेलमा तारेको, भुटेको, मसालेदार खानेकुरा साथै जंकफुड र फास्टफुड हामी धेरै खाने गर्छौं । युरिक एसिड बढ्नुमा यो कत्ति जिम्मेवार छ ?

तेलमा तारेको, भुटेको, मसालेदार खानेकुरा, जंकफुड र फास्टफुडले मोटोपन बढाउँछ र त्यसकै कारण युरिक एसिड पनि हुन सक्छ ।

खानपान नियन्ज्त्रण गरेमा युरिक एसिड निको हुन्छ ?

खानपान बारेर युरिक एसिड निको भएको पनि केही उदाहरण छन् । युरिक एसिडको औषधि सेवनसँगै खानेकुरामा नियन्त्रण गर्न सकियो भने यो रोग बल्झिने सम्भावना एकदमै न्यून हुन्छ ।

युरिक एसिड भएमा के खाने, के नखाने ?

युरिक एसिड भएको व्यक्तिले रातो मासु, आन्द्राभुँडी, मुटु-कलेजो जस्ता युरिक एसिड अत्यधिक हुने खानेकुरा खानु हुँदैन । यस्तै च्याउ, सफ्ट ड्रिंक्स र मदिरा पनि खानु हुँदैन ।

दूध, फलफूल, हरियो तरकारी, दही, कफी, ग्रिन टी, सलाद खान हुन्छ । प्रशस्त पानी पनि पिउनुपर्छ ।

शारीरिक व्यायाम र योगले युरिक एसिड नियन्त्रण गर्न सकिन्छ ?

नियमित व्यायाम र योगले मोटोपन घटाउन सहयोग गर्छ । मोटोपन घटाउनु भनेको युरिक एसिडको जोखिम घटाउनु हो ।

दैनिक रूपमा शारीरिक व्यायाम र योग गरियो भने युरिक एसिडको समस्या नै हुन दिंदैन । युरिक एसिड भएको खण्डमा पनि छिटो निको हुन सहयोग पुग्छ ।

युरिक एसिड हुनै नदिन के गर्ने ?

युरिक एसिड हुनै नदिन नियमित व्यायाम गर्ने, पर्याप्त मात्रामा पानी पिउने, धुम्रपान र मद्यपानबाट टाढै रहने, प्युरिन तत्व बढी हुने रातो मासु, गालेको अचार, च्याउ, पालुङ्गोको सेवन कम गर्ने, गुलियो पेय पदार्थको प्रयोग कम गर्ने, शरीरको वजन घटाउने र समय–समयमा चिकित्सकको परामर्श लिने गर्नुपर्छ ।साभार अनलाइनखबर ।

चर्चामा

सम्बन्धित समाचार