बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बाजुराका आउन खोजेका एमडीजीपी चिकित्समाथि राजनीति

बाजुराका आउन खोजेका एमडीजीपी चिकित्समाथि राजनीति

समाजवादी नेताको प्रभावमा स्वास्थ्यमन्त्री खापुङ

  • बिहिबार, साउन १९, २०७९
बाजुराका आउन खोजेका एमडीजीपी चिकित्समाथि राजनीति

बाजुरा–दुर्गम जिल्ला भएकाले हतपती विशेषज्ञ चिकित्सक जान मान्दैनन्। तर त्यहाँ जान चाहने चिकित्सकमाथि पनि ‘हाकिम’ बनाउने राजनीतिले रोक्ने गरेको पाइएको छ।

स्वास्थ्यमन्त्री हाल एकीकृत समाजवादीका तर्फबाट भवानी खापुङ छन्। यसअघि सोही पार्टीकै विरोध खतिवडा थिए। उनीहरुले बाजुरामा विशेषज्ञ अभाव भएको जानकारी पाएका थिए। तर दुर्गम जिल्लामा काम गर्न तयार रहेका एमडीजीपी डाक्टर पार्टीका नेताको लबिङमा पहिले नै दुईटा विशेषज्ञ डाक्टर रहेको बझाङ पठाएका थिए।

स्रोतका अनुसार बझाङ जिल्लाबाट राजनीतिक गर्ने एकीकृत समाजवादीका नेता भानुभक्त जोशीका आफन्त बाजुरामा एमबीबीएस डाक्टर छन्। नवौं तह अथवा विशेषज्ञ डाक्टर नभएको अवस्थामा उनी निमित्त मेडिकल सुपरिटेन्डेन्ट पनि छन्। विशेषज्ञ डाक्टर आउँदा स्वत: उनको जिम्मेवारी खोसिने भएकाले स्वास्थ्यमा समेत राजनीति भएको हो।

बझाङ पठाइएका एमडीजीपी डाक्टर अन्वेष कोइराला जिल्ला अस्पताल बाजुरामा जान तयार छन्। यसका लागि उनले मन्त्रालयमा निवेदन समेत दिएका छन्। उनले निवेदनमा लेखेका छन्, ‘बझाङ जिल्ला अस्पतालमा दुईजना एमडी (विशेषज्ञ) डाक्टर रहेकाले अभाव भएको बाजुरामा सेवा गर्न अनुमति दिन अनुरोध गर्दछु।’

अस्पताल व्यवस्थापन समितिले उनलाई जिल्ला अस्पताल बाजुरा सरुवा गरिदिन मन्त्रालयलाई अनुरोध समेत गरेको छ। तर त्यसलाई समेत एकीकृत समाजवादीका सुदूरपश्चिमका तिनै नेताले रोकेका छन्। डा अन्वेश वा विशेषज्ञ डाक्टर जोकोही बाजुरा जाँदा एमबीबीएस मात्रै पढेका उनका आफन्तको निमित्त मेसुको पद नरहने भएकाले मन्त्री खापुङलाई प्रभावित पारेर रोकेको बुझिएको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्की जिल्ला अस्पताल बाजुराले कहिल्यै दरबन्दी अनुसार जनशक्ति पाउन नसकेको बताउँछन्। आफूले पटक-पटक माग गर्दा पनि मन्त्रालयले वास्ता नगरेको बताए।

उनले भने, ‘हामी आफैंले पहल गरेर बझाङमा रहेका छात्रवृत्तिका एमडीजीपी डाक्टर बाजुरा पठाउन मन्त्रालयलाई पत्र लेखेका थियौं। तर मन्त्रालयले त्यसबारे चासो देखाएको छैन। उहाँ नभए अरु नै पठाउन भन्दा पनि सुनुवाइ भएको छैन।’

बाजुरामा विशेषज्ञ डाक्टर नहुँदा सामान्य अप्रेसनका लागि समेत रिफर गर्नुपर्ने अवस्था छ। अहिले सडकमार्ग समेत अवरुद्ध हुँदा उद्धारका लागि हेलिकोप्टरको विकल्प नभएको उनी बताउँछन्। याे खबर स्वास्थ्य खबरले छापेकाे छ ।

 

चर्चामा

सम्बन्धित समाचार